नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालयको विस्तारित बैठक सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालयको विस्तारित बैठक सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालयको विस्तारित बैठक बौद्ध, काठमाडौमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न बैठक कोभिड–१९ को विश्वव्यापी त्रासदी सँगै शुरु भएको बन्दाबन्दीले नेपाली श्रम बजारमा काम गर्ने मजदुर एवं वैदेशिक रोजगारीको शिलशिलामा भारत प्रवास सहित मलेसिया र मध्यपुर्व लगायतका देशहरुमा काम गर्ने नेपाली मजदुरहरुले भोगिरहेको संकटका विषयमा केन्द्रित रहेको थियो । बैठकले कोभिड–१९ एक स्वास्थ्य समस्या भए पनि हाल प्रचार भए जस्तो भीषण महामारी नभएको तर यसले सिङ्गो मानवजाती र विश्व अर्थतन्त्रलाई भने अस्तव्यस्त बनाएको र यहि अवस्था कायम रहे विश्वव्यापी रुपमा गरिबी, असमानता र बेरोजगारी चुलिदै अझै जटिल र नयाँ संकटहरु आउन सक्ने ठहर गरेको छ । बैठकले अहिलेको संकटमा सरकारले मजदुर वर्गको पक्षमा विशेष राहत कार्यक्रम ल््याउन नसकेको र मजदुर वर्गलाई उपेक्षा गरेको प्रती संगठनको विरोध रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण सहित देशव्यापी ठोस संघर्षका कार्यक्रमको तयारी गरेको छ । यसैगरी आगामी संघर्षमा सहयोग गर्न सम्पुर्ण मजदुर वर्गलाई अपिल समेत गरेको छ । बैठकले राज्यपक्षलाई अविलम्ब नेपाली मजदुरहरुको वास्तविक तथ्यांक सार्वजनिक गर्न, संकटको बेला मजदुरहरुको तलब कटौती गर्ने र रोजगार बाट निष्कासन गर्ने पक्षलाई कारवाही गर्न, अहिलेको संकट कायम रहँदा सम्म मजदुर वर्गको घरभाडा र स्वास्थ्य उपचार निशुल्क गर्न र मजदुर केन्द्रित बेरोजगार भत्ताको व्यवस्था गर्न माग गरेको छ । यसैगरी वैदेशिक रोजगारीको शिलशिलामा भारत, मलेसिया र मध्यपुर्व सहितका देशहरुमा रहेका नेपाली मजदुरहरुको स्थिति अविलम्ब सार्वजनिक गरि आवश्यक विधि र मापदण्ड बनाई उहाँहरुको स्वदेश आउने प्रक्रियालाई सहज गर्न समेत माग गरेको छ । बैठकमा राष्ट्रिय स्वाधीनता, एमसीसी र हाम्रो निरन्तरको आन्दोलन र व्यापक जनदबाबको जगमा सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सा प्रकरण सँगै सुरु भएका नयाँ घटनाक्रमको विषयमा पनि छलफल गरिएको महासंघका महासचिव वसन्त बोगटीले बताएका छन् ।
मजदुर महासंघको कार्यलयको विस्तारित बैठक सम्पन्न ।
बैठकको निष्कर्षहरु
१.कोभिड–१९ को त्रासदी र जारी लकडाउनले विश्व पुँजीबजार प्रभावित, मजदुर वर्ग संकटपुर्ण स्थितिमा ।
२. रोग भन्दा भोक निर्णायक बन्दै ।
३. मजदुरलाई तत्काल विशेष राहतको घोषणाको माग ।
४. यो संकट कायम रहँदासम्म सरकारले मजदुर वर्गको घरभाडा र स्वास्थ्य उपचार निशुल्क गर्नु पर्ने ।
५. मजदुर विशेष बेरोजगारी भत्ताको व्यवस्था जरुरी ।
६. संगठनको सुदृढीकरण र न्युनतम संघर्षको तयारी ।