कोरोनाबाट निको भए ७० जना, संक्रमितको संख्या पुग्यो ५०७

प्रकाशित मिति : २०७७ जेष्ठ ९

 काठमाडौं । नेपालमा दिनानुदिन कारोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । शुक्रबार मात्र ५० जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५०७ पुगेको छ ।

बाँकेको नेपालगञ्जमा २१ जना कोरोना संक्रमित शुक्रबार डिस्चार्ज भएका छन् । नेपालगञ्जमा भेटिएका पहिलो संक्रमित ६० वर्षीय मदरसाका शिक्षकदेखि उनको सम्पर्कमा आएकी ७ वर्षीया बालिकासम्म गरी कुल २१ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरमार्फत कोरोना संक्रमणको परीक्षण गर्नेको संख्या शुक्रबारसम्म ४२ हजार ४८९ पुगेको छ । त्यसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८१९ पीसीआर गरिएको छ ।

त्यस्तै क्वारेन्टिनमा बस्नेको संख्या शुक्रबारसम्म २७ हजार ८२९ पुगेको छ भने आइसोलेसनमा ४३३ जना बसिरहेका छन् । तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार मात्रै थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो २० जनामा र बिहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय सात पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक बाँकेमा र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।


बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरूको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।

यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो ।
१३ जना नरैनापुरका छन् । एकजना राप्तीका रहेका छन् । यस्तै, मोरङका ४१ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

प्रदेश नम्बर १ मा एक हजार चार सय १४, प्रदेश नम्बर २ मा पाँच हजार नौ सय ६, बागमती प्रदेशमा चार सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १५ हजार नौ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा दुई हजार ६ सय २९ गरी देशभरि २७ हजार आठ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।