बेरोजगार युवाहरुलाई रोजगारीको र नगदमा राहतको व्यवस्था गर्न क्रान्तिकारी युवा लिगको जोडदार माग

प्रकाशित मिति : २०७७ जेष्ठ १०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले बेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, अन्यथा बेरोजगार भत्ताको व्यवस्था गर्न र बाँच्न पुग्ने गरी नगदमा राहत उपलब्ध गराउन जोडदार माग गरेको छ ।
लिम्पियाधुरासहितको नेपालको नक्सा छाप्ने र स्थानीय तहमा वितरण गर्ने, बेरोजगार युवाहरुका लागि स्वदेशमा रोजगारीको ग्यारन्टीका लागि हस्ताक्षर संकलन गर्ने र ज्ञापन पत्र बुझाउने, राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी, सामन्त, दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्थाको विरुद्ध संघर्ष गर्ने जस्ता राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर निरन्तर रुपमा संघर्ष गर्दै आएको उल्लेख गर्दै वक्तव्यमा हालै सरकारले जारी गरेको लिम्पियाधुरासहितको नयाँ नक्सालाई संगठन लगायतले गरेको आन्दोलन तथा जनदबाबको प्रतिफलको रुपमा ग्रहण गरेको उल्लेख गरेको छ ।
क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमीर महर्जनले शनिबार जारी गरेको वक्तव्यमा महामारीका कारण पीडित बन्न पुगेका युवा श्रमिक वर्ग लक्षित विषयहरु १० वटा बुँदामा उल्लेख गर्दै ती विषयहरु अविलम्ब सम्बोधन गर्न सरकारसित जोडदार माग गरेको छ ।

यस्तो त वक्तव्यको पूर्णपाठ 

प्रेस वक्तव्य

हाम्रो युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले लिम्पियाधुरासहितको नेपालको नक्सा छाप्ने र स्थानीय तहमा वितरण गर्ने, बेरोजगार युवाहरुका लागि स्वदेशमा रोजगारीको ग्यारन्टीका लागि हस्ताक्षर संकलन गर्ने र ज्ञापन पत्र बुझाउने, राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी, सामन्त, दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्थाको विरुद्ध संघर्ष गर्ने जस्ता राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर निरन्तर रुपमा संघर्ष गर्दै आएको छ । हाम्रो संगठन लगायतको जनदबाबको परिणामतः सरकारले हालै लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेको छ । यसलाई हाम्रो संगठनले सकारात्मक रुपमा लिंदै जनदबाबको प्रतिफलको रुपमा ग्रहण गर्दछ । साथै, हाल कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको अवस्थामा रोजगारीको अवसर गुम्ने र बेरोजगारी समस्या भयावह हुने देखिएको हुँदा निम्नि लिखित विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै यी विषयहरुको अविलम्ब सम्बोधन गर्न जोडदार रुपमा माग गर्दछौं ।


१– लकडाउन, क्वारेन्टाइन, कन्ट्र्याक्ट ट्रेसिङलाई व्यवस्थित, व्यापक र प्रभावकारी बनाइयोस् ।
२– देशैभर बेरोजगारहरुको लगत संकलन गरी केन्द्र, प्रदेश र स्थानीय तहमा रोजगारीको व्यवस्था गरियोस् अन्यथा बेरोजगारहरुको लागि मासिक बेरोजगार भत्ता उपलब्ध गराइयोस् ।
३–दैनिक मजदुरी गर्ने श्रमिक वर्ग तथा विपन्न वर्गलाई बाँच्न पुग्ने गरी नगदमा राहत उपलब्ध गराइयोस् ।
४– अस्पतालमा कोरोना लगायत अन्य उपचार निःशुल्क रुपमा गरियोस् । स्वास्थ्य सामग्रमा भइरहेको तस्करी, भ्रष्टाचारलाई तत्काल नियन्त्रण गरियोस् ।
५– विदेशमा संक्रमित हुन पुगेका नेपाली नागरिकहरुको निःशुल्क उपचारको लागि कुटनीतिक पहल गरियोस् । र अलपत्र परेका नागरिकलाई सहज रुपमा नेपाल आउने तथा ल्याउने बातावरण मिलाइयोस् ।
६– सीमामा अलपत्र नागरिकहरुलाई सहज रुपमा स्वदेश फर्कन दिइयोस् र क्वारेन्टाइनको प्रक्रिया पूरा गरी परिवारको सम्पर्कमा जाने वातावरण मिलाइयोस् ।
७– लकडाउन अवधिको विद्युत, खानेपानी लगायत सरकारी सेवाको महसुलमा सतप्रतिशत छुट गरियोस् ।
८– बैंक तथा वित्तीय संस्थाहरुबाट उद्योग तथा व्यवसायीले लिएको ऋणको ब्याज कम्तिमा लकडाउन अवधिसम्मका लागि छुट दिने व्यवस्था मिलाइयोस् ।
९– युवाहरुलाई कृषि उत्पादनमा आकर्षित र प्रोत्साहित गर्न युवा लक्षित कृषि राहत प्याकेजको व्यवस्था गरियोस् ।
१०– प्रधानमन्त्री रोजगार कार्यक्रमको समयावधि तत्काल बढाई वास्तविक बेरोजगारलाई रोजगार प्रदान गरियोस् । विनियोजित रकम ३० करोड ३२ लाखबाट बढाएर १ अर्बभन्दा बढी बनाइयोस् ।

अमीर महर्जन
अध्यक्ष
क्रान्तिकारी युवा लिग, नेपाल”