काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले वर्तमान ओली सरकारले मजदुर तथा श्रमिक वर्गविरोधी चरित्र प्रदर्शन गरेको भन्दै सरकारको घोर विरोध एवम् भत्र्सना गरेको छ । महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले जारी गरेको वक्तव्यमा श्रमिक तथा मजदुर वर्गले भोग्नु परेका समस्याहरुलाई ७ वटा बुँदामा उल्लेख गर्दै ती मागहरु पूरा गर्न जोडदार रुपमा माग गरिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ : प्रेस–वक्तव्य

हार्दिक शुभकामना !

१. आज सिङ्गो मानवजाती कोभिड (१९को विश्वव्यापी संक्रमणको खतरा संग जुधिरहेको छ । यो क्रममा शासक वर्गले विभिन्न त्रास र भयको अति प्रचार गर्दै सिङ्गै दुनियाँलाई बन्दाबन्दिको अवस्थामा थुन्न कोसिस गरिरहेको छ, जुन रहस्यमय मात्रै छैन अपितु मानवजातिको सभ्यता र सामाजिक जीवनको निरन्तरतामा समेत विशेष खतरा पैदा गरेको छ ।
२. विश्व पुंजी बजारमा तीव्र असन्तुलन, गिरावट र मन्दिको स्थिति सृजना भएको छ । विश्व बैंक एवं अन्तरास्ट्रिय मुद्रा कोषले समेत यो सन १९३० को महामन्दी भन्दा खराब स्थिति भएको बताएका छन ।
३. अमेरिका, युरोप र मध्यपुर्व लगायतका देशहरुमा ३ करोड भन्दा बढी श्रमिकले पुर्ण रोजगार गुमाएका छन । अन्तर्रा्ष्ट्रिय श्रम संगठनले आगामी दिनमा यो प्रक्रियामा तीव्रतर वृद्धि हुन सक्ने आकलन गरेको छ । कुनै उचित विकल्प नखोज्ने हो भने निकट भविष्यमा नै विश्व श्रमिक वर्गले पुर्ण बेरोजगारको समस्या संगै चर्को भोकमरी लगायतका विकराल परिस्थितिको सामना गर्नु पर्ने देखिन्छ । जुन अहिलेको संकट भन्दा कयौं गुणा शक्तिशाली र विनाशकारी हुने पक्का छ ।
४. नेपाल पनि विगत २७ दिनदेखि बन्दाबन्दिको अवस्थाबाट गुज्रिरहेको छ, यो क्रममा अत्यावश्यक बाहेक अधिकांश होटल, संघ संस्था, उद्योग र कारखाना र यातायातका सेवाहरु बन्द गरिएका छन । संगठित र अन्य क्षेत्रमा गरेर लाखौं श्रमिकहरुले प्रत्यक्ष रोजगारी गुमाएका छन यसले श्रमिक आश्रित परिवारको जीवन कष्टकर र अन्योलपुर्ण बनेको छ । हजारौंको संख्यामा महिला, बालबालिका र वृद्ध उमेर समुहका मान्छेहरु सयौं किमि लामो राजमार्गको जोखिमपूर्ण यात्रामा पैदल निस्किएका छन । सिमा क्षेत्रमा हजारौं मजदुर हरुको विचल्ली भएको छ । हस्पिटल हरुले विरामिलाई सेवा दिन ईन्कार गरिरहेका छन । राहत वितरणको नाममा आफ्ना कार्यकर्तालाई पोस्ने र जनताको हुर्मत लिने काम भएको छ । महिला हिंसाका घटना बढेर गएका छन । केही आदेशहरु जारी गर्नु बाहेक सरकारको उपस्थिति शुन्य प्रायः देखिन्छ । यसले सरकारको शिथिलता र निष्क्रियतालाई मात्रै उजागर गरेको छैन, वर्तमान संसदीय व्यवस्थाको श्रमिक विरोधी चरित्रलाई समेत उदाङ्गो पारिदिएको छ । यो परिस्थितिको ख्याल गर्दै हाम्रो संगठन नेपाल सरकारलाई – (क) जिम्मेवार भएर प्रस्तुत हुन, (ख) जनताको व्यैयक्तिक र सामाजिक जीवनमाथि खेलबाड नगर्न, (ग) अविलम्ब मजदुर र विपन्न परिवारकेन्द्रीत विशेष राहतको कार्यक्रम घोषणा गर्न, (घ) अलपत्र परेका जनतालाई आवश्यक स्वास्थ्य जाँच पश्चात् गन्तव्यसम्म पुग्ने सहज व्यवस्था गर्न, (ङ) सिमा क्षेत्रमा अलपत्र नेपालीलाई स्वदेशमा नै क्वारेन्टाइनमा राखी उपचार लगायतको प्रबन्ध मिलाउन, (च) निजी स्तरबाट चलेका सम्पुर्ण हस्पिटल तथा उद्योगहरुलाई राष्ट्रियकरण गर्ने नीति अवलम्बन गर्न, (छ) संकटको समयमा भ्रष्टाचार र कालोबजारी गर्ने व्यक्ति वा निकायमाथि हदै दर्जाको कारवाही गर्न र (ज) सहकार्यको निति अवलम्बन गर्न जोडदार माग गर्दछ ।
५. रोजगारीको शिलशिलामा खाडी, मलेसिया, मध्यपुर्व र संसार भरी छरिएका नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीको स्थिति निकै अन्योलपुर्ण र संकटग्रस्त बन्दै गएको छ । यो परिस्थिति माथी विशेष ध्यान दिंदै हाम्रो संगठन नेपाल सरकारलाईस् (क) राज्यका कुटनैतिक नियोगहरुलाई सक्रियतापुर्वक परिचालन गर्न, (ख) प्रधानमन्त्री स्तरबाट सम्बन्धित राष्ट्र प्रमुखसंग निरन्तर संवाद र छलफल जारी राख्न, र (ग) आवश्यकतामा स्वदेश फिर्ताको उचित प्रबन्ध मिलाउन जोडदार माग गर्दछ ।
६. श्रमिक वर्गले असंख्य संकटको सामना गर्नु परेको यो स्थितिमा उद्योगी र व्यवसायीहरु श्रमिक वर्गले विगतदेखि खाईपाई आएको तलब कटौती गर्ने र रोजगारबाट निकाल्ने सम्मको दुस्साहस गर्दैछन् । हाम्रो संगठन पुँजीपतिहरुको यसप्रकारको कदमको घोर निन्दा तथा भत्सर्ना गर्दछ । सम्बन्धित सबैमा आवस्यक जिम्मेवार र जवाफदेही बन्न अनुरोध गर्दछ । नेपालका संसदवादी ट्रेड युनियनहरु यो संकटमा मजदुर वर्गको पक्षमा उभिनुको सट्टा मजदुर विरोधी शंकास्पद गतिविधिमा सक्रिय देखिएका छन यसले उनीहरुको वास्तविक चरित्रलाई मजदुरहरुको बिचमा पुनः एकपटक उदाङ्गो बनाएको छ । नेपाली श्रमिक वर्गले यस घटनाबाट शिक्षा लिंदै आगामी दिनमा यसको उचित हिसाब राख्नेमा हामी विश्वस्त छौं ।
७. अन्त्यमा, हाम्रो संगठन मजदुर वर्गमाथि परेको असिम संकटको यो समयमा निरन्तर मजदुर वर्गसंगै रहेर उनीहरुका संकट र समस्याको समाधानका लागि निरन्तर संघर्षरत रहेको छ । मजदुर वर्गको अधिकार प्राप्तिको यो संघर्ष आगामी दिनमा अझै पेचिलो र चुनौतीपूर्ण हुन सक्छ, जसका लागि सम्पुर्ण श्रमिक वर्ग एकताबद्ध हुँदै राज्यका गलत क्रियाकलाप, प्रवृति र निर्णयको विरुद्ध निरन्तर खबरदारीका आवाज बुलन्द गर्न हार्दिक अनुरोध गर्दछौं । साथै यहीँ संकटको बिचबाट हाम्रो संगठनले यसपटकको विश्व श्रमिक वर्गको अन्तर्राष्ट्रिय दिवस अर्थात् १३१ औं मजदुर दिवस विभिन्न रचनात्मक कार्यक्रमहरु मार्फत मनाउने जानकारी समेत गराउन चाहन्छौं । धन्यवाद !
क्रान्तिकारी अभिवादन सहित !
ईश्वर तिमिल्सिना
अध्यक्ष
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार