नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका रुपमा फैलि सकेको छ । संसारका करिव २१० देशहरु यसको चपेटामा परेका छन् । यी हरफ लेखिँदा सम्म विश्वभरी नै यो महामारीको संक्रमण हुनेहरुको संख्या १६ लाख ३ हजार ७१९ पुगेको छ भने ९५ हजार ७२२ जनाले ज्यान गुमाइ सकेका छन् । निको हुनेको संख्या ३ लाख ५६ हजार ६५५ पुगेको रेकर्ड गरिएको छ । यो महामारीबाट साम्राज्यवादी देखि लिएर गरीव र उत्पीडित देशहरु सबै यसका शिकार भएका छन् । त्यसकारण नोवेल कोरोना भाइरसका विरुद्धको लडाईं आज सबैको साझा एजेण्डा बन्नु पर्ने अवस्थाको सिर्जना भएको छ । यो महामारीले आफूलाई सर्व सम्पन्न, सर्ब शक्तिसाली र सर्बै विषयमा नम्बर १ भनेर दावी गर्ने महाशक्ति राष्ट्रहरुको हैशियतलाई पनि उजागर गरिदिएको छ । संयुक्त राज्य अमेरिका यो महा भूकम्पको केन्द्र बन्न पुगेको छ । नेपाली जनतालाई समृद्धि नै समृद्धिले छाइदिने र सुखै सुखले भरपुर बनाइदिने सपना बाँडेर सत्तामा रजाईं गर्ने नेपालका नयाँ शाषकहरुको हैसियतलाई पनि छर्लंग पारेको छ । आज हाम्रा अगाडि उपस्थित प्रधान समस्या भनेको नेपाली जनतालाई यस महामारीबाट कसरी बचाउने, यसबाट मानव जीवन र मानव जातिको रक्षा कसरी गर्ने भन्ने नै हो । यसै समस्या र यसको समाधानका केही उपायहरुको बारेमा यहाँ केही चर्चा गर्ने प्रयास गरिएको छ ।
सरकारको भूमिका र संत्रासको वातावरण
हाम्रो देशसँग जोडिएको, हाम्रो उत्तर तिरको छिमेकी देशमा त्यत्रो महामारी फैलिसक्दा पनि यो महामारीले महिनौं सम्म हिमाल छिचोलेर नेपाल पसेको थिएन । यहि अवस्थालाई कायम गर्ने प्रयत्न गर्नकालागि यो हामी नेपालीका लागि महान अवसर थियो । यो अवसरको सदुपयोग गर्ने प्रमुख दायित्व सरकारको हुन जान्थ्यो । दुर्भाग्य, सरकारले नै यो अवसरको सबै भन्दा बढी दुरुपयोग गर्ने भूमिका खेल्यो ।
विश्व स्वास्थ्य संघले ‘विश्व संकटकाल’ घोषित गरेको अवस्थामा यो सरकारका मन्त्रीहरु के बयान दिइरहेका थिए ? भूमि सुधार र व्यवस्था मन्त्री जनतालाई सुसूचित गर्दै थिइन् ‘नेपालीले यो कोरोना भाइरसलाई सजिलै पचाउने क्षमता राख्दछन् । निश्चिन्त हुनुस् यो भाइरसले नेपालमा कुनै विगार गर्न सक्दैन ।’ पर्यटनको पर्याप्त संभावना भएको हाम्रो देशमा ‘पर्यटन वर्ष २०२०’ मनाउने निर्णय गर्नु राम्रै कुरा थियो । तर, कोरोना भाइरसले महामारीको रुप लिइ सकेको, विश्व स्वास्थ संघले विश्व संकटकाल घोषित गर्ने अवस्था, विश्वव्यापीरुपमा महामारी घोषित गर्नु पर्ने अवस्था आइसकेको समयमा पनि नेपाललाई ‘कोरोना मुक्त देश’ घोषणा गर्नु र ‘पर्यटन वर्ष यथावत् चल्छ’ भनेर कोरोनाको केन्द्र विन्दु बनेका युरोप र अमेरिकाबाट पर्यटक ओसार्न बल गरिरहनु गैह्र जिम्मेवार काम भएन ? आफैंले पनि प्राइवेट स्कुल, क्याम्पस चलाउँदै आएका शिक्षा मन्त्री अन्तिमसम्म भन्दै थिए ’एस् ई को परीक्षा कुनै पनि हालतमा रोकिने छैन ।’ यसप्रकार शैक्षिक संस्थालाई खुलै राखेर उनी कस्तो सामाजीक दुरी कायम गर्ने योजना बनाउँदै थिए ?
अहिले आएर त सबैलाई स्पष्ट भैसकेको छ कि यदि एक हप्ता अघि मात्र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको र भारतसँगको सीमा बन्द सहितको लक डाउन लागु गरिएको भए आज नेपाली यो त्रासको वातावरणमा बाँच्नु पर्ने रहेन छ । केही मानिस संक्रमित त थिए, तर ती सबै विदेशबाट संक्रमित भएर आएका थिए । तर गत २२ गते विदेशबाट आएका संक्रमितको उनकै परिवारको सदस्य नेपालमै बसेकि महिलामा संक्रमण सरे पछि कोरोना भाइरसको संक्रमणले दोस्रो चरणमा प्रवेश गरेको सरकारी घोषणाबाट प्रष्ट भैसकेको छ । यसवीचमा संक्रमण फैलिएको छिमेकी भारतबाट करीव १ लाख ४० हजार मानिस नेपाल प्रवेश गरेको कुरा सरकारका स्वास्थ सम्वन्धी प्रवक्ताले नै बताएका छन् । उनीहरुले कतीलाई संक्रमण सारे यो सबैभन्दा चिन्ताको विषय बनेको छ । उनीहरु मध्ये धेरै त फेला परे कैयौं जना फेलै परेका छैनन् र फेला परेकाले कतीलाई संक्रमित गराए, त्यसको यथार्थ जानकारी सरकारलाई भैसकेको छैन । यी तथ्यमाथि ध्यान दिँदा नेपालमा जुन संत्रास फैलिएको छ, त्यसलाई अन्यथा भन्न मिल्दैन ।
आसन्न खतरा
भारतसंग भएको हाम्रो १८०० कि मि लामो खुला सिमानाका कारण दुवै देशले ‘सीमा वन्द’ र ‘लक आउट’को घोषणा भै सकेपछि पनि, पहिलेको तुलनामा कम भएको भए पनि आवत जावत पुरै रोकिएको अवस्था छैन । यो नै नेपालका लागि सबैभन्दा ठुलो खतराको संकेत हो । हुनत आजका मितिसम्म भारतमा भएको संक्रमण र क्षतीको मात्रा युरोपका केही देश र सं रा अमेरिका जस्तो भयावह अवस्थामा पुगिसकेको त देखिँदैन । अहिलेसम्मको भारतको भाइरस संक्रमणको अवस्था यस प्रकार छ ः भाइरसव्दारा जम्मा संक्रमितको संख्या – ५२१८, मृत्यु भएको –१६९ जनाको, निको भएकाहरुको संख्या – ४७७ । कुल जनसंख्या करिव १ अरब ३० करोड भएको देशका लागि यो संख्या आफैं भयावह होइन ।
तर, केहि विश्लेषकहरुले भारतमा कोरोना भाइरसको विकासक्रमलाई इटालीकोसँग तुलना गरेका छन् । अहिलेसम्मको यसको विकासक्रमको ग्राफ लगभग मिल्दो जुल्दो छ भन्ने उनीहरुको भनाई छ । दुईवटा ग्राफको कर्भलाई हेर्दा समान किसिमको नै देखिन्छ । परन्तु, भारतको अवस्था इटालीकै जस्तो हुन्छ नै भन्ने ग्यारण्टी पनि छैन । दुई देशको अवस्था विभिन्न दृष्टिले भिन्न छ । तुलनात्मक रुपमा इटालीको भन्दा भारतको राम्रो पक्ष पनि छ । पहिलो, भारतले चाँडै लक डाउन गर्ने काम ग¥यो । संक्रमणलाई रोक्नका लागि यो निकै कारगर विधि मानिन्छ । दोस्रो, भारतमा अब गर्मी निकै चढिसकेको छ । भनिन्छ, गर्मीमा यो भाइरस त्यती सकृय हुन सक्दैन, जति जाडोमा हुन सक्दछ । यदि यो भनाई सत्य हो भने भारतलाई यसबाट निकै फाइदा हुन सक्दछ । यी दुई महत्वपूर्ण पक्षहरु हुन् जसले भारतको अवस्था तुलनात्मक रुपमा राम्रो हुन सक्दछ ।
जहाँ सम्म नेपालको भाइरस संक्रमणको स्थिति हो, यो ९ मा पुगेर स्थिर भएको छ । यसबाट त्यती डराइ हाल्नु पर्ने अवस्था देखिँदैन । विशेषज्ञहरुको भनाई के छ भने पर्याप्त मात्रामा जाँच हुन नसकेको कारणबाट यो संख्या कम देखिएको हुन सक्दछ । यसका साथै समुहमा मानिसहरुको हिँड डुल र बस उठ्का घटनाक्रमहरु धेरै ठाउँमा र पटक पटक भएका छन् । खासगरी भारतबाट आएका मध्ये क्वारेण्टाइनमा नबस्नेहरुको संख्या धेरै भएका हुनाले कतै भित्र भित्रै त्यो संक्रमित भैरहेको त छैन ? भन्ने आशंका भैरहने गरेको छ ।
हामीलाई थाहा भै सकेको छ कि हाम्रो अवस्था कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्था हो । यसभन्दा पनि खराब अवस्था भनेको व्यक्तिमा फैलिएको संक्रमण समुदायमा फैलिने हो । यो अवस्था हामीले आउन दिनै हुँदैन, कुनै हालतमा पनि । यसलाई हामीले यहिँ रोक्न सक्नु पर्दछ र हामी रोक्न सक्दछौं पनि । तर यसमा सफलता पाउनका निमित्त सबैले एकैसाथ प्रयास गर्नु पर्दछ । एकजनाले मात्र गल्ती गरिदियो भने सैकडौंमा उसले संक्रमण फैलाउन सक्छ । त्यसपछि त त्यो अनियन्त्रित तिर जान सकिहाल्छ । खतराको घण्टी बजिसकेको छ । हामीले गम्भीरतापूर्वक लिनु पर्दछ । हामी सफल हुन सक्दछौं । एकतावद्ध होउँ ।
नेपाल सरकारलाई धेरै सुझावहरु पहिले नै दिइसकिएको छ । यसमा थप तीनवटा सुझाव मात्र यतिखेर म दिन चाहन्छु ः १. भारत सँगको आवत जावत बन्द हुने गरी सिमा बन्द गरिनु पर्दछ । २. अन्तर्राष्ट्रिय विमान सेवा अनिश्चितकालका लागि बन्द गरिनु पर्दछ । ३. लक डाउन गर्नका लागि अविलम्ब ज्यालादारी मजदुर र तल्लो वर्गका दैनिक समस्याको अविलम्ब हल गर्ने व्यवस्था गर्नु पर्दछ ।
२०७६ । १२ । २८

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर