भ्रष्टहरुको मिलोमतोमा टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि कारबाही

भ्रष्टहरुको मिलोमतोमा टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि कारबाही

 

बैशाख ६, काठमाडौं
भ्रष्टाचारमा बदनाम भएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई कारबाही गर्न पत्राचार गरिएको जानकारी प्राप्त भएको छ । स्पष्टीकरण मागसहितको सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको बताइएकोछ ।
टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले ‘पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको’ दावी गरे ।
‘पत्र हिजो आएको भन्ने कुरा मेरो स्टाफले मलाई फोन गरेर जानकारी गराउनु भएको थियो । तर, म विशेष कारणबस बाहिर हुँदा पत्र खोलेर हेरेको छैन’, शनिबार बिहान उनले भने ।
‘गोप्य’ पत्र आइतबार खोलेर हेरेपछि थप कुरा आउने उनले बताएका छन् ।
स्रोतका अनुसार टेकु अस्पतालको ल्किनिकल रिसर्च युनिटको संयोजक समेत रहेका डा. पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा ‘अनावश्यक रुपमा बोलेको’ भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए । तर, डाक्टर पुनले भने ‘आफूले कोरोनाभाइरसबारे सत्यतथ्य कुराहरु प्रकाशमा ल्याएर जनचेतना फैलाएको’ बताएका छन् ।
‘आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा बताएको भन्दै पुनले कसैलाई यसमा चित्त बुझ्दैन भने आफूले भन्नु केही नरहेको’ बताए । ‘मैले आफूलाई जानकारी भएको विषय सञ्चारमाध्यममार्फत र अन्य माध्यममार्फत लगातार प्रकाशमा ल्याएर जनचेतना फैलाउँदै आएको साँचो हो । मेरो नाममा पत्र आएको सुनेको छु । तर त्यसमा के छ मैले हेरेको छैन’, उनले भनका छन् ।
स्रोतका अनुसार उनलाई मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएका थिए । उनी कार्यरत अस्पतालमा नै पनि उनको सक्रियता र मिडियामा उनको बढ्दो ‘कभरेज’का कारण असन्तोष गर्नेहरुको जमात नै खडा हुँदै गएको थियो । तिनीहरुकै समेत खुट्टा तनाइको उनी शिकार बनेको स्रोतको दावी छ ।
स्रोतका अनुसार आफूविरुद्ध विकसित हुँदै गएको यो माहोलका बारेमा डा. पुन जानकार थिए तर उनले त्यसलाई खासै महत्व दिएका थिएनन । त्यसको वेवास्ता गर्दै जनचेतना फैलाउने काममा निरन्तर लागेपछि अहिले उनीविरुद्ध कारबाही भएको हो ।
स्रोतका अनुसार मन्त्रालयमा तानिएको भनिए पनि करारका डाक्टर मन्त्रालय तान्नुको औचित्य छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले पत्र र कारवाहीबारे अनभिज्ञता प्रकट गरेका छन् ।