लेनिनका विलक्षण प्रतिभाका चारित्रिक विशेषताहरु

प्रकाशित मिति : २०७७ बैशाख १०

- कृष्णदास श्रेष्ठ

 

एक महान् विभूति
भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति–सङ्घर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रुपले अङ्कित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन, आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा अर्थात् श्रमिक जनगणको मुक्ति र सुखको लागि समपर्ण गरे । उनको जीवन यात्रामा महान् रुसी कवि लर्मोन्तोवको एउटा कविताका निम्न पङ्क्तिहरूमा व्यक्त कथन साँचो र पूरा रुपमा चरितार्थ भएको छ :
“एउटैमात्र विचार उसको पथप्रदर्शक बन्यो,
एउटै उत्कण्ठाको ज्वालाले अभिप्रेरित ग¥यो ।” (“लेनिन : एक जीवनी,” अङ्गे्जी संस्करण, पृष्ठ १० बाट उद्धृत ।)

लेनिनको सैद्धान्तिक तथा व्यावहारिक क्रियाकलापहरूमा निर्देशक रहेको विचार माक्र्स र एंगेलसद्वारा प्रतिपादित महान् सिद्धान्त थियो र त्यसमा उनलाई अभिप्रेरित गर्ने एउटै भावना श्रमिक मानवजातिको सेवा गर्ने भावना थियो ।

क्रान्तिका महान् नेता तथा गुरुको रुपमा लेनिनबारे फ्रान्सका नामी लेखक रोम्याँ रोलैण्डले निम्न विचार व्यक्त गरेका छन् :

“नेपोलियन उपरान्त युरोपेली इतिहासले यस्तो दृढ सङ्कल्पशक्ति देखेको थिएन, आफ्नो पुरानो वीरतापूर्ण बेला उपरान्त युरोपेली धर्मले यस्तो अदम्य आस्थासहितको विचार–प्रचारक देखेको थिएन । तर, सबभन्दा महत्वपूर्ण कुरा के भने मानवीय क्रियाकलापले पहिले कहिले पनि यस्तो नेता र गुरु अगाडि ल्याएको थिएन जो आआफ्नो कुनै पनि व्यक्तिगत स्वार्थको वास्ता राख्दैनथे । उनको उच्चस्तरको बौद्धिक छवि उनको जीवनकालमा समेत मानिसहरूको दिलमा अङ्कित रहयो, यो युगौंसम्म निश्चित रुपले अपरिवर्तनीय रहन्छ । (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ १४० । )

मानव इतिहासमा वास्तवमा लेनिन यस्तो पवित्र र उच्च नाउँ हो, जुन करोडौं करोड श्रमिक जनताको दिलमा ससम्मान र सश्रद्धा अङ्कित रहेको छ । तर अर्कोतर्फ, पुँजीपति वर्ग जनताका शत्रुहरूले उनलाई बदनाम गर्न कुनै कसर बाँकी राखेका थिएनन् । उनकै समयमा उनलाई बडो क्रूर व्यक्तिको रुपमा प्रस्तुत गर्ने उद्देश्यले भयानक प्रचार गरिएको थियो । यसबारे अमेरिकी पत्रकार अल्बर्ट विलियमले लेखेका थिए ः

लेनिनलाई “के थाहा थियो भने भोक, आक्रमण र प्रतिक्रियावादको तर्फबाट खतरा रहेको क्रान्तिलाई सशक्त कठोर कार्यवाहीले मात्र जोगाउन सक्छ । त्यसैले, बोल्सेविकहरूले बिनादयामाया वा बिनाहिचकिचाहट आफ्ना उपायहरूलाई अघि बढाए, जब कि तिनका शत्रुहरूले तिनीहरूमाथि हमला गर्न आक्षेपहरूको शास्त्रागारमा विशेषणको खोजखाज गरे । पुँजीपति वर्गको दृष्टिमा, लेनिन जोर–जरबजस्ती गर्ने निर्दयी व्यक्ति रहे । त्यस अवधिमा तिनीहरूले उनलाई प्रधानमन्त्रीको रुपमा होइन, बरु ‘अत्याचारी लेनिन’, ‘तानाशाह लेनिन’ को रुपमा सङ्केत गर्दथे । दक्षिणपन्थी समाजवादीहरूले के भने भने पुरानो रोमानोव जारको ठाउँमा नयाँ जार, निकोलस लेनिन आएका छन् र खिसी गर्दै उनीहरू कराए ‘हाम्रो नयाँ जार निकोलस तेस्रो जिन्दावाद !’ (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ ६५ । )

शोषक–शासकहरू र सबै खालका प्रतिक्रियावादीहरूले जनताका नेताहरूको विरुद्ध प्रचार गर्नु कुनै नौलो र अस्वाभाविक कुरा होइन । जन–नेता र अग्रगमनका पक्षधर नेताहरूको बदनाम गर्न तिनीहरूले विभिन्न तरिका र उपायहरू प्रयोग गर्ने गरेका छन् । त्यसबेला लेनिनको बदनाम गर्न साम्राज्यवादी र अन्य प्रतिक्रियावादीहरूले कुनै उपाय प्रयोग गर्न छाडेनन् । यहाँसम्म कि १९१७ को फेब्रअरी क्रान्तिपछि लेनिन फिनलैन्डमा भूमिगत रहँदा, पुँजीवादी प्रचार माध्यमहरूले लेनिन स्वीजरलैन्डमा कुनै नामी होटेलमा केटीसँग मज्जाका लागि बसिरहेछन् भनेर व्यापक प्रचार गरेका थिए । सो प्रचार सरासर निन्दा र बदख्वाइँ थियो । जनमुक्ति सङ्घर्षमा देखापरेका कुनै पनि त्यस्ता नेताहरु छैनन् होला, जसमाथि ती तत्वहरुले हिलो छ्यापेका छैनन् र जसको निन्दा र बदख्वाइँ गरेका छैनन् ।

कुनै ठूलो व्यक्तिलाई बदनाम गर्ने मानिसहरूमा रहेको अर्को एउटा प्रवृत्तिको उल्लेख मेक्सिम गोर्कीले गरेका छन् । उनी भन्छन् ः
“यसबाहेक, सामान्यत : मानिसहरूमा कुनै सामान्य व्यक्तिलाई आफ्नै बुझाइको स्तरमा तल खसाल्ने मात्र होइन, बरु उसलाई आफ्नै खुट्टा ढोगाउन भुइँमा झुकाउन, आफू स्वयंले सिर्जेको र ‘सामान्य जीवन’ भनी नामाकरण गरेको च्यापच्यापे, फोहर हिलोमा तानेर ल्याउन कोसिस गर्ने अदृश्य प्रवृत्ति रहेको छ ।”

अगाडि उनी भन्छन् ः विरलाकोटी (rare) सौन्दर्यका वस्तुहरू बिगार्ने इष्र्यापूर्ण प्रेरणा त्यही स्रोतबाट उत्पन्न हुन्छ, जुन स्रोतबाट विलक्षण गुण भएका व्यक्तिलाई हरहालतमा बदनाम गर्ने इष्र्यालु इच्छा उत्पन्न भएको हुन्छ । कुनै विरलाकोटी र असाधारण कुरा एउटा झमेला रहन्छ, किनकि त्यसले अभ्यस्त नित्यक्रमलाई बिगार्छ र मानिसहरूलाई तिनले चाहेको ढङ्गबाट रहन दिँदैनन् । तिनीहरुले बढी चाहेको कुरा–यदि तिनीहरूले बढी चाहने गरेको कुनै कुरा छ भने – त्यो अवश्य पनि तिनीहरूको सामाजिक बानीबेहोरामा आमूल परिवर्तन होइन, बरु सो बानीबेहोराको बिस्तारमात्र हो ।” (ऐ.ऐ पृष्ठ ३३–३४ ।)

वस्तुगत सामाजिक यार्थता र इतिहासले आफ्नो विकास–प्रक्रियामा सदा आफूलाई आवश्यक पर्ने महान् व्यक्तित्वहरू, सिद्धान्तविद् तथा राजनीतिक नेताहरूलाई सामाजिक जीवनको बीचबाट खोजेर निकाल्छ । सामान्य नियम के छ भने महान् क्रान्तिहरूले महापुरुषहरू, महान् नेताहरू पैदा गर्छन् । त्यसलाई हेरेर कसै–कसैले कस्तो धारणा बनाएका छन् भने महापुरुषहरू इतिहासका निर्माता हुन्, ठूला–ठूला युगान्तकारी घटनाहरूका स्रष्टाहरू ठूला नेताहरू हुन् । तर यो बिलकुल गलत धारणा हो, किनभने वास्तवमा क्रान्तिहरूका, ठूला–ठूला परिवर्तनहरूका प्रेरक शक्ति आम जनता हुन् र कुनै पनि क्रान्तिको भाग्यको निर्धारण जनताद्वारा हुन्छ र त्यसको भाग्य आम जनताको तागत, सङ्घर्ष, अनुशासन र समर्पणमा निर्भर गर्दछ । त्यसो भए पनि, कुन कुरा साँचो हो भने कुनै महान् जनआन्दोलनले, महान् क्रान्तिकारी परिवर्तनले आफूलाई कुनै खास व्यक्तिमा केन्द्रित गर्नसक्छ, कुनै ऐतिहासिक युग एक महान्् व्यक्तित्वमार्फत अभिव्यक्त हुन सक्छ र इतिहासमा सामान्यतः यस्तो भएका पनि छन् । लेनिन एकजना त्यस्तै महान् व्यक्तित्व हुन् जसमा महान् अक्टोबर समाजवादी क्रान्ति र त्यसले सूत्रपात गरेको पुँजीवादबाट समाजवादमा सङ्क्रमणको ऐतिहासिक युगले आफूलाई अभिव्यक्त गरेका छन् । लेनिनसम्बन्धी आफ्नो संस्मरण–लेखमा अमेरिकी पत्रकार अल्बर्ट विलियमले निम्न विचार व्यक्त गरेका छन् ः

“रुसी क्रान्तिको भाग्य आम जनता स्वयम्मा–तिनीहरूको अनुशासन र समर्पण रहन्छ । साँचो भन्ने हो भने, तिनीहरूको लागि भाग्य निकै दयावान् रहेको छ । सर्वसाधारण जनताको लागि त्यसले पथप्रदर्शक तथा व्याख्याताको रुपमा, ठूलो बौद्धिक शक्ति र फलामे सङ्कल्पसहितको एउटा मानिस, विशाल ज्ञान र निडर कार्यबाहीको एउटा मानिस, उच्चतम आदर्शवाद र अत्याधिक दृढ व्यावहारिक चातुर्यको एउटा मानिस प्रदान गरेको छ ।” (ऐ.ऐ पृष्ठ ८१ ।)

लेनिन महान् प्रतिभाशाली व्यक्तित्व थिए, तर त्यसो भए पनि उनी महान् क्रान्तिकारी आन्दोलनका स्वाभाविक उपज थिए, महान् क्रान्तिका मूर्तरुप थिए । फ्रान्सेली लेखक तथा समालोचक जोन– रिचाई ब्लोकले यसबारे सारगर्भित विचार व्यक्त गरेका छन् । उनको भनाइ यस प्रकारको छ ः
“एउटा यस्तो भेटघाट भयो जुन हजार वर्षमा एकपटक मात्र हुनसक्छ – महानतम् बौद्धिक शक्ति र त्यस्ता जनताको बीचमा भएको भेट जसको भावना सो बौद्धिक शक्तिमा मूर्तमान भएको थियो । जनताका आशाहरू, जनताको तागत र रुसका सारा अन्तर्निहित शक्तिहरू सो बौद्धिक शक्तिमा मूर्तमान हुँदै अन्त्यमा गएर ती दुई एक भए । एउटा राष्ट्रको प्रतिभासित एकजना व्यक्तिको प्रतिभाको यस जैविक(organic) मिलनले केही कुराको उपस्थितिको अपेक्षा गर्छ – महान् प्रेम, असीम आस्था, असीमित मनस्वीता (ःMagnarimty), आत्म–बलिदान र आत्म–त्यागको महामानवीय क्षमता । कस्तो महान् प्रेम ? आफूलाई हुर्काएका जनताप्रतिको प्रेम । कस्तो आस्था ? सो जनताको तागतमा आस्था । लेनिनमा ती सबै कुरा थिए । उनको आलोचनात्मक मानसिक शक्तिले–एक शुद्ध तीक्ष्ण हीराले–उक्त गुणहरूलाई कुनै पनि किसिमको साधारणीकरणबाट सुरक्षित राख्यो । उनको अदम्य भौतिक तथा बौद्धिक तागत उनको मनको विशाल तथा ज्यादै बहुपक्षीय तागतको अधीनस्थ रहेको थियो ।” (ऐ.ऐ पृष्ठ २६१ ।)

लेनिनको व्यक्तित्वमा रहेको एउटा प्रमुख विशेषता के थियो भने उनी महान् सिद्धान्तकारका साथै महान् राजनीतिज्ञ पनि थिए । सिद्धान्तविद् र राजनीतिज्ञ दुवै उनको व्यक्तित्वमा अभिन्न रुपमा र बडो उत्कृष्ट किसिमले गाँसिएका थिए र ती दुवैको जम्बर मेल उनको क्रान्तिकारी गतिविधिको एउटा अति महत्वपूर्ण विशेषता थियो । व्यवहारिक क्षेत्रमा दर्शन र राजनीतिक सङ्घर्षको ’ मेलको रुपमा उक्त मेलका अभिव्यक्ति भएको थियो । साँचो भन्ने हो भने, लेनिन सिद्धान्त्त र व्यवहारको भव्य मेलको उत्कृष्ट प्रतिमूर्ति थिए । यस कुरालाई चिलेका महान् कवि पाब्लो नेरुदारले “लेनिनमा समर्पित पङ्क्ति” (Lines of Lenin) शीर्षकको आफ्नो कवितामा यसरी प्रस्तुत गरेका छन् ः

“यस्ता मानिसहरू थिए जोमात्र थिए अनुसन्धाता
प्रत्येकजना किताबजस्तै, गम्भीर, ज्ञानका लागि पूर्ण उत्साहित ।
अरुहरूमा प्रमुख गुण भनको कार्यबाही थियो
तर लेनिनसित ती दुवै प्रतिभा थिए
कार्यबाही र ज्ञान ।” (ऐ.ऐ पृष्ठ २९५ बाट उद्धृत ।)

सिद्धान्तकार र राजनीतिज्ञको मेलको रुपमा लेनिनको व्यक्तित्वमा अन्तर्निहित, यसो हेर्दा अन्तर्विराधी जस्तो देखिने, दुइटा चारित्रिक गुणलाई मेरित्ता सागिन्यानले “बुटिस म्युजिमको पुस्तकालयमा” शीर्षक लेनिनसम्बन्धी आफ्नो संस्मरण लेखमा दुईजना व्यक्तिबाट सुनेको बयानबाट दर्साएका छन् । तीमध्ये एकजना थिए निकोलाइ अलेक्सेयेव, जसले लेनिन लन्डनमा आएका बेलाको एउटा कुरा यसरी बताए ः “आइपुग्नासाथ भ्लादिमिर लेनिनले कुन कुरा बुझाए भने इस्क्राका अरु मानिसहरू सामूहिक रुपमा बस्नेछन्, तर उनी सामूहिक ढङ्गबाट बस्न बिलकुल असमर्थ छन् र उनी सारा समय मानिसहरूसित रहन चाहँदैनन् । रुसबाट र अन्य मुलुकबाट आउने कमरेडहरूले उनको समयको कुनै ख्याल नगरिकन रुसी पाराले आफूलाई पिरोल्ने पहिले नै थाहा पाएर उनले निकै तारानतार गरिने भेटघाटबाट आफूलाई जोगाउन आग्रह गरे ।” ठीक त्यही ताका केहीअघि लेनिन बु्रसेल्समा हुँदा आफू उनलाई भेट्न जाँदाको बेलाको कुरा यस मेस्चेयोकोबले यसरी बताए ः “मैले भ्लादिमिर इलिचलाई सहर, मजदुर पार्टीको सङ्गठन, सुविख्यात स्थानीय सहकारी आदि देखाउन लिएर गएँ । सहकारीबाट निस्कँदा अकस्मात् हामी मजदुरहरूको भीडमा प¥यौं । सो भीड देखेर लेनिन निकै उत्साहित भए र उनले सो प्रदर्शनमा सामेल हुने उत्सुकता देखाए । उनलाई रोक्न मैले समातेर राख्नुपरेको थियो ।” ती दुई घटनाबाट लेनिनको व्यक्तित्वमा रहेका दुइटा गुण व्यक्त भएका थिए ः सैद्धान्तिक चिन्तनको लागि चाहिने एकाग्रता, एकान्तवास र जनतासित घुलमिल हुने अभिप्रेरणा यसबारे लेखिका भन्छिन् ः “ती दुइटा कुरा अन्तर्विरोधीजस्तो देखिए पनि, त्यसले वास्तवमा चरित्रका एकदमै मिल्दा तत्वहरूलाई खुलस्त पार्छ ः एकाग्रचित हुने, आफू एक्लै बस्ने आवश्यकता र जनताको बीचमा रहने उत्कृष्ट प्रेरणा ।” (ऐ.ऐ पृष्ठ ३८५–६ ।)

यसरी लेनिनको व्यक्तित्वमा एक कुृशल राजनीतिज्ञ र एक महान् सिर्जनशील विचारकको अनुपम मेल व्यक्तिएको थियो । उनी सारा समय सिर्जनात्मक सिद्धान्तविद् र क्रान्तिकारी–व्यवहारिककर्मी दुवै थिए । उनका सारा गतिविधिहरू माक्र्स र एंगेलसद्वारा प्रतिपादित क्रान्तिकारी सिद्धान्तलाई तत्कालीन सर्वहारावर्गीय आन्दोलनसित सिर्जनात्मक र क्रियात्मक ढङ्गबाट गाँस्ने र सो सिद्धान्तद्वारा वर्तमान युगको श्रमिक जन–मुक्ति आन्दोलनलाई अतिसिक्त पार्ने प्रयत्नमा केन्द्रित र समर्पित रहेका थिए ।

हङगेरियाली लेखक पिटर वोरोसले लेनिनमा दुइटा गुणको मेल–प्राकृतिक प्रतिभा र ऐतिहासिक तत्वहरूको लेखाजोखा गर्ने क्षमताको मेल–रहेको बताएका छन् । त्यस सम्बन्धमा उनले निम्न विचार व्यक्त गरेका छन् ः

“वैयक्तिकता र विश्व–दृष्टि, सारा परिघटनाहरूप्रति छिटो र ठीक प्रतिक्रियासित गाँसिएको सतर्कता, मित्र र शत्रुबीच भेद पत्ता लगाउने सीप, सफलताको पछि नलागी सो प्राप्त हुने विश्वासका साथ कुनै पनि समय वा परिस्थितिमा सही अडान लिने, निर्णय गर्दा दृढता दर्साउने क्षमता… प्रतिभाका, नेतृत्व गर्न जन्मेका व्यक्तिका विशेषता यिनै हुन् । ” (ऐ.ऐ पृष्ठ ३७९)

लेनिनको चरित्रमा त्यस्ता केकस्ता गुणहरू थिए, जसले गर्दा उनी महान् गुरु र क्रान्तिकारी नेता बनेका थिए ? यो एक निकै महत्वपूर्ण सवाल हो । यस सम्बन्धमा मेरित्ता सागिन्यानले “लेनिनको पाइला पछ्याउँदै” शीर्षकको आफ्नो लेखमा आफूले धेरैजसो लेनिनसम्बन्धी संस्मरणका पुस्तकहरू पढ्ने गर्नाको कारणबारे चर्चा गर्दै लेखेकी छन् :
“मैले ती लेखकहरूमा कस्ता गुणहरूले लेनिनलाई अन्तर्राष्ट्रिय मजदुरवर्गीय आन्दोलनका नेता बनाएका थिए, कुन चारित्रिक गुणहरूले गर्दा उनलाई मानवजातिको स्नेह मिलेको थियो र कस्ता चरित्रिक विशेषताहरूलाई मैले आफूमा विकसित गर्नुपर्छ भन्ने कुरा पत्तालाउन इच्छा गरेकी थिएँ । समग्रमा उनका दृढ आस्था र विश्वासहरूबाट छुट्टै कुन कुराले उनलाई साधारण मानिसबाट एकजना विशिष्ट कम्युनिष्ट बनायो भन्ने कुरा मैले बुझ्न चाहेकी थिएँ ।”

“चरित्रको खुलासा गर्ने दसी भनेको आचरण (behaviour) हो, आचरण भनेको त्यस्ता चारित्रिक गुणहरूको कूल जोड हो जसमा अरुहरूलाई प्रभावित गर्ने विश्वास, सम्मान र अनुसरण गर्ने इच्छालाई अभिप्रेरित गर्ने शक्ति रहन्छ, यो आग्रह बुद्धिप्रति मात्र होइन, बरु अधिक गहन छ र एकप्रकारले अरु व्यक्तिको आकाङ्क्षासित गाँसिएको छ ।” (मेरीत्ता सागिन्याना,“लेनिनको पाइला पछ्याउदै” अङ््गे्रजी संस्करण, पृष्ठ १६८ । यो रचना एउटा सङ्ग्रहमा समाविष्ट छ, जसमा अन्य दुई रचना मेरिया प्रिलेजायेवाको “एक उल्लेखनीय वर्ष” र इमानुयल काजाकेविकको “नीलो पुस्तक” पनि रहेका छन्, यहाँ दिएको पृष्ठ सोही सङ्ग्रहको पृष्ठ हो । )

यहाँ तिनै महान् व्यक्तित्वको चरित्रका विशेषताहरूलाई खुलस्त पार्ने उद्देश्य लिइएको छ । यसको लागि उनको बारेमा लेखिएका एकाध लेखहरू, खासरुपले “लेनिनको चरित्र–चित्रण” (Lenin in Profile ) नामक पुस्तकमा जसमा लेखहरू सङ्ग्रहित गरिएका छन्, त्यसलाई आधार बनाइएको छ । यस लेखमा उपरोक्त लेखहरूबाट उनको चरित्रमा प्रकाश पार्ने भनाइहरू उद्धृत गरिएका छन्, जसले गर्दा महान् विचारक, राजनीतिज्ञ र मानिसको रुपमा लेनिन वास्तवमा कस्ता थिए भन्ने कुरा खुलस्त हुन जानेछ ।

सिद्धान्तप्रति दृढ अडान र निष्ठा
सिद्धान्तकारको रुपमा, दार्शनिकको रुपमा लेनिनको चरित्रमा अन्तर्निहित एउटा महत्वपूर्ण गुण चिन्तनमा सुसङ्गतिपन, सिद्धान्तप्रतिको दृढ अडान र इमानदारी थियो । सिद्धान्तमा आधारित नीति नै एकमात्र सही नीति रहन्छ भन्ने उनको दृढ मत थियो र उनी यस प्रस्थापनाप्रति हरहमेसा दृढ रहे । “लेनिन” शीर्षकको आफ्नो लेखमा स्टालिनले एकाध दृष्टान्त दिएर लेनिनको यस चारित्रिक विशेषतालाई निम्नरुपमा दर्साएका छन् ः
“पार्टी नेतृत्वहरुले बहुमतको रायलाई आदर नगरिरहन सक्दैनन् । बहुमत यस्तो शक्ति हो, जसलाई नेताले महत्व नदिइरहन सक्दैन । लेनिन यस कुरालाई कुनै नेताले भन्दा कम बुझ्नु हुन्न । तर, लेनिन कहिले पनि, खासगरी बहुमतको कुनै सैद्धान्तिक आधार नहुँदा, बहुमतको बन्दी बन्नु भएन । हाम्रो पार्टीको इतिहासमा यस्ता बेलाहरू पनि रहेका छन्, जब बहुमतको राय वा पार्टीका क्षणिक हितहरू सर्वहारा वर्गका मूल हितहरूसित बाझिएका हुन्थे । यस्ता बेलाहरूमा लेनिन कहिल्यै हिच्किचाउनु भएन र उहाँले पार्टीको बहुमतको विरुद्ध सिद्धान्तको समर्थनमा अविचलित रुपले आफ्नो अड्डी लिनुभयो ।” (“स्टालिनका छानिएका रचनाहरू” नेपाली संस्करण, अनु. कृष्णदास, पृष्ठ ८५ । )

लेनिनको जीवन निरन्तर सङ्घर्षको जीवन थियो र उक्त सङ्घर्षको एउटा महत्वपूर्ण र अभिन्न हिस्सा सर्वहारा वर्गको सच्चा पार्टी निर्माण र माक्र्सवादका क्रान्तिकारी शिक्षाहरूको रक्षाको लागि र सर्वहारावर्गीय आन्दोलनभित्र रहेका विभिन्न खालका गैर–सर्वहारा विचारहरूको विरुद्ध, जस्तो कि अर्थवाद, अवसरवाद, संशोधनवाद, वामपन्थी सङ्कीर्णतावाद, क्रान्तिकारी शब्दाडम्बरवाद आदिको विरुद्ध सङ्घर्ष रहेको थियो । सो सङ्घर्षमा उनी विचलित भएनन् र आफ्नो महान् लक्ष्यको सिद्धीकरणका लागि अडिग रुपमा लडिरहे । यस सम्बन्धमा फ्रान्सेली लेखक हेनरी बार्बुस्सको भनाइ निम्न प्रकारको छ :

“… जुन शिक्षामा उनले आफ्नो आस्था राखेका थिए, जुन शिक्षाको विकासको निम्ति उनले त्यतिका काम गरेका थिए, त्यससित बाझिएका कुनै पनि विचारको प्रलोभन, जुन सिद्धान्तकारहरूलाई उनले आखिरमा गएर आधुनिक यथार्थतामा (भविष्यमा पनि त्यसको अस्तित्व रहने गरी) कार्यान्वित गरेका थिए त्यससित बाझिने कुनै पनि विश्वास कहिले पनि उनको लागि कुनै मोहको विषय बनेन ।”

“उनको विचारमा हामी विचलनको कुनै चिहन पाउँदैनौं, किनभने उनी कहिले पनि विचलित भएनन् ।” (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ २२६ । )

सिद्धान्तप्रतिको लेनिनको अविचल आस्था र निष्ठा सो सिद्धान्तबाट हुने कुनै पनि विचलनप्रति र त्यसको कार्यान्वयनमा बाधा हाल्ने कुनै पनि व्यक्तित्वप्रति उनको दृढ विरोध र सङ्घर्षसित अभिन्न रुपमा गाँसिएको थियो । त्यस्तो विचलन–बाधक तत्वप्रति उनको मेल हुनै नसकिने, एक प्रकारले शत्रुतापूर्ण व्यवहार रहयो । त्यसले गर्दा आफ्ना धेरैजना मित्र र सहयोद्धाहरूसित उनको सम्बन्ध टुट्न गयो र तिनीहरू उनका विरोधीमा फेरिए । उक्त कुरा एक प्रकारले स्वाभाविक र अनिवार्यजस्तो भए पनि, त्यसले लेनिनलाई बडो दुखित पारेको थियो । रुसी लेखक इम्मान्यूल काजाकेविकले यस कुरालाई निम्न शब्दमा दर्साएका छन् :

“ ती बीस वर्षको समयका तिनीहरूले कत्रा क्षतिहरू बेहोरेका थिए । पुरानो इस्क्रामा रहेका उनका सहयोद्धाहरू–बडो विद्वान् प्लेखानोव, प्रतिभाशाली मार्तोव, क्षमतावान् अक्सेलरोड, दयालु, असल वेरा जासुरिक– तिनीहरू अहिले शत्रु, अशाम्य, निर्मम शत्रु रहे । निम्न–पुँजीपति वर्गका अधकल्चो विचारधारालाई प्रतिविम्बित गरेको कारणले गर्दा तिनीहरु शत्रु बनेका हुन् भन्ने सोच्दा आफू ढुक्क रहनु सम्भव त होला– त्यो साँचो हो–तर त्यो कुनै सान्त्वना चाहिँ थिएन । मित्रता र संलग्नता टुटेका थिए, उनी आफूबाट आफ्नै रगत–मासुका भागहरू अलग पारेझैं, मित्रहरूबाट छुट्टिन बाध्य रहेका थिए । निम्न–पुँजीपति वर्गका तरल विचारधाराबारे सारा सैद्धान्तिक कुरा हुँदाहुँदै पनि, उनीहरूसित–प्लेखानोव र मार्तेवसित–फेरि मेलमिलाप हुने सम्भावना रहेका भए, उनी कति खुसी हुने थिए होलान्, उनलाई कति सुख प्राप्त हुने थियो होला । वर्तमान क्रान्तिले स्पष्ट रुपबाट सदाको लागि उनीहरूलाई अलग पारिदिएको छ ।” (इमानुयल काजाकोविक, नीलो पुस्तक”, अं.सं, पृष्ठ ९४ ।)

सिद्धान्तप्रति लेनिनको इमानदारी तथा आस्थाको कारणले गर्दा उनका अनेकौं मित्र तथा सहयोद्वाहरू उनीबाट अलगिए र त्यसलाई उनले एउटा ठूलो दुःखपूर्ण घटनाको रुपमा लिएका थिए । दुःखको घटना, किनभने तिनीहरूले उनको सैद्धान्तिक तथा व्यावहारिक कार्यमा सघाउ र सहयोग गरेका थिए । ती सहयोद्धाहरू निश्चय पनि विद्वान् र प्रतिभाशाली थिए, तर लेनिनको उचाइ तिनीहरूको भन्दा बढी अग्लो थियो र उनको व्यक्तित्व अपूर्व खालको थियो । स्टालिनले लेनिनलाई अन्य नेताहरूको दाँजोमा “उच्चतम दर्जाका नेता, पहाडी चील” (“स्टालिनका छानिएका रचनाहरू” नेपालीमा, पृष्ठ ८२ ।) को संज्ञा दिएका थिए । ब्रिटिस लेखक जर्ज बर्नाड शा लेख्छन् :

“लेनिन त्यस्ता मानिसहरूको जमातमा मात्र एकजना थिए, जसमध्ये कोही अत्याधिक असाधारण, अपूर्व र अनुपम बुद्धिका थिए–यस्ता मानिसहरू जसमध्ये कोही कुनै एउटा कुरोमा स्वयं लेनिनभन्दा माथि थिए र त्यसले गर्दा लेनिन आफ्ना धेरै काममा तिनीहरूको सहयोगको लागि आभारी थिए– तर पनि असाधारण, विशिष्ट मानिसरुको सो समूहमा उनको एउटा अनुपम व्यक्तित्व रहेको थियो ।”( “लेनिनको चरित्र–चित्रण,” पृष्ठ १९२ ।)

ठीकसित के भनिएको छ भने “माक्र्सवाद कुनै जडसूत्र होइन, बरु कार्यमा एउटा पथप्रर्दशक हो ।” वास्तवमा माक्र्सवादमा अन्तर्निहित शक्ति ठोस परिस्थितिमा त्यसको प्रयोगमा प्रस्फुरित हुन्छ । लेनिनको मामिलामा उक्त प्रस्थापनाले बडो सशक्त तथा यथार्थ रुपमा अभिव्यक्ति प्राप्त ग¥यो । लेनिनको बौद्धिक क्षमता, साहस तथा दृढ सङ्कल्पसित एकजुट भएर उक्त सिद्धान्त उनको निम्ति ठोस परिस्थितिको ठीकसित विश्लेषण गर्ने ऐतिहासिक विकास कुन दिशातर्फ लगिरहेको छ त्यसको ठीकसित निरुपण गर्ने र सर्वहारा आन्दोलनलाई सही दिशामा निर्देशित गर्ने आधार बन्यो । यस सम्बन्धमा अमेरिकी लेखक जोन रिड भन्छन् :

“एकजना अनौठो जन–नेता–एकदमै बुद्धिको आधारमा बनेका नेताः सफा र सरल, रसिकताहीन, सम्झौताहीन, तथा निर्लिप्त, चित्रवत् सनकको अभाव रहेका–तर गम्भीर विचारलाई साधारण शब्दमा व्याख्या गर्ने, ठोस परिस्थितिको विश्लेषण गर्ने शक्ति भएका नेता । कुशाग्रबुद्धिसित गाँसिएको महानतम बौद्धिक साहस ।” (ऐ.ऐ पृष्ठ ५४ ।)

जोन रिडको उक्त भनाइले महान् सिद्धान्तकारको रुपमा लेनिनमा रहेको क्षमता र गुणलाई सामान्य रुपमा खुलस्त पारेको छ । लेनिनको चरित्रमा रहेको एउटा अर्को विशेषतालाई हेनरी बार्बुस्सेले निम्न रुपमा दर्साएका छन् :

“हामीले लेनिनको अर्को एउटा कुशलतालाई जनाउनुपर्छ–जस्तोसुकै परिस्थितिमा पनि समचित्तता र अनुद्वेग कायम राख्ने क्षमता । अर्को कुरा के भने यो क्षमता जन्मजात चारित्रिक गुण वा कुनै भाग्यमानी स्वभावको प्रवृत्ति थिएन, बरु यो सचेत तथा विधिवत् प्रयत्नको परिणाम थियो । उनलाई कुन कुरा थाहा थियो भने उनको जीवनको अर्थ रहेका उनका राजनीतिक गतिविधिहरूका लागि उक्त अनुद्वेग एउटा आवश्यक सर्त हो । त्यसैले, उनले सो गुणलाई नछाडिकन विकसित गरे र त्यसलाई कायम राख्न सदा प्रयत्न लगाए ।”(ऐ.ऐ पृष्ठ २२८ ।)

एक सच्चा चिन्तकमा हुनुपर्ने एकाग्रता, तल्लीनता लेनिनमा पर्याप्त मात्रामा रहेको थियो । साँचो भन्ने हो भने, उनी सैद्धान्तिक चिन्तनमा चाहिने बलियो एकाग्रचित्तताका एक उत्कृष्ट प्रतीक थिए । सो विशेषता उनको एउटा अत्याधिक महत्वपूर्ण गुण थियो । माक्र्सवादलाई नौलो चरणमा विकसित गर्नमा प्राप्त उनको महान् उपलब्धि र उनीद्वारा प्रतिनिधित्व गरिएको एउटा महान् लक्ष्यको विजयको पछिल्तिर रहेको एउटा महत्वपूर्ण तत्व उक्त गुण थियो । लेनिनसम्बन्धी संस्मरणमा नदेज्दा क्रुप्स्कायाले त्यसको उल्लेख निम्न रुपमा गरेकी छन् :

“आफू रहेको कोठामा कुनै मानिस कुरा गरिरहेको छ भने उनी लेख्न सक्दैनथे वा भनूँ, लेख्न मनपराउँदैनथे, उनलाई पूर्ण शान्ति चाहिन्थ्यो ।”(ऐ.ऐ पृष्ठ ४१३ ।)
“सामान्य, प्रधान चित्तवृत्ति (mood) तीव्र एकाग्रता थियो….”
“सवालमा डुबुल्की मार्ने, वैज्ञानिक रुपले त्यसको परीक्षण गर्ने चाहना निकै निश्चित थियो ….”
“भयानक एकाग्रतको क्षमता थियो…”
“आत्म–आलोचक, आफैप्रति ज्यादै चुस्त (exacting) थिए । तर उनी आफ्नै आत्माभित्र खोतलखातल गर्ने कुरा र विकृत आत्मविश्लेषणलाई घृणा गर्दथे….”
“उनी बहादुर र दृढ सङ्कल्पित थिए” (ऐ.ऐ पृष्ठ ४१५ ।)

जनताप्रति प्रेम, सम्मान र विश्वास
श्रमिक जनताका सच्चा नेतामा एउटा गुणको विकास हुनु आवश्यक छ । त्यो गुण के भने उसले जनतालाई आफूसँगसँगै लैजान, तिनीहरूलाई सिकाउन, सचेत तथा सशक्त पार्न र साथै जनताबाट सिक्न र तिनीहरूको अनुभवबाट आफूलाई अरु प्रबुद्ध बनाउन सक्नुपर्छ । एकले अर्कोलाई सिकाउने र एकले अर्कोबाट सिक्ने एउटा त्यस्तो उपाय हो जसले नेता, पार्टी र जनतालाई बाँधिराख्ने बलियो सूत्र र कडीको काम गर्दछ । सर्वसाधारण जनतालाई सिकाऊ र सर्वसाधारण जनताबाट सिक– लेनिनको राजनीतिक क्रियाकलापमा एउटा मूलमन्त्र त्यही थियो । लेनिन जनतालाई सिकाउनमात्र होइन, जनताबाट सिक्न पनि त्यतिकै चासो र ध्यान दिन्थे । यस सम्बन्धमा अल्बर्ट विलियमको भनाइ तल उद्धृत गरिएको छ :

“तर अर्कोतिर, कठोर जीवन र श्रमको पाठशालाबाट किसानले व्यावहारिक रुपबाट थुप्रै कुरा जानेका हुन्थे । उनीहरूसित धर्तीको ज्ञान थियो । उनीहरूले जानेको कुरा आफूले थाहा पाउन लेनिन उत्सुक थिए । सबै साँच्चिकै महान् व्यक्तिहरूझैं, लेनिन यति विनम्र थिए कि उनले अत्यधिक अशिक्षितहरूसित पनि आफूलाई दिने केही कुरा छ भन्ने बुझेका थिए । यसरी उनको सूचनाका सूत्रहरू धेरै स्थान र जनसमुदायहरूसम्म पुगेका थिए । जम्मा भएका हजारौं तथ्यहरूलाई उनी सावधानीपूर्वक तौलन्थे, केलाउँथे, विश्लेषण गर्थे । त्यसबाट उनलाई आफ्ना शत्रुहरूभन्दा बढी फाइदा हुन्थ्यो, जसको कारण उनी तिनीहरूलाई बुद्धि र चतु¥याइँमा पार्न समर्थ भए …

“साधारण जनतासित उनलाई दिने केही कुरा थिए । तिनै कुरा उनी जनतालाई स्वागत गर्न सदा तत्पर रहनाको एउटा कारण थियो । दोस्रो कारण के भने उनीसित तिनीहरूलाई दिनका लागि केही कुरा थिए– सामाजिक शक्तिहरूसम्बन्धी र क्रान्तिको रणनीतिसम्बन्धी उनको ज्ञान, समाजवाद निर्माणका लागि उनका योजना र परियोजनाहरू । अझ अर्को र अत्यधिक बलियो कारण के थियो भने लेनिन तिनीहरूलाई मनपराउँथे – मूल रुपमा तिनीहरूलाई मनपराउँथे र प्यार गर्दथे । जसरी लेनिनमा पुँजीवादका परजीवी र पिट्ठूहरू–दलालहरू,फाटकबाजहरू, चालबाजहरू र छलीहरूप्रति असामान्य घृणा थियो । त्यस्तै, अर्कोतिर, उनमा सम्पदाका उपजहरू, कोइला, ढुङ्गा र धातुका काम गर्ने मजदुरहरू, खेत र बनमा काम गर्ने मजदुरहरूप्रति असाधारण स्नेह थियो (ऐ.ऐ पृष्ठ २०२) ।
जनताबाट सिक्ने लेनिनको चासो र उत्सुकता कति तीव्र थियो भन्ने स्पष्ट पार्न अल्बर्ट विलियमले आफ्नो संस्मरणमा एउटा घटनाको उल्लेख गरेका छन् । साधारण जनतासित, मजदुर र किसानहरूसितको भेट र त्यसको लागि समय दिने कुरा लेनिनको प्राथमिकतामा परेको थियो । मानिसहरूसितको भेट र त्यसको लागि समय दिने कुरा लेनिन ठूलो समयपालक (punctual) थिए । एकपल्ट लेखक र अन्य केही व्यक्ति लेनिनले दिएको समयमा उनलाई भेट्न जाँदा भेट पाउन डेढ घण्टा पर्खिनुपरेको थियो र उनीहरूले लेनिन कुनै विशिष्ट मानिससित कुरा गरिरहेका होलान् भन्ठानेका थिए । तर, अल्बर्ट भन्छन् ः
“आखिरमा ढोका खुल्यो र मटानमा बसिरहेका सबैलाई छक्क लाग्नेगरी कोठाबाट कुनै अफिसर, कूटनीतिज्ञ र उच्च पदमा रहने प्रतिष्ठित व्यक्ति होइन, बरु भेडाको छालाको कोट र बेतको जुत्ता (boot) लगाएका एकजना झ्यापुल्ले कपाल भएका किसान– सोभियत भूमिभर लाखौंको सङ्ख्यामा भेटिने एकजना विशिष्ट गरिब किसान निस्केर आयो ।

“आफ्नो कार्यालयमा पसेर लेनिनले भने ः ‘यिनी ताम्बोबबाट आएका किसान थिए र म विद्युतीकरण, सामूहिकीकरण र नयाँ आर्थिक नीति (ल्भ्ए) बारे उनका विचारहरू सुन्न चाहन्थेँ । कुरा कति चाखलाग्दो रह्यो भने मैले समय भुसुक्कै बिर्सें (ऐ.ऐ पृष्ठ २०३) ।”

जनतालाई सिकाउनु र जनताबाट सिक्नु– यो गुण लेनिनको चरित्रमा उच्चतम मात्रामा विकसित भएको थियो । उनले कुन तथ्यलाई राम्ररी बुझेका थिए भने आफूले ग्रहण गरेको क्रान्तिकारी सिद्धान्तलाई यथार्थतामा परिणत गर्नका लागि भौतिक आधारको खाँचो पर्छ र त्यो भौतिक आधार भनेको आम श्रमिक जनताको चेतना, सङ्गठन र तागत हुन् । आफ्नो सारा प्रतिभा र जीवनको लक्ष्यलाई उनले जनताको जीवन्त हितको निम्ति सुम्पेका थिए । तसर्थ सिद्धान्त र लक्ष्यप्रति उनको जति अविचल प्रेम र आस्था थियो, त्यत्तिकै प्रेम र विश्वास जनताप्रति पनि थियो ।

लेनिनमा शोषितपीडित जनताप्रति प्रेम र सहानुभूति र शोषक तथा उत्पीडकहरूप्रति असीम घृणा अति उच्चतम मात्रामा थियो । यसलाई सामान्यतः महान् व्यक्तिको एउटा चारित्रिक गुण मानिन्छ । जनताप्रति लेनिनको सरल व्यवहार, असीम प्रेम र विश्वासको कारणले गर्दा सर्वसाधारण जनताले लेनिनलाई आफूजस्तै एउटा मानिस, आफ्नै मानिसको रुपमा हेर्दथे , डेनमार्कका मार्टिन एन्डर्सनले लेनिनसम्बन्धी संस्मरण लेखमा एकजना नर्वेजियाली मजदुरले “एकजना सच्चा मानिस छन् । ती हामीमध्येकै एकजना जस्तो लाग्छ, मात्र उनका आँखाहरू हजार गुना बढी तीक्ष्ण छन्” भने भनेर लेनिनबारे व्यक्त विचारलाई यसरी उद्धृत गरेका छन् :

लेनिन जो अपूर्व बुद्धिका मानिस थिए, उनी साधारण जनताका आवाज र दिलको धड्कनलाई ध्यान दिएर सुन्थे, उनीहरू र उनीहरूको कामलाई महत्व दिएर र साधारण मानिस र उनीहरूको श्रम नै जीवनको शिखर हो भन्ने देखाएर उनीहरूबाट सिक्थे । यो एउटै कुरा हजारौं वर्षको दुःखको लागि एउटा पुरस्कार थियो, साधारण जनताले आफू र आफ्नो जीवनबारे यति राम्ररी जानकारी राख्ने व्यक्ति पहिले कहिल्यै देखेका थिएनन् (ऐ.ऐ पृष्ठ ११९) ।”

श्रमिक जनता र तिनको तागत र रचनात्मकताप्रति लेनिनमा रहेको दृढ विश्वास उनको चरित्रको एउटा विलक्षण विशेषता थियो । शोषण तथा उत्पीडनबाट भयानक दुखकष्ट भोगिरहेका जनताभित्र ठूलो तागत र सामथ्र्य हुन्छ भन्ने कुरामा लेनिनको अटल विश्वास थियो । कोलम्बियाली लेखक लुइस तेजादाले लेनिनबाट आफूले उक्त कुरा सिकेको जिकिर गर्दै लेखेका छन् ः “लेनिनले मलाई साधारण जनताको दिलको धुकधुकीमा रहेको काव्यलाई बुझ्न र झुत्रो लुगा लगाएका र फोहोरमा बाँचिरहेका जनतामा रहेको सौन्दर्य र तागतका बीजहरूलाई देख्न सिकाए । अब मलाई कुन कुरा थाहा भयो भने सर्वहारा जनसामुदायहरूमा र अत्याधिक पददलित, अशिक्षित तथा अज्ञानी मानिसभित्र समेत मानव–प्रतिष्ठाको कण विकसित हुँदैछ । यसले मात्र मानिसलाई बहादुर, बलियो, उदात्त बन्न र उत्पीडन तथा अनादरको विरुद्ध उठ्न मद्दत गर्नसक्छ (ऐ.ऐ पृष्ठ १७४) ।”

प्रेम र घृणा यस्ता दुइटा विपरीत तत्व हुन् जसमा एकको अस्तित्व अर्कोको अस्त्विको अभावमा रहन सक्दैन । प्रेम जति मात्रामा बढी र आकारको हुन्छ, त्यत्तिकै धेरै र ठूलो घृणा हुन्छ । जो मानिसको दिलमा प्रेम हुन्छ, त्यसमा घृणा पनि हुनैपर्छ । जो मानिस दिलैदेखि आफ्नो देशलाई प्रेम गर्छ, उसले राष्ट्रघात र राष्ट्रघातीप्रति घृणा नगरिकन रहन सक्दैन । लेनिनको चरित्रमा श्रमिक जनताप्रति असीम प्रेम र शत्रुहरूप्रति अपार घृणा अभिन्न रुपमा गाँसिएको थियो । त्यो उनको एउटा विशिष्ट चारित्रिक लक्षण थियो । डेनमार्कका हैन्स सचर्फिगले आफ्नो संस्मरणमा लेखेका छन् :

“दयामाया, एकबद्धता र आफ्ना सहकर्मीहरूको सुखप्रति चासो – उनको जीवनलाई निर्धारित गर्ने यिनै कुरा थिए । अन्यायप्रति घृणा, मानवीय दुःखप्रति असहिष्णुता उनको जङ्गी नारा बन्यो । उनको जीवन–कार्यमा मानवजातिको दुःखप्रति नमेटिने शत्रुता, पृथ्वीमा खराबीको उन्मूलनको सम्भावनाप्रति उज्यालो आस्था र एउटा निश्चित आशावाद व्याप्त रहेको थियो (ऐ.ऐ पृष्ठ ३६३) ।”

जनताले भोगिरहेका दुर्भाग्य, दुःखकष्ट तथा अन्यायप्रति गहन घृणा र तिरस्कार लेनिनको अपूर्व गुण थियो । त्यसका साथै, लेनिनमा कुन कुराप्रति अगाध तथा दृढ विश्वास थियो भने आम जनतामा क्रान्तिकारी सामथ्र्य छ, तिनीहरू दुर्भाग्यहरूको उन्मूलन गर्न, विद्यमान समाजको क्रान्तिकारी रुपान्तरण गर्नसक्छन् । यस सम्बन्धमा गोर्की भन्छन् :

“मलाई लाग्छ लेनिनमाअसामान्य रुपले ठूलो मात्रामा रहेको कुरा यस्तो छ– दुर्भाग्यप्रति उनको असामान्य र नमेटिने घृणा र दुर्भाग्य जीवनको कुनै हटाउन नसकिने आधार होइन, बरु एउटा घृणित चीज हो , जसलाई जनताले आफ्नो बाटोबाट पन्छाउनुपर्छ र पन्छाउनसक्छन् भन्ने उनको प्रगाढ विश्वास ।
“उनको चरित्रको यस आधारभूत गुणलाई म एकजना भौतिकवादीको जुझारु आशावाद भन्छु (ऐ.ऐ पृष्ठ ३१) ।”

सरलता, विनम्रता र आत्मत्याग
सरलता, विनम्रता र आत्मत्याग लेनिनको एउटा प्रमुख चारित्रिक विशेषता थियो र उनी उक्त विशेषताका एक उत्कृष्ट तथा ज्वलन्त दृष्टान्त थिए । १९१८ मा गोर्कीले सोमौवो मजदुर दिमित्री पाब्लोवलाई लेनिनको प्रमुख विशिष्ट लक्षण के हो भनी सोध्दा, त्यसको जवाफमा ती मजदुरले भनेको कुरा उल्लेख गरेका छन् । उनको जवाफ यस्तो थियो ः“सरलता ! उनी सत्यजत्तिकै सरल छन् (ऐ.ऐ पृष्ठ २४) ।”

“सत्यजत्तिकै सरल” – यो लेनिनको चरित्रमा निहित एक निकै महत्वपूर्ण गुण थियो । वास्तवमा सरलता र सत्यता सँगैसँगै रहने कुरा हुन्, वास्तविक सत्य एकदमै सरल हुन्छ र सरलता सत्यको एउटा पहिचान र अभिव्यक्ति हो । झूट तथा धोकाबाजी लेनिनको चरित्रका लागि पूरै विजातीय तत्व थिए । सत्य कुरा बोल, सत्य बोल्नुमा हाम्रो विजय छ भन्ने कुरामा लेनिनको दृढ विश्वास थियो । एकपल्ट जीनोविवसितको कुराकानीको सिलसिलामा लेनिनले भनेका थिए ः “हाम्रो कार्यनीति भनेको सर्वसाधारण जनतालाई साँचो कुरा बताउनु हो । सत्य हाम्रो फाइदाको लागि नभए पनि सत्य बताउनैपर्छ ः, अनिमात्र जनताले हामीलाई विश्वास गर्नेछन् । यदि हामी सधैँभरि, इतिहासका सबै नागबेलीहरूमा आमजनतालाई सत्य बताउँछौं भने, यदि हामी इच्छालाई कार्य ठान्दैनौं भने, यदि हामी तथाकथित ‘कार्यनीतिक फाइदा’ को लागि जनतालाई झूटो बताउँदैनौं भने हामी अजय हुनेछौं (इ. काजाकेविक,“नीलो पुस्तक, पृष्ठ २२ बाट उद्धृत) ।”

इमानदारी र निष्कपटता लेनिनको अर्काे निकै प्रशंसनीय चारित्रिक गुण थियो । उनको इमानदारी र निष्कपटता एकदमै अद्वितीय खालको थियो र आफ्ना कमरेड र मित्रहरूप्रति उनी सदा इमानदार र निष्कपट रहेका थिए । उनी आफूलाई ठीक लागेको कुरा स्पष्ट र खुलस्त रुपमा भन्थे, उनी एकदमै स्पष्टवक्ता थिए । बेइमानी, झूट, शब्दजाल आदिप्रति उनको ठूलो घृणा थियो । आफ्ना विरोधी वा शत्रुप्रति समेत उनको निष्कपट व्यवहार हुनेगथ्र्यो । उनको त्यसप्रकारको व्यवहारको दृष्टान्तको रुपमा अल्बर्ट विलियमले एउटा घटना उल्लेख गरेका छन् । उनी भन्छन् :

“उनी आफ्ना खुला शत्रुहरूप्रति समेत पनि निष्कपट छन् । उनको असाधारण निष्कपटताबारे टिप्पणी गर्दै एकजना अङ्ग्रेजले लेनिनको पारा निम्न प्रकारको रहेको बताउँछन् ः ‘व्यक्तिगत रुपमा मलाई तपाईंको विरुद्ध केही भन्नु छैन । तर राजनीतिक दृष्टिले तपाईं मेरो शत्रु हुनुहुन्छ, र तपाईंको सरकार मेरोविरुद्ध त्यस्तै काम गर्छ । अब, हामी कतिसम्म सँगसँगै जानसक्छौं, हेरौं ।”

“उनका सबै सार्वजनिक वाचनहरूमा यस्तो निष्कपटताको छाप रहेको छ । लेनिनमा स्वाङ, चम्किलो वाक्छल, सफलता–मनोविज्ञानजस्ता राजनेता–राजनीतिज्ञले प्रयोग गर्ने सामान्य सरजाम पाईंदैन । जो कोहीलाई पनि कस्तो लाग्यो भने आफूले चाहे पनि उनी अरुलाई धोका दिन सक्दैनथे । त्यही कारणले गर्दा उनी आफैंलाई धोका दिनसक्दैनथे ः उनको वैज्ञानिक चित्रवृत्ति, तथ्यहरूप्रति उनको उत्कण्ठ (लेनिनको चरित्र–चित्रण,” पृष्ठ ७५) ।”

लेनिनमा सामान्यतः पँुजीवादी तथा निम्न पुँजीवादी राजनीतिज्ञहरूमा पाइने शब्दजाल, फाइँफुट्टी, स्वाँगीपन, धाकधम्की, लोकाचार, अहँभाव आदि दुर्गुणहरूको लेसमात्र पनि थिएन उनमा । उनका भाषण तथा बोली वचन एकदम स्पष्ट, सरल र खरो किसिमका हुन्थे । त्यसबारे नदेज्दा क्रुप्स्काया यसो भन्छिन् ः
“उनको चालढालमा कुनै भावभङ्गिमा, वैचित्य, नाटकीयता वा स्वाँगीपन थिएन ।”

उनको बोल्ने ढङ्ग सरल थियो, चेपारे वा नाटकीय थिएन “उनको बोलाइमा फ्रान्सेली ढङ्गमा हुने ‘प्राकृतिक कृत्रिमता’ थिएन, ‘गाइने पारा’ को स्वभाव कुनै पनि थिएन … न त त्यसमा अङ्ग्रेजी पाराको कुनै रुखोपन, जडता, निरसता थियो–उनको ढङ्ग उक्त अतिको बीचमा कहीं रहेको रुसी बोलाइ थियो (ऐ.ऐ पृष्ठ ४१०) ।”
हामी अक्सर ठूलाबडा व्यक्तिहरूमा बडापन भाव, अहङ्कार, व्यक्तिपूजाको भाव रहेको पाउँछौं । लेनिनको व्यक्तित्वमा ती दुर्गुणहरूको कुनै चिन्ह थिएन, बरु उनको सम्पूर्ण व्यवहारमा सरलता प्रमुख तत्व रहेको थियो । उनमा आत्मविज्ञापन गर्ने, आत्मप्रशंसा गर्ने, आफूलाई ठूलो ठान्ने प्रवत्ति लेसमात्र पनि थिएन । डेनमार्कका लेखक हान्स सचर्फिग लेख्छन् :

“लेनिनको प्रतिभाका लागि सारा सनसनीपूर्णता, लहडीपन तथा उट्पट्याङ विजातीय छन्, हरेक कुराले उनी यथार्थ (dowmgo-earth) मानिस रहेको तथ्यलाई इंगित गर्छ । उनमा महानता आधारभूत मानवीयतासित, सबैले बुझ्ने चहकिला विचारहरूसहितको विनम्रता, सरलता र दयासित गाँसिएको थियो । उनी कुनै अपूर्व महामानव थिएनन्, बरु एक साधारण मानवीय प्राणी थिए, जसमा संसारलाई थाम्ने श्रम गर्ने सच्चा मानिसहरूका सर्वोत्तम चारित्रिक विशेषता तथा प्रतिभाहरू मूर्तमान थिए ((ऐ.ऐ पृष्ठ ३६२) ।”

विनम्रता बोल्सेविकको एउटा गहना रहेको स्टालिनले बताएका छन् । वास्तवमा विनम्रतालाई सच्चा कम्युनिष्टहरूको एउटा चरित्रगत लक्षण मानिन्छ र घमण्ड तथा फाइँफुट्टीलाई तिनको लागि पूरै विजातीय ठानिन्छ । लेनिन विनम्रताको एउटा आदर्श प्रतिमूर्ति थिए । स्टालिनले आफ्नो लेख “लेनिन” मा डिसेम्बर १९०५ मा फिनलैन्डमा भएको बोल्सेविक सम्मेलनमा आफूले देखेको एउटा दृश्यको उल्लेख गरेका छन्, जसमा लेनिनको विनम्रता व्यक्तिएको थियो । उनले लेखेका छन् :

“कुनै ‘महान् व्यक्ति’ सभाहरूमा अबेर पुग्नु साधारण कुरो मानिन्छ, जसले गर्दा सभा उसको आगमनका लागि संयमित रुपले बसेको हुन्छ, अनि सो महान् व्यक्ति पस्नुभन्दा ठीक अघि चेतावनीपूर्ण कानेखुसी चल्छ ः ‘हे चुप ! उनी आइरहेछन् ।’….तर लेनिन प्रतिनिधिहरू पुग्नुभन्दा पहिले नै सम्मेलनमा पुगेर एउटा कुनामा बसी सम्मेलनमा आएका सबभन्दा साधारण प्रतिनिधिहरूसँग कुराकानी गरिरहनुभएको थियो । यो कुरा थाहा पाउँदा त्यसबेला म ज्यादै निराश भएँ …
“पछिमात्र मैले कुन कुरो बुझें भने यो सरलता तथा विनम्रता, कसैको ध्यान आकृष्ट नगर्ने अथवा कमसेकम आफूलाई विशिष्ट नपार्ने र आफ्नो उच्च स्थानमाथि बल नदिने यी प्रयास नै नयाँ जनगणनाको, मानवजातिका सबभन्दा सीधासादा जनगणको नयाँ नेताको रुपमा लेनिनको एउटा सबभन्दा बलियो विशेषता थियो (“स्टालिनका छानिएका रचनाहरू”, नेपाली संस्करण, पृष्ठ ४१०) ।”

लेनिनका उपरोक्त चारित्रिक विशेषताहरू, जुन उनको अरुहरूसितको सम्बन्ध र व्यवहारमा स्पष्टसित झल्किएका थिए, तिनबारे उनकै जीवनकालमा उनका सहयोद्धाहरूमाझ चर्चा हुने गथ्र्यो र तिनीहरू तिनलाई उनको महानताको एउटा चिन्ह ठान्दथे र तिनको प्रशंसा गर्थे । इं. काजाकेविले लेनिनको गुणको बारेमा उनका साथीहरूले चर्चा गरिरहेको बेलाको कुरा यसरी उल्लेख गरेका छन् :

“उनीहरू लेनिनको बारेमा कुरा गर्दै गए, र तिनीहरूमाझ प्रत्येकले लेनिनमा भएका त्यस्ता गुणहरूबारे चर्चा गरे जुन गुणहरू उनीहरूले आफैंमा हुनुमा बहुमूल्य ठान्थे ।
“स्वेर्दलोवले भने : उनी विनम्र र अहङ्कारबाट बिलकुल मुक्त छन् । नेतामा त्यस्तो गुण ज्यादै विरलै पाइन्छ ।’
“जार्झिब्स्कीले भने : ‘उनी सफा प्रकाशका साथ चिरागझैं बल्छन् ।’
“स्वेर्दलोवले भने : ‘उनी कृपालु र दयालु छन् ।’
“जार्झिब्स्कीले भने : ‘उनी शत्रुहरूप्रति मात्र कठोर छन्’ (इ. काजाकेविक, “नौलो पुस्तक”, पृष्ठ ६६–७) ।”

सादा जीवन र उच्च चिन्तन लेनिनको सम्पूर्ण जीवनको एउटा उच्च आदर्श थियो । तत्कालीन रुसका आम श्रमिक जनता, गरिब जनताले जुन किसिमको कठिन र अभावग्रस्त जीवन बिताएका थिए, उनले पनि त्यस्तै जीवन बाँचेका थिए । उनको जीवन कदापि सजिलो र सुविस्ताजनक थिएन, बरु उनको जीवनका कालखण्डहरू बिलकुल सादा र कठिन थिए । त्यसो भए पनि उनले त्यसको कुनै वास्ता गरेनन् र त्यसबारे कुनै गुनासो पनि गरेनन् । त्यसबारे हेनरी बार्बुस्सेले लेखेका छन् :

“भ्लादिमिर इलिचले एक गरिब मान्छेको जीवन बाँचेका थिए । ज्यादै विरल स्थितिमा तर नियमित रुपले होइन, आफू अत्यधिक दारुण कठिनाइको स्थितिमा हुँदा उनले पार्टीबाट पैसा लिन सकार्दथे । कहिलेकाहीं उनकी आमाले विधवा स्कूल निरीक्षकको हैसियतले पाएको आफ्नो भत्ताबाट केही पैसा पठाइदिन्थिन् । नत्र भने उनी आफ्ना व्यक्तिगत आवश्यकताहरू पूरा गर्न आफ्नै प्रयत्नबाट पैसा कमाउँथे (“लेनिनको चरित्र–चित्रण,” पृष्ठ २२६) ।”

लेनिनको जीवनमा उनले जुन महान् लक्ष्य लिएका थिए सो लक्ष्यको लागि आफ्नो सुखसुविस्ताको त्याग र सो लक्ष्यप्रति पूर्ण समर्पण गरेका थिए । उनी जनताको मुक्ति र सुखप्राप्तिका लागि महान् आत्म–त्यागको उत्कृष्ट आदर्श र दृष्टान्त थिए । उनी आफ्नो राजनीतिक जीवनमा मात्र होइन, आफ्नो व्यक्तिगत जीवनमा पनि कम्युनिस्टयोग्य कठोर अनुशासन, उच्च नैतिकता र आत्म–संयम परिपालनका अनुपम दृष्टान्त थिए । तल अल्बर्ट विलियमद्वारा लिखित संस्मरण लेखबाट अलि लामो उद्धरण प्रस्तुत गरिएको छ, जसले लेनिनको आत्म–यागलाई राम्ररी खुलस्त पार्छ । उनले लेखेका छन् :

“…. अरुहरूले जति खुराकी पाउँथे, लेनिनले लिने खुराकी पनि त्यति नै थियो । सैनिक जवान र दूतहरू ठूला, रिक्त, ब्यारेकजस्ता कोठाहरूमा फलामे खाटमा सुत्थे । लेनिन र उनकी श्रीमती पनि त्यसै गर्थे । व्यक्ति भएर, उनीहरू अक्सर लुगा नफुकालिकन, कुनै पनि अपरझटमा उठ्न तयार भएर आफ्नो कडा कवचमा पल्टन्थे । लेनिनले कुनै वैरागी प्रेरणाबाट यस्तो दुःख उठाएका थिएनन् । उनी कम्युनिज्मको पहिलो सिद्धान्तलाई व्यवहारमा उतारिरहेका मात्र थिए ।”
उनी अगाडि लेख्छन् :

“उनको ज्यान मार्ने प्रयत्नपछिका दिनहरूमा उनी मृत्युनिकट हुँदा, चिकित्सकहरूले नियमित रासन–कार्डमा नभएको र कुनै फौबञ्जारबाट बजारमा मात्र किन्न सकिने केही चीज खान निर्देशन दिए । आफ्ना मित्रहरूले निकै अनुरोध गर्दा पनि, उनले विधिवत् रासनको हिस्सा नभएको कुनै पनि चीज छुन इन्कार गरे ।

“पछि लेनिन स्वास्थ्यलाभ गरिरहँदा, उनकी श्रीमती र बहिनीले उनको पोषण बढाउनका लागि एउटा योजना सोचे । उनले आफ्नो भागको रोटी घर्रामा राख्ने गरेको थाहा पाएर, उनीहरूले उनको अनुपस्थितिमा उनको कोठाभित्र पसेर उनको खानामा सधैं एक टुक्रा राखिदिने गरे । आफ्नो काममा तल्लीन रहेका लेनिन घर्रामा पुगेर एक टुक्रा लिन्थे र नियमित रासनमा थपेको भनेर थाहा नै नपाई खान्थे (ऐ.ऐ. पृष्ठ ६७, ६८) ।”

१९१८ र १९१९ का वर्षहरूमा रुसका आम जनताले निकै कठिन जीवन बिताउनु परेको थियो र लेनिनले पनि त्यस्तै जीवन बिताए । त्यसताका लेनिनलाई गाउँबाट अक्सर गरेर मासु, फलफूल, तरकारी उपहारस्वरुप आउँथ्यो । ती सबै चीजलाई लेनिन अस्पताल र बालगृहहरूमा पठाउने गर्थे । लेनिनको त्यस्तो चाला देखेर एकपल्ट उनकी बहिनी मेरिया इल्यीबिच्नाले उनलाई ती चीजमध्ये केही आफूलाई राख्न भनिन्, किनभने सबै अरुलाई पठाइदिँदा उनी कमजोर भएर काम गर्ननसक्ने होलान् भन्ने कुरा उठ्यो । त्यसको जवाफमा लेनिनले यसो भने ः “मजदुर र तिनका केटाकेटीहरू भोको रहेको थाहा पाउँदा–पाउँदै म खान सक्दिनँ (हेर्नुहोस्,(ऐ.ऐ. पृष्ठ ६७, ८९ ) ।”

लेनिनको चरित्रमा निहित उपरोक्त गुणहरू सच्चा सर्वहारा क्रान्तिकारी योद्धामा पाइने गुण थिए । त्यसबारे म्याक्सिम गोर्कीले निम्न विचार व्यक्त गरेका छन् ः
“असाधारण रुपले बलियो सङ्कल्पशक्ति भएको एउटा मानिस, लेनिन सबभन्दा राम्रा क्रान्तिकारी बुद्धिजीवी समुदायमा पाइने गुणहरूले सर्वोत्कृष्ट मात्रामा सुसज्जित थिए जस्तो कि अक्सर आत्म–यातनासम्म उठ्ने आत्म–सीमितता, आत्म–आशक्तीकरण, राखेमेतोवका नङ चतु¥याइँको अस्वीकृति, लियोनिद आन्दे्रयेवको नङ्ग्रा, ‘जनता दुःखी जीवन बिताइरहेका हुनाले मैले पनि दुःख गरेर रहनुपर्छ’ भन्ने तर्क (ऐ.ऐ. पृष्ठ ४१) ।”
त्यसरी, सरलता, विनम्रता र आत्म–त्याग, जुन सर्वहारा वर्गका राजनीतिक प्रतिनिधि रहेका कम्युनिष्टहरूको चरित्रमा उच्चतम र सर्वोत्कृष्ट रुपमा रहेका थिए । त्यसमा नै लेनिनको महानता रहेको थियो र आमश्रमिक जनताले उनलाई साँच्चिकै आफ्नै मान्छेको रुपमा लिनुको मुख्य कारण त्यही थियो । कुनै नेतामा उक्त चारित्रिक विशिष्टताहरू हुनु नै उनी सच्चा कम्युनिष्ट नेता हुन् भन्ने कुराको निस्सा (दसी) हो । एकजना रुसी कवि बर्दी कर्बाबायेब आफ्नो एउटा कवितामा यस्तो विचार व्यक्त गर्छन् :

It lies, Vladimir Lenin’s Greatness

In that, to the last word,we find

Him plain and true, and thereforte deahless

And hence,for ever with mankind (ऐ.ऐ. पृष्ठ ४१ ) ।

भावार्थ : अन्तिम रुपमा, हामी लेनिनमा सादगी र सच्चाइ पाउँछौं र त्यसमा नै उनको महानता रहेको छ र त्यसैले उनी अमर छन् र त्यसैले उनी सदा मानवजातिको साथमा छन् ।

एक सच्चा नेता (कार्यकर्ताप्रतिको दृष्टिकोण)
आफ्ना कमरेडहरूप्रति, आफ्नो सम्पर्कमा आएका र आफूले सम्पर्कमा ल्याएका व्यक्तिहरूप्रति कस्तो नीति अपनाइन्छ र कस्तो खालको व्यवहार गरिन्छ, यो कुरा कम्युनिष्ट नेताको पहिचानको एउटा कसी हो । यस कसीको आधारबाट हेर्ने हो भने लेनिन एक निकै उच्च र महान् नेता रहेको तथ्यलाई सजिलैसित बुझ्न सकिन्छ । कार्यकर्ताप्रतिको लेनिन दृष्टिकोण र नीति सदा साथीत्वपूर्ण, सहानुभूतिपूर्ण र सहयोगात्मक रहेको थियो । म्याक्सिम गोर्की भन्छन् ः
आफ्नो जीवनमा, भ्लादिमिर इलिच सरल, जनवादी तथा आफ्ना कार्यकर्ताहरूप्रति सहानुभूतिक थिए । उनी अटेरी ठिटोको पनि खिसी गर्दैनथे…महान् व्यक्तिहरूमात्र यत्तिको सरल रहन समर्थवान् रहन्छन् र अक्सर लेनिनको बारेमा सोच्दा, मैले आफैंसित सोध्ने गरेको छु ः सायद, व्यक्तिपूजा महान् व्यक्तिको लागि विजातीय र घिनलाग्दोसमेत हुन्छ कि ?
“लेनिन एक महान् तथा जटिल मानिस थिए (पूर्ववत्, पृष्ठ १७५) ।”

मानिसहरू एकअर्कोबाट विभिन्न दृष्टिबाट भिन्न छन् । आफूमा रहेको क्षमता तथा योग्यता, आफ्नो उमेर व्यक्तिगत रुचि तथा चरित्र आदिमा तिनीहरू एकअर्कोबाट फरक छन् । साँचो भन्ने हो भने, तिनीहरू एउटै कुरामा मात्र समान छन्– त्यो कुरा के भन्ने तिनीहरू मानिस हुन् र तिनीहरूको अस्तित्व छ । एकजना सच्चा नेताले तिनीहरूका गुणअवगुण, तिनीहरूका योग्यता, क्षमता र रुचि, आदिको पहिचान गर्नु आवश्यक हुन्छ । त्यसको अर्थ हो, नेतामा व्यक्तिलाई ठोस रुपमा चिन्ने क्षमता हुनुपर्छ । लेनिनमा त्यस्तो क्षमता प्रचुर मात्रामा थियो । त्यस क्षमता उनले कामदारहरूसितको आफ्नो निरन्तरको सम्पर्क, मानिसहरू र तिनको आवश्यकताप्रतिको उचित दृष्टिकोण, उनीहरूसित आफूलाई एकाकार पार्ने गुण आदिद्वारा प्राप्त गरेका थिए । यस सम्बन्धमा आफ्नो लेख “लेनिनको पाइला पछ्याउँदै” मा मेरोत्ता सागिन्यान लेख्छन् :

“मानिसहरूसित सम्पर्क गर्ने, उनीहरूलाई बुझ्ने, उनीहरूबाट सिक्ने, उनीहरूलाई प्रभावित गर्ने लेनिनमा जुन क्षमता थियो, उनमा त्यसको विकास उनीहरूसितको प्रयत्नशील तथा अथक कामको क्रममा, उनीहरूको अध्ययन गर्ने उनीहरूको बीचमा रहने र उनीहरूका आवश्यकतालाई बुझ्ने तीव्र इच्छा र जिम्मेवारबाट भएको थियो । उनी कहिले पनि कुनै व्यक्तिलाई पन्छाउन, उसको आसन्न आवश्यकताको बेवास्ता गर्नसक्दैनथे । मानिसहरूसितको आफ्नो व्यावहारिक गतिविधिमा, लेनिन प्रमुख रुपले मानिसहरूको मनोवृत्ति बुझ्नका लागि किताबहरूको, साहित्यिक कृतिहरूको जाँचपड्ताल गर्थे… साँच्चिकैको महान् साहित्यको मनोवैज्ञानिक अध्ययनले मानिससम्बन्धी लेनिनको बुझाइलाई तीव्ररुपमा बढायो (“लेनिनको चरित्र–चित्रण”, पृष्ठ ४७) ।”

मानिसहरूप्रतिको लेनिनको दृष्टिकोणमा एउटा महत्वपूर्ण तत्व के रहेको थियो भने उनी हरेक व्यक्तिमा कुनै न कुनै बहुमूल्य गुण हुन्छ भन्ने मान्यता राख्दथे र त्यस आधारमा उसको मूल्याङ्कन र प्रशंसा गर्दथे । कुनै व्यक्ति कुनै कारणवश मननपरेको हुनसक्थ्यो, तर पनि उनी उसमा राम्रो गुण छ भने उसको सम्मान गर्दथे । व्यक्तिमा अन्तर्निहित गुण पत्ता लगाउने र सो गुणको आधारमा त्यसको क्षमतालाई बुझ्ने कलामा लेनिन निपुण थिए । म्याक्सिम गोर्कीले मानिसलाई चिन्ने र त्यसको गुणलाई महान् लक्ष्यमा प्रयोग गर्ने लेनिनको क्षमतालाई दर्साउन एउटा दृष्टान्त प्रस्तुत गरेका छन् ।
लेनिनले ट्राटस्कीको प्रशंसा गरेको प्रसङ्गमा गोर्की भन्छन् :

“लेनिनले ट्राटस्कीको सङ्गठनात्मक सामथ्र्यको उच्च प्रशंसा गरिरहेको सुनेर मलाई निकै आश्चर्य लाग्यो र भ्लादिमिर इलिचले उनको सो गुणलाई देखेका थिए ।”
अनि गोर्कीेले लेनिनको निम्न भनाइ उद्धृत गरेका छन् :

“हो, मलाई थाहा छ, उनीसितको मेरो सम्बन्धबारे केही झूटहरूको प्रचार गरिदै छ । जुन कुरा साँचो हो, त्यो साँचो नै रहन्छ, नहुने÷नभएको कुरा, हुन पनि सक्दैन र त्यो मलाई पनि थाहा छ । एउटा कुरा के छ भने उनले हाम्रा सैनिक विशेषज्ञहरूको सङ्गठन गर्ने चाँजोपाँजो मिलाए ।

“तर अझ पनि उनी हाम्रा होइनन् । उनी हाम्रो साथमा छन् तर उनी हामीमध्येका एकजना होइनन् । उनी महत्वाकाङ्क्षी छन् र उनमा लास्सालको जस्ता केही खराब कुरा छन् …. (ऐ.ऐ. पृष्ठ २८४)”

लेनिन मानिसहरूप्रति निकै ध्यान दिने र गम्भीरताका साथ सोच्ने गर्दथे र उनमा व्यक्तिभित्र भएका योग्यता र क्षमतालाई देख्न सक्ने गहन अन्तर्दृष्टि थियो । “लेनिनप्रति समर्पण Lines of Lenin)” शीर्षकको आफ्नो कवितामा लेनिनको सो विशेषताबारे पाब्लो नेरुदाले लेखेका छन् :

He peered into a man
as if
man were a mineral yet unknown
which he, Lenin, had discovered,
and was now going to extract
water from the well,
to draw the people’s hidden treasure
so that everything should sprout and be born
and the people be worthy of their time and earth. ( पूर्ववत्, पृष्ठ १७७) ।”

भावार्थः “उनी मानिसभित्र यसरी चियाएर हेर्थे, मानांै मानिस भनेको अहिलेसम्मको अज्ञात रहेको कुनै खनिज पदार्थ हो, जसको लेनिनले पत्ता लगाएका थिए र अब उनी इनारबाट पानी तानेझैं, मानिसहरूको लुकेको धनसारबाट, सर्वशक्तिमान ज्योति निकाल्न गइरहेका थिए, जसले गर्दा हर चीज टुसाएर पैदा हुनेछ र मानिसहरू आफ्नो समय र भूमिको योग्य बन्नेछन् ।”

कार्यकर्ताहरूप्रति व्यवहारको सम्बन्धमा लेनिनको नीति मुख्य रुपमा उनीहरूलाई शिक्षित पार्नेतर्फ परिलक्षित रहेको हुन्थ्यो । त्यो नीति वास्तवमा शिक्षकको नीति थियो, जसको उद्देश्य अवमूल्यन गर्नु, उसमा भएका खराब प्रवृत्तिहरूलाई उकास्नु वा बढाउनु होइन, बरु उसका राम्रा गुणहरूलाई बढाउनु थियो । लेनिनले कहिले पनि कुनै व्यक्तिलाई उसमा रहेका अवगुणलाई प्रोत्साहित गरेर, उसमा भएका लोभलालचजस्ता नीच प्रवृत्तिलाई उस्काएर पार्टीमा भर्ती गर्न खोजेनन्, बरु उसलाई उसको आफ्नो प्रतिष्ठाप्रति सचेत पारेर भर्ती गर्ने तरिका अपनाएका थिए । कसैको गलत प्रवृत्तिलाई लिएर लेनिनले गर्ने आलोचना पनि उसलाई ठीक दिशामा रुपान्तरित गर्नुहुन्थ्यो । लेनिनको उक्त तरिकाबारे “लेनिनको पाइला पछ्याउँदै”मा सागिन्याना लेख्छन् :

“तर पार्टी कार्यकर्ताहरूको शिक्षामा लेनिनको सबभन्दा प्रभावकारी साधन भनेको व्यक्तिको प्रतिष्ठामा चोट नपु¥याउने मात्र होइन, बरु उसको प्रतिष्ठालाई उठाउने र जब्बर पार्ने उनको सामथ्र्य हो ।… लेनिनले मजदुरहरूमा ‘बेलायतमा भावी क्रान्तिको प्रेरक शक्ति’ देखे । आफ्नोतर्फबाट क्रुप्स्कायाले भनिन् ः “लेनिनले सधैंभरि त्यस्तो साधारण बृटिश मजदुरमा आशा राखे जसले , सारा कुरा हुँदा–हुँदै पनि, आफ्नो वर्गीय सहजज्ञान कायम राखेको हुन्छ” । एउटा बलियो समूहमा रहेको भावनामा आधारित र साझा दैनिक श्रमको क्रममा निर्मित मजदुरको वर्गीय सहजज्ञान प्रतिष्ठाको भावनासित घनिष्ठ रुपल गाँसिएको थियो र त्यो सहजज्ञान दासता, चापलुसी, कायरता वा हठी आत्म–विश्वाससित नमिल्दो थियो, त्यस्तो विश्वस्त अविचल प्रतिष्ठा र अर्कोतिर अहँकारी फाइँफुटी, आत्ममहत्व, घमण्ड, हठीपन र स्वार्थीपनको बीचमा नाघ्नै नसकिने खाडल रहेको छ । यदि कोही व्यक्ति मानिसहरूको नेतृत्व गर्न र तिनीहरूलाई प्रभावित पार्न चाहन्छ भने त्यसले उपरोक्त चीजहरूका बीच अत्यधिक सूक्ष्म भेद गर्न सक्नैपर्छ । अहङ्कारका सारा अभिव्यक्तिहरूमाथि रोक लगाइनुपर्छ, पार्टी सदस्यहरूमा तिनको उन्मूलन गरिनुपर्छ, अर्कोतिर, शान्त प्रतिष्ठायुक्त व्यक्तिहरूलाई निडर रुपले स्वतन्त्र फैसला गर्नसक्ने व्यक्तिहरूलाई पार्टी–पङ्क्तिमा आफ्नो आँखाको नानीजस्तै गरी संरक्षित गर्नु आवश्यक छ । ” ( पूर्ववत्, पृष्ठ १७८ ।)

कुनै व्यक्तिको योग्यता र क्षमतालाई पत्ता लगाउने गुण लेनिनको चरित्रमा रहेको एउटा आधारभूत लक्षण थियो । अहँभाव र आफू ठूलोको अहङ्कारको पूर्ण अभाव र आफ्नोजस्तै अरुको अस्तित्व पनि विद्यमान छ भने सचेतना त्यसको पछाडि रहेका प्रेरक तत्व थिए । मानिसहरूसित लेनिनको सम्बन्धमा रहेको मुख्य कुरा तिनीहरूको योग्यताको प्रस्फुटन गर्न सहयोग गर्ने र तिनीहरूलाई शिक्षित पार्ने उद्देश्य थियो । यसमा लेनिनको मुख्य उद्देश्य तिनीहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु र अनि पन्छाउन थिएन, बरु, तिनीहरूको योग्यताको उचित उपयोगद्वारा तिनीहरूको प्रतिष्ठालाई बढाउनु र तिनीहरूलाई शिक्षित पार्नु थियो । शोषक प्रवृत्ति भएका र अहँकारी नेतृत्वकारी व्यक्तिद्वारा अपनाइने, मानिसलाई आफ्नो स्वार्थ–सिद्धिको साधन बनाउने तरिकाको बिलकुल विपरीत लेनिनको तरिका थियो । यसलाई मेरीत्ता सागिन्यानाले निम्न शब्दमा प्रस्तुत गरेका छन् :

“कुरा जेसुकै होस् ः बोल्सेविकहरूको निडरताका साथ कुन कुरालाई मान्नैपर्छ भने व्यक्तिलाई साधनमा फेर्ने उक्त तरिका कहिले पनि, अलि पनि लेनिनलाई स्वीकार्य थिएन । उक्त तरिका स्वभावैले गम्भीर रुपले लेनिनवाद–विरोधी थियो । पार्टी सङ्घर्षमा उच्चतम रुपले सैद्धान्तिक रहनु, जरैसम्म गएर पार्टीका गल्तीहरूलाई खुलस्त पार्नु, जोकोहीसित साँचो कुरा बोल्नमा कहिले नहिच्किचाउनुका साथै लेनिनले कहिले पनि कुनै व्यक्तिलाई एउटा साधन (शैक्षिक दृष्टिले उसलाई प्रभावित पार्ने सम्भावनालाई छाडेर ) बनाएनन्, सो व्यक्तिलाई सदा एउटा लक्ष्यका रुपमा (उसलाई रुपान्तरित गर्ने, शिक्षित पार्ने र विकसित गर्ने सम्बन्धमा ) व्यवहार गरे । तसर्थ, कुनै व्यक्तिको अपमान गर्नु, उसको अवमूल्यन हुने र उसको प्रतिष्ठा गुम्ने गरी गहन रुपले उसको अपमान गर्नु सबभन्दा अस्वस्थ खालको शिक्षा हो । यस्तो अपमान–कडा शब्दमा यसलाई मानहानि भन्न सकिन्छ–यस्तो मानहानिले मानिसलाई खतम पार्छ, उसको स्नायुप्रणालीमा नोक्सान गर्छ वा उसलाई कमारो, पाखण्डी, मतलबी र चापलुसी फेर्छ ।” (“लेनिनको चरित्र–चित्रण”, पृष्ठ ११० ।)

लेनिनको व्यवहारमा कुनै आडम्बर थिएन, कुनै साधुबिरालोपन थिएन । जो व्यक्तिहरू लेनिनसित भेटी कुरा गरेर फर्कन्थे, उनीहरू केही महत्वपूर्ण ज्ञान, कुनै राम्रो कुरा वा प्रेरणा पाएको अनुभव गर्थे । लेनिनको सम्पर्कमा आएका व्यक्तिहरूलाई उनीहरूभित्र रहेको राम्रो गुण खुलस्त भएको अनुभूति हुन्थ्यो । फ्रान्सेली कवि पौल वाइलैन्ट कौटुलिएर लेख्छन् ः

“भ्लादिमिर इलिच स्वयं क्रियाशील थिए र साथै उनी एक पूर्ण माक्र्सवादी थिए । उनीसितको सम्पर्कबाट तपाईंको मनमा जुन छाप परेको हुन्छ, त्यसलाई एउटा गुम्सेको कोठाभित्र हावाको एउटा झोक्का छुट्टेर पसेको सित तुलना गर्न सकिन्छ । त्यसले पूर्वाग्रह तथा जडवत् सिद्धान्तहरूमा जेलिएको मस्तिष्कलाई ताजगी प्रदान गथ्र्यो ।” (पूर्ववत्, पृष्ठ ११० ।)

भविष्यका मानिस
महान् सिद्धान्तकार र महान् राजनीतिक नेताको रुपमा लेनिनका सारा क्रियाकलापहरू श्रमिक मानवजातिको मुक्ति तथा सुखका लागि, विद्यमान समाजको क्रान्तिकारी रुपान्तरणद्वारा नयाँ, कम्युनिष्ट समाजको निर्माणको महान् लक्ष्यमा केन्द्रिभूत र समर्पित रहेका थिए । उनको सम्पूर्ण जीवन–कार्य श्रमिक जनताको शोषण–उत्पीडनप्रति तीव्र विरोध, शोषणमुक्त नयाँ संसारको निर्माणको सम्भावनाप्रति अविचल विश्वास र क्रान्तिकारी आशावादबाट ओतप्रोत रहेको थियो । उनी आम श्रमिक जनताद्वारा अधिकतम रुपमा सम्मान र श्रद्धा गरिएका व्यक्ति थिए र तिनीहरू उनलाई आफ्नै मान्छे, आफ्नै एउटा हिस्सा ठान्थे । फ्रान्सका पौल वाइलेन्ट–कोटुरियरले आफूमाथि परेको लेनिनको छापबारे निम्न विचार व्यक्त गरेका छन् :

“बुद्धिजीवी लेनिन एकजना मजदुरले सोचेजस्तै सोच्न सक्थे । वक्ता लेनिन खोक्रा वाक्यांश र आडम्बरी शब्दहरूको प्रयोगबिना कुरा गर्दथे । यो मान्छे जसले संसारलाई हल्लाइदिए, यस्तो मान्छे जसले संसारले भोगेको सारा कुरालाई आफ्नै चेतनामा पुनर्जीवित गरे–यस मान्छेले चिनियाँ कुल्ली वा हब्सी ढोकेको जस्तै अनुभूति र चिन्तन गर्ने आफ्नो अद्भूत क्षमतालाई आखिरीसम्म कायम राखे । पददलित अन्नामिटहरू र हिन्दूहरू उनको लागि पेट्रोग्राड धातु मजदुर, पेरिसका कपडा बुनाइ मजदुर वा भर्जिनियाका खानी मजदुर जत्तिकै बोधगम्य थिए, एउटा खुला पुस्तक थिए । लेनिन मानवको एउटा उत्कृष्ट नमुना थिए र हाम्रो लागि उनी भविष्यको मानिसका लागि आदर्श नमुना थिए ।” (पूर्ववत्, पृष्ठ १९६ ।)

माथि हामीले लेनिनको चरित्रका जुन विशिष्ट लक्षणबारे चर्चा गरेका छौं, ती गुणहरूको उपस्थितिको कारणले गर्दा उनी साँच्चिकै भविष्यका मानिसका नमुना थिए, भविष्यमा स्थापित हुने कम्युनिष्ट समाजको मानिसको प्रतिमूर्ति थिए । लेनिनको व्यक्तित्वमा महान् मस्तिष्क र महान् दिलको अपूर्व मेल (एउटा अङ्ग्रेजी कवि ज्याक लिन्दसेको शब्दमा, “मस्तिष्क र दिल भरिपूर्ण समन्वयमा”) रहेको थियो, विशाल बुद्धि तथा प्रतिभा र जनमुक्तिको लक्ष्यप्रति उत्कृष्ट समपर्ण, जनशत्रुप्रति अपार घृणा र जनताको विजयप्रति दृढ विश्वास, उच्च विवेक र सरलता, विनम्रता, सत्यप्रति निष्ठा तथा कमरेडी भावनाको अनुपम मेल रहेको थियो । उनको चरित्रका उक्त महान् विलक्षणता उनी साँच्चिकै भावी, कम्युनिष्ट समाजका मानिस हुन् भन्ने तथ्यको अकाट्य दसी हो । लेनिन यस्ता आदर्श नेताको रुपमा स्थापित छन्, जसको जीवन र कार्य वर्तमान युगका आम कम्युनिष्टहरूका लागि ज्ञान, प्रेरणा र हौसलाको स्रोतमात्र होइनन्, त्यसका साथै अनुसरणयोग्य पनि छन् । उनको पदानुसरण गर्नु भनेको आफूलाई सच्चा कम्युनिष्टमा विकसित गर्नतर्फ परिलक्षित गर्नु हो भन्ने सबै कम्युनिष्टहरूले बुझ्नुपर्ने कुरा हो । त्यसका साथै, लेनिनको चरित्र–चित्र एउटा यस्तो दर्पण हो जसमा हेरेर कम्युनिष्टहरूले आफू कति स्तर र हदसम्म सच्चा कम्युनिष्ट बनेका छन् भन्ने कुरा बुझ्नेछन्, त्यो एउटा यस्तो कसी हो जसमा घोटेर हेरी उनीहरूले आफ्नो कम्युनिष्टयोग्य गुणको स्तरलाई थाहा पाउन सक्नेछन् । यस सम्बन्धमा स्टालिनको एउटा धारणा मननयोग्य छ, जुन उनले “मास्कोको स्टालिन निर्वाचन क्षेत्रका मतदाताहरूको सभामा दिएको भाषण” मा व्यक्त गरेका थिए । उनको भनाइ यसप्रकारको छ :

“मतदाताहरूले, जनताले कुन कुराको माग गर्नुपर्छ भने तिनीहरूका प्रतिनिधिहरू आफ्नो अ भिभारा पूरा गर्न समर्थवान् हुनुपर्छ, तिनीहरू राजनीतिक गँवारको स्तरमा पतित हुनुहुँदैन, आफ्ना पदमा तिनीहरू लेनिन–खालका राजनीतिक व्यक्ति हुनुपर्छ, सार्वजनिक व्यक्तित्वको हैसियतले तिनीहरू लेनिन जत्तिकै स्पष्ट र निश्चित हुनुपर्छ, तिनीहरू लेनिनजत्तिकै सङ्ग्राममा निडर र जन–शत्रुहरूप्रति निर्मम हुनुपर्छ, चीजहरू जटिल हुन थाल्दा र क्षितिजमा कुनै खतरा देखापर्दा तिनीहरू सारा त्रासबाट मुक्त हुनुपर्छ, तिनीहरू लेनिनजत्तिकै सबै खालको डर–त्रासबाट मुक्त हुनुपर्छ तिनीहरू सारा अनुकूल–प्रतिकूलको विस्तृत परिचय र विस्तृत मूल्याङ्कन गर्नुपर्ने जटिल समस्याहरूबारे व्यवहार गर्नमा लेनिनजत्तिकै बुद्धिमान र विचारवान् हुनुपर्छ तिनीहरू लेनिनजत्तिकै सदाचारी र इमानदार हुनुपर्छ, तिनीहरूले लेनिनले जस्तै आफ्ना जनतालाई प्यार गर्नुपर्छ ।”

आज शोषित–पीडित जनताको मुक्ति र सुख–समृद्धिका लागि तिनको प्रतिनिधित्व गर्दै लडिरहेका प्रत्येक क्रान्तिकारीले, लेनिनको जीवन–लक्ष्यलाई निरन्तरता दिन चाहने प्रत्येक कम्युनिष्ट कार्यकर्ताले आफ्नो सम्पूर्ण कार्य, व्यवहार र आचरणलाई लेनिनवादी भावना र उत्साहले अभिप्रेरित गर्दै अघि बढ्नुपर्छ । यसरी मात्र उसले लेनिनद्वारा थालिएको मानवमुक्तिका विशाल–प्रक्रियालाई अघि बढाउने पक्षमा, वर्गहीन समाजको निर्माण गर्ने महान् तथा उदात्त पक्षमा योगदान गर्नसक्नेछ । तिनीहरूकोे प्रमुख दिशाबोध लेनिनले झैं सोच्ने, लड्ने, व्यवहार गर्ने हुनु आवश्यक छ । मेरीत्ता सागिन्यानाले माथि उल्लेखित लेखमा यस सम्बन्धमा यस्तो विश्वास व्यक्त गरेका छन् :

“…हाम्रो विश्वासमा, त्यो समय आउनेछ, जब हामी सबजनाले लेनिनले जस्तै चिन्तन गर्नेमात्र होइन, बरु उनले जस्तै जिउन र अनुभव गर्न सिक्नेछौं ।” (लेनिनः एक जीवनी,” अङ्ग्रेजी संस्करण, पृष्ठ ९ बाट उद्धृत ।)