मधुमालतीको दन्तेकथाबाट पुलकित हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी फोड्ने र संवैधानिक परिषद्मा हेरफेर’ गरी सबै एक्लै कुम्ल्याउने जस्ता दुईवटा अध्यादेश रातारात स्वीकृत गराए र केही दिनमै फिर्ता लिए पनि । राजा मधुकर हुन चाहेका थिए उनी, तर मधुकरको हास्यका रुपमा प्रकट भए । दन्ते कथामा मधुमालतीको भूमिका निकै दुखान्त छ, तर प्रम ओलीका सन्दर्भमा यो निकै हास्य बनेर आएको छ ।
वर्णित मधुमालतीको कथामा विष्णुको वैठक कक्षमा नाच्दै गर्दा ताल झुकाएपछि रिसाएर विष्णुले दिव्य बाह्रवर्षसम्म नदी तटमा शिला भएर बस्नु भन्ने श्राप दिंए । नदी तटमा शिला बनेर रहेकी प्राणप्यारी मालतीलाई ब्युँझाउन राजा मधुकरले एकै रातमा बन्जर भूमि खनेर, मोलडल्लो गरेर, तोरी छरेर, उमारेर, फुलाई, फलाई, पकाई, तोरी पेलेर, तेल बनाएर, रोटी पकाई ठीक्क सूर्य उदाउने बेलामा पूर्वतिर फर्केर त्यो शिलामाथि रोटी चढाए । मालती शिलाबाट मुक्त भई नश्वर शरीर धारण गरिन् । त्यसपछि मधुकरमालती दुवै दिव्य बाह्रवर्षसम्म राशलिलामा डुबे ।
सत्तारुपी मालतीसँग लिलामय जीवन जीउनका लागि ओलीले पार्टी फुटाउने र संवैधानिक परिषद्मा सत्ताधारी पार्टीले एकलौटी लुट मच्चाउने गरी दुईवटा अध्यादेश रातारात स्वीकृत गराए । मधुमालतीको कथामा राजा मधुकरलाई एकै रातमा चोखो जमिनमा तोरी छरेर, उमारेर, तोरी पेलर रोटी बनाई मालती ब्युँझाउने यो विजुली गतिको काममा बज्रठिंगा नामक एक सहयोगीले हरतरहले सघाएको छ । ओलीलाई पनि कुर्सीको वरपर रहेका अजीर्ण बज्रठिंगाहरुले हौस्याउँदै विजुलीको गतिमा रातारात काम गर्न त्यसरी नै सघाए । ‘यसो नगरौं होला कि’ भनी सल्लाह र सहयोग गर्नुको सट्टा झुम्का र फुर्काहरु गाँसेर चिरिचयाट्ट पारिदिए । सिंगारपटार पारिएपछि ओलीको मोहित हुने बानी, त्यसमा पनि अझ आफैले निकै दिलचस्पीका साथ गरेको प्रस्ताव । बज्रठिंगाहरु पनि मालती मधुकरको भएपछि उनका धाई र सुसारेहरु आफूहरुको हुनेमा मख्ख नै थिए ।
सत्तारुपी मालती प्राप्तिका लागि रातारात फेसबुक स्टाटस अपलोड गरिए । पूर्वमन्त्री र सांसदहरु रातारात अपहरणमा पर्दै गए । सिंगो राज्यसंयन्त्रको असीम दुरुपयोग गरियो । ओलीका बज्रठिंगाहरुमा पूर्वप्रहरी महानिरीक्षकसहित पार्टीका हनुमान नेताहरु मध्यरातमा घरघरबाट मानिसलाई उठाउँदै अपहरण गर्दै देशभर तबाह मच्चाउँदै हिंडे । संसारभर मानिसको सिकार गर्दै हिंडिरहेको कोरोना महामारीको त्रासले सिंगो देश ‘लकडाउन’ को मस्त निद्रामा थियो । सडकहरु खुल्लै थिए, बस्तीहरु निशब्द । यस्तो बेला बज्रठिंगाहरुको गाडी हाइँहाइँ र हुइँहुइँ गर्दै घरघर, टोलटोल र बस्तीबस्ती चाहार्दै मधुकरको घोडा फुकिएजसरी हिनहिनाउँदै चाहारिरहेका थिए ।
दन्ते कथामा मालतीलाई शिलाबाट नश्वर शरीरमा परिणत कसरी गर्न सकिन्छ भन्ने विचार र सल्लाह एउटा स्यालले दिएको हुन्छ । स्यालको विचार सुझावअनुसार नै एकै रातमा बज्रठिंगाको सहयोग लिएर मधुकरले मालतीलाई शिलाबाट ब्युँझाउने यी सबै कामहरु गरेका हुन्छन् । स्यालले यो सबै कुरा बताएपछि ऊ पनि स्यालको जीवन चक्रबाट मुक्ति पाएर मानव जीवन वा मोक्ष प्राप्त गर्ने अन्तिम ध्याउन्नमा हुन्छ । उसको स्वार्थ पनि यसरी मालती ब्युँझाउने रणनीतिसँग गाँसिन आइपुगेको हुन्छ ।
आफूलाई काग नै हूँ भन्ने ओलीलाई सत्तालिप्सामा टाँसिरहेपछि आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने एमसीसीका रणनीतिकारलाई लागेको छ । तात्कालीन सभामुख महरालाई उछिट्याएपछि एमसीसी पारित भैहाल्ने उनीहरुको सोच थियो । उनीपछि अग्नि सापकोटा सभामुख बनेपछिको संसद हिउँदे अधिवेशनबाट पनि एमसीसी पारित त के सूचीमा नै परेन । त्यसपछि एमसीसीका रणनीतिकार ओलीदेखि आगो भएर राजीनामाको तरवार भिराइदिए । ओली जुनसुकै हालतमा पनि एमसीसी पारित गराइ छाड्ने र उनीबाहेक अरुले त झनै उक्त काम गर्ननसक्ने विन्तिभाउ गरे ।
उता कोरोनाको कारणले भनेकै बेला एमसीसी पारित नहुने भयो । यसका लागि खेल अर्को जरुरी भयो । त्यो थियो कोरोनाका नाममा अघोषित संकटकाल ‘लकडाउन’ लागेका बेला अध्यादेश पारित गर्ने र एमसीसीका पक्षधरलाई एक ठाउँमा लिएर ध्रुवीकरण गर्दै एमसीसी पक्षधरको सरकार बनाउने अनि त्यही सरकारी गठबन्धनलाई साथमा लिएर आगामी आवधिक निर्वाचनमा एकसाथ जाने । एमसीसी रणनीतिकारको यो ग्य्राण्ड डिजाइनअनुसार ओली अघि बढेका थिए । अमेरिका र भारत यो मुद्दामा एक ठाउँमा रहेर ओलीलाई ‘ग्रिन सिग्नल’ दिएका थिए भने यो प्रस्तावका समर्थकमा प्रतिपक्षी दलका शेरबहादुर देउवा थिए । देउवाले अध्यादेश स्वीकृत गराएपछि सिर्जना हुनसक्ने विरोधको अप्ठेरो अवस्थामा आफूहरु काँध थाप्न तयार रहेको विश्वास दिलाउँदै उस्तैपरे मध्यावधि निर्वाचनको घोषणा गरी एमसीसी पक्षधर गठबन्धन बनाएर साथै जाने बाचा दोहर्याएका थिए । उनले डा. प्रकाशशरण महतले यस अघि नै मध्यावधि निर्वाचन घोषणाको माग यही अर्थमा गरेको पनि स्मरण गराएका थिए ।
यही गोप्य साँठगाँठको धरातलमा आधुनिक मधुकर ओलीको सत्तारुपी मालतीसँग दिव्य बाह्रवर्ष लिलामय जीवन बिताउने दिवास्वप्न प्रकट भएको थियो । पार्टीमा अल्पमतमा परेका ओली संदीय दलमा अल्पमतमा परे पनि ४० प्रतिशतको भागिदार भने थिए र छन् पनि । यही कुरालाई मध्यनजर गरेर पार्टी वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत पुगे दल फुटाउन पाइने अध्यादेश अघि सारिएको थियो । त्यसपछि एमसीसी कार्यान्वयनको बेलामा आइपर्ने बाधा प्रतिपक्षी दलबाट हुन्छ भन्ने कुराको हेक्का राखेर संवैधानिक परिषद्मा प्रतिपक्षीको स्थान नै चट् पारिएको थियो । एमसीसीका रणनीतिकार तथा ओलीदेउवाहरुलाई यति गरिसकेपछि एमसीसी विरोधी दल प्रतिपक्षमा हुने छ भन्ने सामान्य हेक्कामा रहेको कुरासमेत प्रष्ट हुन आउँछ । अध्यादेश यिनै ग्य्राण्ड डिजाइनमा ल्याइएका थिए । अध्यादेश फिर्ता हुनेबित्तिकै ओलीले देउवालाई प्रम निवासमा बोलाएर गम्भीररुपमा आत्मालोचना समेत् गरेका थिए ।
एमसीसी रणनीतिअन्तर्गत आएको यो डिजाइनमा ओली आफैले सबैभन्दा पहिले पार्टी फोडेर अरुलाई सरकार निर्मणका लागि आह्वान गर्नुपर्ने थियो । यसका लागि ओलीलाई अदालत, सेना, कर्मचारी तथा प्रतिपक्षीको फूल समर्थन जरुरी थियो । उनले नियमित प्रहरीलाई आआफ्नो स्थानमा स्ट्याण्डबाई राखेका थिए, कार्यरत छँदा मनमुटाव रहेका पूर्व आईजीपी सर्वेन्द्र खनालले गडबडी गर्नसक्ने आशंका भएकाले उनलाई ‘अख्तियार प्रमुख’ बनाइदिने आश्वासनसहित पूर्वमन्त्रीहरु र सांसद अपहरणमा खटाइएको थियो । उनी ओलीका दाहिने हात महेश बस्नेतको कमाण्डमा उक्त कार्यमा चकमन्न रातभर खटेका थिए ।
अर्कोतिर आफ््नै नेताहरुले अध्यादेश फिर्तालिन भन्दै झाँको झार्न थालेपछि र ओलीकै मानिसमा आशंका र द्विविधा उत्पन्न हुन गयो । विष्णु पौडेलजस्ता कतिपय नेताले त कित्ता नै फेरे पनि । यसपछि ओलीलाई आफूले टेकेको घरभित्रको धरालत भासिदै जान थालेको आभाष हुन थाल्यो । खुट्टा लकपकाएका ओलीले मधेशवादी दल फुटाउन अध्यादेश ल्याएको भनी आफ्ना नेता र कार्यकर्ता थामथुम पार्न बचन दिनथाले पछि क्षणभरमा सशंकित हुन पुगेको भारतीय पक्ष (दिल्ली) आक्रोशित बनेर बाह्र घण्टाभित्रै जनता समाजवादी दल निर्माण गर्दै ओलीको मुकाममाथि ‘रेड’ गर्यो । त्यसपछि ओलीले जसरी अध्यादेश स्वीकृत गराएका थिए, त्यसरी नै क्षणभरमा दुवै अध्यादेश खारेज गराए । चमत्कार भयो ! जनयुद्ध कालमा प्रचण्डले भन्ने गरेजस्तै ओलीको सत्तालिप्सा र स्वेच्छाचारितामा विदेशी रणनीतिको अध्यादेशका रुपमा ‘छ्याप्ल्याङ्’ आयो, गयो । यसरी सिर्जना भएका थिए– काला अध्यादेश स्वीकृतिका कम्पन र फिर्ताका पराकम्पनहरु ! विदेशी ‘छट्टु स्याल’का कार्यनीतिक गोटी बनेका ‘मधुकर’ ओली नाक टेकेर तिनको रणनीतिलाई पछ्याउन किन बाध्य छन् भन्ने कुरा यसले छर्लंग देखाएको छ ।
यसले नेपाली राजनीतिमा अस्थिरता ल्याउन र सिंगोदेशलाई असफलतातिर धकेल्ने खतरनाक आधार पनि खडा गरिसकेको छ । यो कुनै सामान्य र आखाँ चिम्लन सक्ने घटना होइन, यसको तात्कालिक र दुरगामी नकारात्मक असर परेको छ । अहिले सिंगो देश अकर्मण्यताको सिकार भएको छ । केको कोरोना सोरोना ?! सत्ताधारी दलालका कारण देश विदेशीको चक्रब्युहमा फनफनी नाचिरहेको छ । अहिले न त दाहालपक्षीय बहुमतको खेमा यसबारे बोल्न र ओलीलाई तुरन्त राजीनामा गराउन सक्षम छ, न त ओली नैतिकता (?) देखाएर भए पनि राजीनामा दिने स्थितिमा छन् । किनकि निकास अहिले विदेशी शक्तिको हातमा छ । यिनीहरु यति निरीह र लाचार छन् कि पार्टीभित्र के निर्णय लिने भन्नेबारेमा पनि विदेशीको मुख ताकेर पलपल प्रतिक्षा गरिरहेका छन् ।