
७ जेठ, काठमाडौं ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल््खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।
महानगरीय प्रहरी वृत्त, कालिमाटी,सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्रहरी कार्यालय पनि सिल गरिएको छ । स्रोतका अनुसार रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले कालिमाटी वृत्तमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरे । उनका अनुसार सई र जवानमा संक्रमण देखिएको हो ।
उनले दिएको जानकारी अनुसार अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।
संक्रमीत सुरक्षाकर्मीलाई अहिले बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ ।