कोभिड–१९ले उजागर गरेको यथार्थ

प्रकाशित मिति : २०७७ जेष्ठ ९

- इन्द्रमोहन सिग्देल


यति बेला सिङ्गो संसार कोरोना जन्य महामारी कोभिड–१९ले आक्रान्त छ । धनी–गरिव तथा ठुला–साना गरी विश्वका २१५वटा देशहरु यसको चपेटामा परिसकेका छन् । नोभेम्बर १७, २०१९का दिन चीनको वुहानमा फेला परेको विरामीलाई कोरोना सङ्क्रमित पहिलो विरामी भनेर घोषणा गरिएको थियो । तर त्यो नै पहिलो विरामी थियो कि थिएन भन्ने बहस भने अहिले चर्को रुपमा उठिराखेको छ । त्यो जे होस्, यो लेख तयार पार्दासम्म कोभिड–१९का कारण विश्वभरि ५० लाख भन्दा बढी मानिसहरु कोरोनाबाट सङ्क्रमित भएका छन् र ३ लाख २९ हजारको मृत्यु पनि भइसकेको छ । केही देशमा सङ्क्रमणको गति मन्द भएको छ भने अधिकांश देशमा यो सङ्ख्या ज्यामितीय अनुपातमा बढिरहेको छ । अमेरिकामा मात्र १५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् र ९४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वमा एकलाख भन्दा बढी सङ्क्रमित मानिस हुने देशको सङ्ख्या १२ पुगिसकेको छ । ती क्रमशः अमेरिका, रुस, ब्राजिल, स्पेन, वेलायत, इटली, फ्रान्स, जर्मनी, टर्की, इरान, इण्डिया र पेरु हुन् । त्यसपछि आउने चीन अहिले १३ औं नम्बरमा छ । त्यहाँ ८२ हजार भन्दा बढि सङ्क्रमित भएका छन् ।
मानव जातिले इतिहासमा थुप्रै महामारीका प्रकोपहरु भोग्दै आएको छ । ती मध्ये पहिलेका २० वटा महामारीहरु निकै भयावह मानिन्छन् । ती महामारीका कारण संसारभरि ठुलो मात्रामा जनधनको क्षति भएको थियो । १९१८ देखि १९२०का बीचमा देखा परेको स्पेनिस फ्लु नामक महामारीले ५० करोड मानिसलाई सङ्क्रमित तुल्याएको र ती मध्ये १० करोड मानिसको मृत्यु भएको थियो । कुनै महामारी पनि अन्य परिघटनाहरु जस्तै अकारण पैदा हुँदैनन् । महामारी प्रकृतिमा हुने पर्यावरणीय असन्तुलनका कारण आइपर्ने एउटा आकस्मिक परिघटना हो । यो खास–खास समयमा मानव जातिका सामु ठुलो चुनौति बनेर देखा पर्ने गर्दछ । अहिलेको २१औ नम्बरको महामारी कोभिड–१९ पनि एउटा नियमित आकस्मिकताको परिणाम हो ।

मानव इतिहासको सुरुमा महामारीहरुको आवृत्ति निकै कम थियो । मानिसले प्रकृतिमाथि जति धेरै हस्तक्षेप गर्दै गयो त्यति छिटोछिटो महामारीहरु पनि आउन थाले । ती २० वटा मध्ये सबैभन्दा पहिलो महामारी ई.पू. ३००० वर्ष पहिले आएको थियो । १६औ शताव्दीसम्म पुग्दा अर्थात् ४६०० वर्षको अन्तरमा जम्मा ८ वटामात्र महामारी फैलिएका थिए । पछिल्लो ५०० वर्षमा मानव जातिले अहिलेको कोभिड–१९ सहित १३ वटा ठुला महामारीको सामना गरेको छ । विश्वमा पुँजीवादको विकास भएपछि पुँजीपति वर्गले नाफाका लागि जुन अनुपातमा प्रकृतिमाथि हस्तक्षेप बढाउँदै लग्यो त्यही अनुपातमा महामारीको आवृत्ति पनि बढ्दै गएको देखिन्छ । त्यसमाथि साम्राज्यवादले १९८०को दशकदेखि नवउदारवादी नीति अवलम्बन गरे यता यो प्रक्रिया झन तीव्र बनेर गएको छ । १९८०देखि २०२० सम्मको जम्मा ४० वर्षको छोटो अन्तरालमा मात्र ५वटा ठुला महामारीहरु फैलिएका छन् । यी महामारी अत्यधिक मुनाफाका लागि पुँजीवादले प्रकृतिमाथि गरेको अनियन्त्रित हस्तक्षेपका कारण पैदा भएको पर्यावरणीय असन्तुलनका परिणाम हुन् ।
विगत केही समयदेखि विश्वमा पर्यावरण सम्बन्धी बहस निकै चर्को रुपमा उठ्दै आएको छ । प्रकृतिशास्त्रीहरुले अत्यधिक हरितगृह ग्यास (कार्वन डाइअक्साइड)को उत्सर्जनलाई नियन्त्रण नगर्ने हो भने २०५० सम्ममा विश्वको तापक्रम २० सेल्सियसले बढ्ने, हिमालयहरु पग्लने, समुद्रतटका ५७० वटा शहरहरु र ती शहरमा वसोवास गर्ने ८० करोड जनता पानीमा डुव्ने, महासागरमा भएको अत्यधिक प्रदुषणका कारण अक्सिजनको अभावले समुद्री प्राणीहरुको जीवन नै खतरामा पर्ने र अन्नतः पर्यावरणीय सन्तुलन विग्रेर प्राणी तथा वनस्पति जगतकै अस्तित्व सङ्कटमा पर्ने कुरा जोड दिएर उठाइराखेका छन् । यसले भोली के कस्ता महामारी लिएर आउने हो अहिले भन्न सकिन्न ।
प्रत्येक वर्ष आयोजन गरिने जी–८ तथा जी–२०का शीखर बैठकहरुमा हरितगृह ग्यासको उत्सर्जन नियन्त्रण गर्ने विषय एउटा प्रमुख एजेण्डा बन्ने गरेको छ । प्राय सबै विकसित राष्ट्रहरु हरितगृह ग्यासको उत्सर्जन रोक्न सहमत भएका छन् । तर विश्वको महाशक्ति मानिने अमेरिका भने पर्यावरण सम्बन्धी पेरिस संझौताबाट २०१९ देखि पछि हटेको छ । हरित गृह ग्यासको उत्सर्जन नरोकिंदा निकट भविष्यमा मानव जातिले अहिलेको कोभिड–१९ भन्दा भयावह महामारीहरुको सामना गर्दै जानुपर्ने कुरा निश्चित छ । पहिलेका महामारी जस्तै अहिलेको कोभिड–१९ महामारी पनि एउटा प्राकृतिक परिघटना हो । तर यो महामारी आउने र व्यापक रुपमा फैलिने प्रक्रियामा वर्तमान विश्वले ग्रहण गरेको नवउदारवादी विचारले उत्प्रेरकको काम गरेको छ ।
यसै सन्दर्भमा महामारीको विस्तारलाई नियन्त्रण गर्न असफल हुनुका पछाडिको अर्को कारण नवउदारवादी विश्व व्यवस्थाले अवलम्बन गरेको जनविरोधि स्वास्थ्य नीति हो । यो विश्व व्यवस्थाले एकातिर, स्वास्थ्य क्षेत्रलाई एकाधिकारी पुँजीपतिवर्गको मुनाफा आर्जन गर्ने थलो बनाएर सर्वसाधारण जनतालाई स्वास्थ्य सुविधाबाट बञ्चित गरेको छ भने अर्कोतिर वाह्य बजारको सुरक्षाका लागि आणविक अश्त्रहरु निर्माण गर्न खरबौ डलर लगानी गरेको छ । अमेरिका जस्तो महाशक्ति देशमा कोभिड–१९का विरुद्ध लड्न आवश्यक पर्ने मास्क, पीपीई तथा भेन्टिलेटर जस्ता सामान्य उपकरणहरुको जुन अभाव देखियो त्यसले साम्राज्यवादको ध्यान कहाँ केन्द्रित छ भन्ने प्रष्ट गर्दछ । त्यसमाथि फ्रान्सले चीनबाट किनेको मास्कलाई थाइल्याण्डको एयरपोर्टबाट अमेरिकाले जसरी आफ्नो देशतिर डाइभर्ट ग¥यो त्यसले अमेरिकी साम्राज्यवादको नैतिक धरातललाई समेत उजागर गरेको छ । यसरी के स्पष्ट छ भने वर्तमान विश्व व्यवस्था जनस्वास्थ्य प्रति थोरै मात्र पनि उत्तरदायी भएको भए कोभिड–१९ले शायद आजको स्तरमा विश्वभरि तवाही मच्चाउन सक्ने थिएन ।ं
कुनै पनि रोगले महामारीको रुपलिने खतरा त्यसको औषधि पत्ता नलागुञ्जेल सम्म हो । अहिलेसम्म कोभिड–१९को औषधि फेला परेको छैन, त्यसकारण यो महामारीको रुपमा विश्वभरि फैलिइरहेको छ । कुनैबेला विफरले पनि यस्तै महामारीको रुप लिएको थियो । त्यसको औषधि पत्तालागेपछि अहिले त्यो समस्या छैन । कोभिड–१९को औषधि पत्ता लागेपछि यसले फेरि अर्को महामारीको रुपलिने छैन । औषधि पत्ता नलाग्दासम्म विविध उपायहरु प्रयोग गरेर महामारीलाई नियन्त्रण गर्ने हो । कोभिड–१९ एउटा सरुवा रोग हो । एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रोग सङ्क्रमण हुन नदिएर मात्र यसको प्रकोपबाट बच्न सकिन्छ । त्यसका लागि व्यापक परीक्षण गर्ने, सङ्क्रमितहरुको पहिचान गर्ने, विरामीहरुलाई आइसोलेशनमा राख्ने र शङ्कास्पद व्यक्तिलाई क्वरेन्टाइनमा राखेर समुदायसम्म यसको प्रकोप विस्तार हुन नदिने गर्नु पर्दछ । महामारीले समुदायमा प्रवेश गरिसकेको छ भने खास क्षेत्र वा पुरा देश लकडाउन गरेर पनि विस्तारलाई नियन्त्रण गर्ने कोशिस गरिन्छ । कोभिड–१९ बाट बच्ने यो नै एकमात्र विधि हो ।
अहिले कोभिड–१९को प्रकोप विश्वभरी विस्तार भएको छ । तर त्यसको तीव्रता भने सबैतिर एकनास छैन । यस्तो हुनुका पछाडि विभिन्न वैज्ञानिक कारणहरु पनि होलान् र तिनको अनुसन्धान पनि हुँदै जाला । तर महामारीलाई बुझ्ने र त्यसका विरुद्ध लडने विषयमा राज्यहरुका बीचमा देखिएको अन्तरले पनि यसमा एउटा महत्वपूर्ण भुमिका खेलेको छ । यस सन्दर्भमा अहिले विश्वभरि तीनवटा प्रवृत्तिहरु देखिएका छन् । ती हुन् — एक, अनुदारवादी प्रवृत्ति दुई, जनउत्तरदायी प्रवृत्ति र तीन, ढुलमुले प्रवृत्ति ।
अनुदारवाद जनविरोधि प्रवृत्ति हो । यो मुख्यतः दुईवटा देशका मूल नेतृत्वमा देखिएको छ । ती हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलियन राष्ट्रपति जएर बोल्सोनारो । सुरुमा ट्रम्पले चीनको बुहानमा कोभिड–१९का कारण उत्पन्न भएको विषम स्थितिबाट केही बुझ्ने कोशिस नै गरेनन् । कोभिड–१९ले अमेरिकामा प्रवेश गरेपछि पनि उनले यसलाई पुरै अनदेखा गरे । त्यति मात्र होइन, उनले विभिन्न राजनीतिक नेतृत्व तथा स्वास्थ्य क्षेत्रका मूर्धन्य व्यक्तित्वका सुझावलाई समेत पञ्छाएर उल्टै अर्थतन्त्रको मुल्यमा केही मानिसको ज्यान बचाउने काम गर्न सकिन्न भन्ने सम्मका निकृष्ट तर्क गरे । जनता बनाम अर्थतन्त्रको बहस उठाए । ट्रम्पको यो प्रवृत्तिलाई खुलेर पच्छ्याउने अर्का राष्ट्रपति बोल्सोनारो हुन् । अहिले कोभिड–१९बाट सङ्क्रमितहरु र मृतकहरुको सङ्ख्याका आधारमा “अमेरिका प्रथम” हुन पुगेको छ । ब्राजिल पनि अमेरिकालाई भेटाउन अरु देशलाई उछिन्दै अगाडि बढिरहेको छ । अहिले डोनाल्ड ट्रम्पले कोभिड–१९बारे सुचना लुकायो भनेर चीनलाई आरोपित गरेका छन् । यो उनको विश्वका जनताको ध्यान चीनतिर मोडेर आफुलाई चोख्याउने दाउ मात्र हो ।
यति बेला अमेरिकी राष्ट्रपति ट्रम्प लकडाउन खुकुलोपार्न हुन्न भन्ने आफ्नो प्रमूख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीका विरुद्ध मात्र होइन सिङ्गो विश्व स्वास्थ्य सगठनका विरुद्ध समेत खनिएका छन् । यतिसम्म कि आउने तीस दिन भित्र विश्व स्वास्थ्य सङ्गठनले आफुलाई “नसुधारे” पुरै आर्थिक सहयोग रोक्ने अल्टिमेटम दिएका छन् । अमेरिकी समाजमा ध्रुवीकरण तीव्र छ । उता, बोल्सोनारो पनि एक्लिंदै गएका छन् । ब्राजिलमा राष्ट्रपतिका विरुद्ध महाभियोग लगाउने सम्मको चर्चा चल्न थालेको छ । कोभिड–१९को नियन्त्रणका नाममा पुरै देशलाई लकडाउन गरेर अर्थतन्त्र ध्वस्तपार्न सकिन्न भन्ने बोल्सोनारो सरकारको नीतिको विरोध गर्ने पहिलेका अर्थमन्त्रीलाई पदबाट बर्खास्त गरेको एक महिना नबित्दै अर्का अर्थमन्त्रीले पनि त्यही मुद्दा उठाएर राष्ट्रपतिका सामु आफ्नो पदबाट राजीनामा दिएका छन् । ब्राजिलमा स्वास्थ्य सङ्कटमात्र होइन राजनीतिक सङ्कट पनि गहिरिँदै गएको छ ।
कोभिड–१९ महामारीलाई नियन्त्रण गर्नका लागि कतिपय देशका राजनीतिक नेतृत्वहरु अत्यन्त जनउत्तरदायी भएर प्रस्तुत भए । उनीहरु विषयका विज्ञ तथा डक्टरहरुको सल्लाह सुझाव अनुसार चले, राष्ट्रलाई एकतावद्ध गरे र कोरोना विरुद्धको लडाईँ लडे । यसमा चीन, दक्षिण कोरिया, न्युजिल्याण्ड, अस्ट्रेलिया जस्ता देशहरु पर्दछन् । कोभिड–१९ बारे कुनै पूर्व जानकारी नै नभएको स्थितिमा पनि त्यत्रो विशाल देश चीनमा महामारीलाई बुहानबाट अन्यत्र फैलिनबाट रोक्न सक्नुका पछाडिको एउटा प्रमुख कारण त्यहाँ केन्द्रिकृत नेतृत्व, बलियो राज्यसत्ता र अनुशासित जनता हुनु हो । दक्षिण कोरिया, न्युजिल्याण्ड र अस्ट्रेलियाका नेतृत्व र जनताले पनि त्यो क्षमता प्रदर्शन गरे । यी देशहरु अहिले लकडाउन खुकुलो पारेर जनजीवनलाई पुरानै स्थितिमा फर्काउने तिर अग्रसर छन् । चीनले पुरै बुहान शहरको परीक्षण गर्ने तयारी गरिरहेको छ ।
धेरै देशहरु यस्ता रहे जसले सङ्क्रमण देखिना साथ त्यसको विस्तारलाई रोक्न ठोस नीति तय गर्न नै सकेनन् । लकडाउनमा जाँदा पुरै अर्थतन्त्र ध्वस्त हुने र अर्थतन्त्रको रक्षागर्न खोज्दा सङ्क्रमण विस्तार हुने स्थितिमा उनीहरु अकर्मण्यतामा फसे । मुख्यतः युरोपका अधिकाङ्श देशहरुमा यो समस्या रह्यो । नवउदारवादका नाममा कमजोर भुमिका भएका राज्य र व्यक्तिगत स्वतन्त्रताको नाममा छाडा बनेका जनताका कारण नत राज्यले केन्द्रिकृत भुमिका निर्वाह गर्न सक्यो नत जनताले अनुशासित भएर महामारीको नियन्त्रणमा सहयोग गरे । परिणाम स्वरुप कोभिड–१९ समुदायसम्म विस्तार भयो । पछि लकडाउन त गरे तर त्यो ढिला भइसकेको थियो । चीनको बुहानमा कोभिड–१९को भयावह असर देख्दा देख्दै ईटली, स्पेन, फ्रान्स, जर्मनी, वेलायत जस्ता विकसित पुंजीवादी देशहरुले महामारी नियन्त्रमा कमजोर देखिनुका पछाडिको प्रमुख कारण राज्यको कमजोर उपस्थिति हो भन्ने कुरा प्रस्ट छ ।
कोभिड–१९को विस्तार हुनुका पछाडि चेतनाको अभाव, गरिवी, बडप्पन तथा धार्मिक अन्धविश्वास जस्ता अन्य विभिन्न कारणहरु पनि हुन सक्छन् । कुनै कुनै देश वा क्षेत्रमा यिनको पनि महत्वपूर्ण भुमिका होला । तर प्रवृत्तिगत हिसावले हेर्दा यसको विस्तार हुनुका पछाडिको प्रमुख कारण राज्यको नेतृत्वमा विद्यमान अनुदारवाद र ढुलमुले पन नै हो भन्ने कुरामा कुनै प्रश्न उठाइरहनु पर्दैन ।
हिजो सम्म अनेक प्रकारका जाल, झेल, षडयन्त्रका भरमा जनतालाई भ्रमदिन सफल रहेको साम्राज्यवादको असली सार र चरीत्रलाई आज कोभिड–१९ले उजागर गरिदिएको छ । खरबौं खरब डलर खर्चगरेर यो पृथ्वीलाई २०औं पटकसम्म खरानी पार्न सक्ने आणविक अश्त्रका मालिक साम्राज्यवादीहरु अहिले पाँच रुपियामा पाइने मास्कका लागि पाखुरा सुर्किनेमा पुगेका छन् । कोभिड–१९ले निश्चित रुपमा विश्वभरी तवाही मच्चाएको छ, मानिसहरु अकालमा मरेका छन् । यो निकै दुःखद पक्ष हो । तर यसले राज्यको भुमिका बलियो हुनु पर्ने, मुनाफाको लागि संसार चाहार्ने होइन जनताको आवश्यकता पुरागर्ने हिसावले राष्ट्रिय उत्पादनमा जोड दिनु पर्ने र शिक्षा तथा स्वास्थ्य जस्ता आम जनसरोकारका विषयमा राज्य सम्पूर्ण रुपमा जिम्मेवार हुनुपर्ने भन्ने बहस पुँजीवादी कित्ता भित्र नै छेडिदिएको छ । अर्को शव्दमा यसले नवउदारवादी पुँजीवाद असफल भएको र त्यसको विकल्प खोज्नु पर्ने समय आइपुगेको सन्देश दिएको छ । यही नै कोभिड–१९ले उजागर गरेको यथार्थ हो ।
मिति ः जेठ ४, २०७७