तीन साता लम्ब्यायो भारतले लकडाउन

प्रकाशित मिति : २०७७ बैशाख २

- मूलबाटो डट्कम सम्वाददाता

२ वैशाख, काठमाडौं,
भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसलाई मध्यनजर गर्दै भारतले कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् ।
यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन भोली बुधबार (१५ अप्रिल) सकिँदैछ । त्यसको अघिल्लो दिन टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मार्चसम्म बढाउने निर्णयमा पुगेको बताएका हुन् ।
‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ उनले भने, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ ।’
सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको उनले बताएका छन् । मोदीले भने, ‘आर्थिक दृष्टिकोणमा निकै महंगो छ तर भारतबासीको जीवनका अगाडि यो ठूलो होइन ।’
कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन । ‘जुन क्षेत्र हटस्पट बन्ने आशंका छ, त्यहाँ कठोर कदम चाल्नुपर्छ । आगामी एक साता लकडाउनमा कठोरता अझ बढ्ने छ । जुन क्षेत्रमा आशंका कम हुन्छ, त्यो क्षेत्रहरुमा ३० अप्रिलपछि शर्तसहित केही छुट दिइनेछ ।’