पर्यावरण विनाश र संरक्षणको समस्या

प्रकाशित मिति : २०७७ बैशाख १६

- मोहन वैद्य (किरण)


केही दशकयता विश्वव्यापी रूपमा जलवायुमा तीव्र परिवर्तन र फेरबदल हुँदै आएका छन् । यसो हुनुमा विश्वव्यापी तापक्रमको वृद्धि नै मूल कारण रहेको छ । यसले समग्र प्रकृति र मानव जीवनमा गम्भीर प्रकारका दुष्प्रभाव पार्ने काम गर्दै आएको छ । विश्वका विभिन्न देशहरूका साथै नेपालमा पनि स्थिति गम्भीर बन्दै जान थालेको छ । आज विश्वव्यापी रूपमा पर्यावरण संरक्षणको प्रश्न जटिल बन्दै गएको छ र सङ्घर्षको कार्यसूचीमा पर्यावरण संरक्षणको प्रश्न पनि एउटा महत्वपूर्ण विषय बनेर प्रस्तुत हुन पुगेको छ ।

बढ्दो उद्योग धन्दाको विकास, अतिशय प्रकृति दोहन, वनजङ्गलको विनाश, अत्यधिक ऊर्जाको उपयोग, माटो, पानी तथा हावामा व्याप्त बन्दै गएको प्रदूषण, विश्वव्यापी रूपमा तापक्रममा अतिशय वृद्धि, आदिका कारण तीव्र वेगमा जलवायु परिवर्तन हुँदै आएको छ । यसबाट प्राकृतिक सन्तुलन खल्बलिदै गएको छ । जैविक विविधतामा ह्रास आइरहेको छ । हिमालय पग्लदै छ । समुद्री किनारका शहरहरू डुब्ने खतरा बढ्दै जान थालेको छ । समुद्रमा अक्सिजनको मात्रा कम हुँदै जानुको कारण त्यहाँका जीवजन्तुहरूमा घातक प्रभाव परिरहेको छ । फलतः पृथ्वीमा अवस्थित वनस्पति, जीवजन्तु, पशुपन्छी र मानव जीवनकै अस्तित्वमा गम्भीर प्रकारको खतरा उत्पन्न हुन पुगेको छ ।


पर्यावरणका क्षेत्रमा पैदा हुन थालेका समस्याबारे माक्र्स र एङ्गेल्सले केही उल्लेख गरेको पाइन्छ । माक्र्सले पुँजीवादी खेतीमा धर्तीको ऐश्वर्य लुटिने र धर्तीको उर्वरताका लागि चालिने प्रत्येक कदम उर्वरताकै स्थायी स्रोतलाई समाप्त पार्ने कदम हुने कुरा बताउनु भएको थियो । एङ्गेल्सले कृषियोग्य जमिन प्राप्त गर्नका लागि हुँदै गएको वनजङ्गलको विनाशले भविष्यमा ठुलै दुष्परिणाम निम्तिने कुरा औंल्याउनु भएको थियो । लेनिनले पर्यावरणको समस्या गम्भीर बन्न सक्ने स्थितिप्रति सजग बन्दै नियन्त्रणबारे केही प्रारम्भिक पहल गर्नु भएको थियो । माओको पालासम्म आउँदा स्थिति जटिल बन्न थालेको र त्यसप्रति चीन पनि सचेत बन्दै गएको पाइन्छ । वस्तुतः पर्यावरणीय समस्या बीसौं शताब्दीको ७०को दशकदेखि बढी गम्भीर बन्न पुगेको देखिन्छ ।


पर्यावरण विनाशको समस्या जटिल बन्दै र त्यसबारे गम्भीर प्रश्न उठ्दै जान थालेको स्थितिमा विश्वका कतिपय देशहरूले आआफ्नै ढङ्बाट र अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्र सङ्घका तर्फबाट पनि पर्यावरणको संरक्षणका लागि विभिन्न पहलहरू गर्ने प्रक्रिया अगाडि बढ्यो । यस सन्दर्भमा सन् १९९२ जुन महिनामा स्वेडनको स्टाकहोममा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलन, सन् १९९२मा ब्राजिलको रियो डे जेनेरियोमा भएको पृथ्वी सम्मेलन, सन् १९९७मा जापानको क्योटोमा गरिएको महासन्धि, सन् २००२मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलन, सन् २०१६मा फ्रान्सको पेरिसमा गरिएको सहमति आदि उल्लेखनीय रहेका छन् । यस प्रकारका सम्मेलनहरूमा गरिएका सहमति, संझौता र सन्धिहरूमा पर्यावरणको संरक्षणका लागि अविकसित मुलुकहरूबाट हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्ने विषयलाई गम्भीरतापूर्वक उठाइएका र पारित गरिएका छन् । तर तिनको कार्यान्वयनमा भने पटक्कै ध्यान दिइएको छैन । वस्तुतः ती हात्तीको देखाउने दाँत मात्र बन्न गएका छन् ।

यहाँनेर कुन कुरामा ध्यानकेन्द्रित गर्न जरुरी छ भने वास्तविक अर्थमा साम्राज्यवादी शक्तिहरुले पर्यावरण सम्बन्धी विभिन्न प्रकारका संघसंस्था तथा संगठनहरुमा आफ्नो प्रभुत्व जमाएर पर्यावरण विनाशको पक्षमा काम गरिरहेका छन् । उनीहरुले सैन्य क्षेत्र, घातक शस्त्रात्र निर्माणको होडबाजी र युद्ध सामग्री निर्माणमा त विशाल धनराशि खर्च गरेका छन्, परन्तु पर्यावरण संरक्षण र हरितगृह ग्यास उत्सर्जनको कटौती गर्ने काममा भने रत्तिभर ध्यान दिएका छैनन् ।

पर्यावरण विनाश र अटेरी गर्ने कममा सबैभन्दा नकारात्मक भूमिका संयुक्त राज्य अमेरिकाको रहिआएको छ । त्यो नै हरित गृह ग्यास उत्सर्जन कटौती गर्ने मान्यता र सहमतिबाट पछि हट्दै गएको छ । ध्यानदिन योग्य कुरा के छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले पेरिस संझौताबाट पछाडि हटेको घोषणा गरिसकेका छन् ।


नेपालले पर्यावरण सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका कैयौं सम्मेलन, कन्भेन्शन, बैठक आदिमा सहभागी हुँदै तिनमा पारित कैयौं प्रस्ताव, सहमति, संझौतालाई अँगाल्दै आएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (SAARC) का विभिन्न बैठक तथा कार्यक्रममा सहभागी बन्दै पर्यावरण संरक्षण सम्बन्धी विभिन्न प्रस्ताव पारित गर्ने काममा नेपाल संलग्न रहिआएको छ । तदनुरूप नेपालमा विभिन्न ऐन कानुन बनाउने, विभिन्न आर्थिक योजनाहरूमा पर्यावरणलाई पनि समेट्ने र मन्त्रालयको जिम्मा लगाउने जस्ता काम पनि हुँदै आएका छन् । परन्तु, पर्यावरण संरक्षणका काममा भने प्रगति होइन पश्चगति नै देखिएको छ । यसैगरी हावा, पानी र माटोमा तीव्र रूपमा फैलदै गएको प्रदूषणका कारण समग्र जलवायु तथा स्वास्थ्यका क्षेत्रमा गम्भीर प्रतिकूल असर पर्दै गएको छ । विभिन्न समयमा बन्दै आएका सरकार पर्यावरण संरक्षणका क्षेत्रमा अत्यन्तै गैरजिम्मेवार रहिआएका छन् ।

पर्यावरण विनाश र त्यसको संरक्षणबारे विभिन्न आन्दोलन चल्दै आएका छन् भने अर्कोतिर त्यसै प्रक्रियामा वैचारिक क्षेत्रमा विभिन्न चिन्तन तथा प्रवृत्तिगत धाराहरू पनि विकसित हुन पुगेका छन् । साथै, साहित्यिक तथा सांंस्कृतिक क्षेत्रमा पनि पर्यावरण एउटा महत्वपूर्ण विषयवस्तु बन्न गएको छ ।

पर्यावरणीय आन्दोलनमा मूलतः तीन धारा क्रियाशील रहिआएका छन्, ती हुन्–पश्चगामी धारा, निम्नपुँजीवादी धारा र माक्र्सवादी धारा । यी तीन ओटै धाराबारे छोटो चर्चा गर्न आवश्यक छ ।


पश्चगामी धाराले पर्यावरणीय विनाश र संरक्षणको प्रश्नमा पृथ्वी बचाउने र हरित आन्दोलन चलाउने भन्दै ठुल्ठूला हल्ला त गर्दछ । परन्तु पर्यावरण विनाशको मूल कारण तथा कारकतत्व बन्दै आएको उत्पीडक वर्ग अर्थात् पुँजीवाद÷साम्राज्यवाद लाई होइन, सम्पूर्ण मानव समुदायलाई दोषी देखाउने काम गर्दछ र आन्दोलनको प्रहारको निशाना उत्पीडक वर्गलाई बनाउँदैन । यस धारामा पर्यावरण केन्द्रवाद (Eco-centrism) प्रभावी रहेको छ । त्यसले मानव होइन मानवेतर प्राणीका हकहितमा मुख्य जोड दिने, भौतिकवादलाई निषेध गरी धार्मिक रहस्यवाद अवलम्वन गर्ने, जनसंख्या वृद्धिलाई पर्यावरण विनाशको प्रमुख कारण बताई जनसमुदायमाथि दोष थोपर्ने, सामाजिक जीवनलाई ऐतिहासिक भौतिकवाद होइन जीव वैज्ञानिक दृष्टिका आधारमा हेर्ने, साम्राज्यवाद÷प्रतिक्रियावादलाई जोगाउने तथा चोख्याउने काम गर्दछ । समग्रमा भन्नु पर्दा पश्चगामी धारा अन्तर्गत यथास्थितिवाददेखि नवमाल्थसवाद हुँदै इको फासीवादसम्म पर्दछन् ।

निम्नपुँजीवादी धाराले पर्यावरणको प्रश्नमा एकातिर साम्राज्यवाद÷प्रतिक्रियावादको विरोध गर्दछ भने अर्कोतिर समस्याको समाधान सुधारवादी तरिकाले गर्न चाहन्छ । यस धारा अन्तर्गत पनि विभिन्न उपधारा पर्दछन् । यी मध्ये इको–माक्र्सवाद (Eco-Marxism) पनि एउटा हो र यो नवमाक्र्सवादसित जोडिएको छ । कतिपय इकोमाक्र्सवादीहरूले पर्यावरण सम्बन्धी माक्र्सका विचारहरूको गम्भीर अध्ययन गर्दै पर्यावरणको मूल कारण तथा जिम्मेवारका रूपमा मुनाफा केन्द्रित पुँजीवाद÷साम्राज्यवाद रहिआएको कुरा दर्शाउँदै त्यसका विरूद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यो सकारात्मक पक्ष हो । परन्तु उनीहरूले वर्गसङ्घर्ष भन्दा पर्यावरणीय आन्दोलन र इको–जनवाद तथा इको–समाजवादमा जोडदिन पुग्दछन् । उनीहरू वैज्ञानिक समाजवाद होइन सुधारवादी समाजवादको पक्षमा रहेका छन् । समग्रमा निम्नपुँजीवादी धारा पश्चगामी धारा र माक्र्सवादी धाराका बीचमा दोलायमान रहिआएको छ । माक्र्सवादी धारा पश्चगामी र निम्नपुँजीवादी दुबै धाराको विरोधी रहेको छ । माक्र्सवादका अनुसार प्रकृति र मानिसका बीच द्वन्द्वात्मक एकतामा आधारित सम्बन्ध रहेको हुन्छ र यसलाई नैसर्गिक भौतिक सम्बन्ध पनि भनिन्छ । पुँजीवाद÷साम्राज्यवादले अत्यधिक मुनाफा आर्जन र पुँजी सञ्चयको प्रक्रियामा प्रकृति र मानिस बीचको यस प्रकारको नैसर्गिक भौतिक सम्बन्ध वा अन्तक्र्रियालाई ध्वस्त पारिदिन्छ । फलतः प्रकृति र मानव जीवनका बीच असन्तुलन पैदा हुन पुग्दछ । यसरी हेर्दा पर्यावरणीय समस्याको प्रमुख कारण र कारक तत्व पुँजीवाद÷साम्राज्यवाद नै रहिआएको कुरा स्पष्ट हुन्छ । त्यसैले पर्यावरणीय समस्याको समाधानका लागि प्रकृति र श्रमिक वर्ग तथा जनसमुदाय दुबै पक्षको शोषण, दोहन र उत्पीडन गर्ने पुँजीवाद÷साम्राज्यवादका विरूद्ध क्रान्ति गरी समाजवादी राज्यसत्ताको स्थापना गर्नु पर्दछ । अनि वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढेर नै प्रकृति र मानिसका बीच आवश्यक नैसर्गिक सम्बन्ध, सन्तुलन र सामञ्जस्य पुनःस्थापित गर्न सकिन्छ ।

अहिले नेपालमा कम्युनिस्ट नामधारी दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ताको संरक्षण र प्रतिनिधित्व गर्ने सरकार कार्यरत छ । त्यसले समृद्ध नेपाल र सुखी नेपालीका साथै समाजवाद समेतको नारा दिदै आएको छ । परन्तु विश्वव्यापी आर्थिक तथा पर्यावरणीय सङ्कटको प्रमुख कारक रहिआएको साम्राज्यवादी नवउदारतावाद र विस्तारवादको निर्देशनमा सञ्चालित सरकारले सिङ्गो नेपाली अर्थतन्त्र र पर्यावरणलाई ध्वस्त पार्दै र सङ्कटग्रस्त तुल्याउँदै आएको छ । गाउँभरि डोजर चलाउँदै र वनजङ्गल सखाप पार्दै लगेर र नवउदारवादको निर्देशनमा चलेर समृद्ध नेपाल र सुखी नेपाली, समाजवाद जस्ता नारा पुरा हुन र सफल बन्न कदापि सक्दैनन् । ती नारा खोक्रा र भ्रमजालका विषय बन्दै र उपहासमा परिणत हुँदै गएका छन् । वस्तुतः आज एकातिर हरित गृह ग्यास नियन्त्रण गर्न नसक्नुका कारण हिमाली पर्वत श्रृङ्ला पग्लिदैं गएका छन् भने अर्कोतिर अनियन्त्रित रूपमा बढ्दै गएको वनविनाशको प्रक्रियाले स्थिति झनै भयावह बन्न पुगेको छ ।

ठीक यसै अवस्थामा विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलदै गएको छ र त्यसले मुख्यतः विश्वका अतिविकसित देशहरूमा आफ्नो दुष्प्रभाव फैलाइरहेको छ । अहिले झण्डै सङ्क्रमित हुनेको सङ्ख्या तीस लाख र मृत्यु हुनेको सङ्ख्या दुई लाख भन्दा बढी पुग्दै गइरहेको छ । त्यसको असर नेपालमा पनि पर्दै गएको छ । यो बेला झण्डै विश्व नै लकडाउनको स्थितिमा छ । यो अत्यन्तै दुःखदायी, संवेदनशील र महाविपत्तिको अवस्था हो । कतै कोरोना भाइरस र पर्यावरण विनाशका बीच कुनै सम्बन्ध त छैन ? गम्भीर अध्ययनको आवश्यकता पैदा भएको छ ।

आज वर्तमान विश्वमा आर्थिक तथा राजनीतिक उत्पीडन र पर्यावरण विनाश, अनि आर्थिक सङ्कट र पर्यावरण सङ्कट दुबैका प्रमुख कारण र कारक तत्व अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र बेग्ला बेग्लै देशहरूका सन्दर्भमा त्यसद्वारा निर्देशित पुँजीवादी तथा प्रतिक्रियावादी राज्यसत्ता नै रहिआएका छन् । यस स्थितिमा आर्थिक तथा राजनीतिक र पर्यावरणीय दुबै क्षेत्रमा जनआन्देलन र क्रान्तिको प्रहारको प्रमुख निशाना साम्राज्यवाद र प्रतिक्रियावाद बन्न गएका छन् । यस यथार्थलाई हामीले राम्रोसित आत्मसात् गर्नु पर्दछ ।

तसर्थ, यो बेला हामीले ध्यान दिनुपर्ने मूल विषय यी हुन्— पहिलो, पर्यावरणको विनाश र संरक्षणको प्रश्नलाई एउटा मूल एजेण्डा बनाई त्यसलाई सिङ्गो राजनीतिक आन्दोलन र क्रान्तिसित जोड्नु पर्दछ । दोस्रो, साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादका विरोधमा आन्दोलनको सञ्चालन तथा विकास गर्दै नयाँ विकल्पका रूपमा वैज्ञानिक समाजवाद तथा साम्यवादको प्राप्तिका लागि नयाँ जनवादी क्रान्तिको तयारीमा दृढतापूर्वक अगाडि बढ्नु पर्दछ ।

वस्तुतः माक्र्सवादले प्रकृति र मानवका बीचको द्वन्द्वात्मक एकतामा जोड दिन्छ । यहाँ सङ्घर्ष र सन्तुलन दुबै हुन्छ । प्रकृति मानव जीवनको एक मात्र आधार र अभिन्न अङ्ग हो । प्रकृति विना मानव जीवन असम्भव छ । प्रकृतिलाई समृद्ध तुल्याएर नै मानव जीवन समृद्ध बन्न सक्तछ । प्रकृति र मानवका बीचको सम्बन्ध प्राक् इतिहास कालदेखि नै स्थापित रहिआएको छ । यस सम्बन्धलाई विस्थापित र विध्वंस गर्ने प्रवृत्ति र शक्तिका विरूद्ध जोडदार सङ्घर्ष चलाउनु पर्दछ । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुगेर नै वास्तविक अर्थमा प्रकृति र मानिसका बीचको सम्बन्धलाई नयाँ आधारमा नयाँ ढङ्गले स्थापित र सुदृढ तुल्याउन सकिन्छ ।

मिति २०७७ बैसाख १६ गते ।