काठमाडौं । शान्तिपूर्ण विरोध कार्यक्रमको क्रममा हस्तक्षेप गरी तीन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु गिरफ्तार गरेपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले वक्तव्य जारी गरी शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकारले भारतीय विस्तारवादप्रति भक्तिभाव देखाएको भन्दै कडा विरोध एवम् भत्र्सना गर्नुभएको छ । बुधबार माइतीघर मण्डलामा भारतीय विस्तारवादी शासक वर्गले नेपाली भूमिमाथि गरेको अतिक्रमण र सडक निर्माण कार्यका विरुद्ध गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा ३९ जना नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको भन्दै महासचिव किरणले गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाई गर्न पनि माग गर्नु भएको छ ।


वक्तव्यमा भनिएको छ, “भारतीय शासकवर्गले गरेकोे नेपाली भूमी अतिक्रमण र सडक निर्माण कार्यकाविरुद्ध आज बैशाख ३१ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को ३ नं प्रदेश कमिटी र विभिन्न जनवर्गीय सङ्गठन तथा मोर्चाहरुद्वारा संयुक्त रुपमा माइतीघर मण्डलामा आयोजना गरिएको शान्तिपूर्ण विरोध कार्यक्रममा ओली सरकारको प्रहरी प्रशासनले पार्टी र पार्टीसंग सम्बद्ध ज.व.स. तथा मोर्चाका नेता—कार्यकर्ताहरुलाई अभद्र तरिकाले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा पार्टीका पीविएम कमरेडहरु सीताराम तामाङ्, पवनमान श्रेष्ठ, नगेन्द्र राई र सुरेश श्रेष्ठ, ट्रेड युनियन महासङ्घका अध्यक्ष इश्वर तिम्सिना तथा महासचिव वसन्त वोगटी, अनेरास्ववीयु (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अनेमसङ् (क्रान्तिकारी) कि महासचिव शारदा महत, प्राध्यापक सङ्घका अध्यक्ष जगदिशचन्द्र भण्डारी लगायत जम्मा ३९ जना नेता तथा कायकर्ता हुनुहुन्छ । राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकारले भारतीय विस्तारवादप्रति भक्तिभाव देखाएको छ । हाम्रो पार्टी यसको घोर विरोध तथा भत्र्सना गर्दछ र पार्टी तथा जवस मोर्चाका गिरफ्तार नेता तथा कार्यकर्तालाई अविलम्व रिहाईको माग गर्दछ । साथै, कोभिड–१९को प्रकोपका बीचमा पनि सरकारले गर्नसक्ने राष्ट्रघाति कदमप्रति सचेत रहन र आवश्यक सामाजिक दुरीलाई कायम राखेर त्यसका विरुद्ध आवाज उठाइरहन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा हार्दिक अपील गर्दछ ।”

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर