
प्युठान जिल्लाको रम्दी भन्ने ठाउँमा २०१९ असार ३ गते जन्मिएका मित्रमणी आचार्य ०३७ सालमा पक्लिह्वा क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । उनी पछि २०४१ सालमा रामपुर कृषि क्याम्पसमा पनि स्ववियु सभापति निर्वाचित भएका थिए ।
आचार्यलाई २०४२ साल वैशाख १८ गते चितवनको पर्साढाप भन्ने ठाउँमा तत्कालीन नेपाली कांग्रेस समर्थक गुण्डाहरुले खुकुरी, भाला प्रहार गरी क्रुरतापुर्वक हत्या गरिएको थियो । सोही दिनलाई मित्रमणी दिवसको रुपमा मनाउने गरिएको छ ।
आज वैशाख १८ गते मित्रमणि स्मृति दिवस हो । यसअवसरमा मित्रमणि आचार्यका एक जना मित्र भरत पोखरेलको चीठी उनकै फेसवुक वालमा पोष्ट रहेछ, त्यसलाई आजको दिन वैशाख १८ गते समसामयिक लागेर हार्दिक श्रद्धाञ्जलिसहीत प्रकाशित गर्ने जमर्को गरिएको छ । सहीद मित्रमणि आचार्यलाई लेखेको भरत पोखरेलको चीठी तल दिइएको छः


गोरा वर्णका अग्ला कदका मित्रमणि आचार्य अखिलको इतिहासमा एउटा समर्पित सदस्य थिए । उनमा जुझारुपन साथै हँस्यौलीपन पनि भरपूर थियो । गोरखपुरको प्लेटभात र पेटभातको बाजीमा हेटौंडाका रामकृष्ण श्रेष्ठ (भक्तबहादुर श्रेष्ठका भतिजा) लाई अठारवटा रोटीको दाँजोमा बीस रोटी बजाएर मित्रमणिले बाजी जितेको चर्चा सबै भेटमा हुन्थ्यो । मित्रमणिको २०४२ साल वैशाख १८ गते चितवनमा सहादत हुँदा म नुवाकोटको थान्सिङमा थिएँ । चितवन वीरेन्द्र क्याम्पसमा रहँदा मैले मित्रमणि मारिएको स्थल मेघौली, उनले अध्ययन गरेको रामपुर कृषि क्याम्पस, उनको सालिक राखिएको लमजुङ सुन्दर बजारको कृषि क्याम्पसमा दिएको श्रद्धाञ्जलि र मित्रमणिले हरेक भेटमा गरेको स्यालुटको संझना विर्सेको छैन । आज वैशाख १८ मित्रमणि स्मृति दिवस । हार्दिक श्रद्धाञ्जलि ।