पात्र कि प्रणाली:भ्रष्टाचार कहाँ खोज्ने ?

प्रकाशित मिति : २०७६ चैत्र २७

- वसन्त बाेगटी

आज देशमा जुन प्रकारको लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचारको खेती मौलाएको छ कि यसले आधुनिक नेपाल राज्य निर्माण देखी यताका सबै कीर्तिमानहरु तोडेको छ । ३३ किलो सुन प्रकरण, वाईड बडि जहाज खरिद प्रकरण, वालुवाटारको जग्गा खरिद प्रकरण, एनसेलको कर प्रकरण, नेपाल टेलिकमको 4G सेवा विस्तार प्रकरण, नेपाल ट्रस्टको नाममा रहेको जग्गा सहित राष्ट्रिय निकुञ्जको जग्गा व्यापारिक समुह यति ग्रुपलाई कौडिको मुल्यमा हस्तान्तरण गर्ने प्रकरण र पछिल्लो ॐनि प्रकरण सम्म आई पुग्दा यो चौतर्फी उदाङ्गो मात्रै भएको छैन अपितु दलाल संसदीय व्यवस्थामा राज्य कसरी संस्थागत भ्रष्टाचारमा संलग्न हुन्छ भन्ने चिजलाई स्पष्ट गरेको छ । यो संगै भ्रष्टाचार आज राष्ट्रिय सरोकार र बहसको विषय बनेको छ । नेपालको बौद्धिक समुदाय र विभिन्न राजनीतिक सामाजिक अभियन्ताहरु समेत यस प्रकारको स्थितिका बारेमा पक्ष /विपक्षमा बहस चलाउदै छन । पछिल्लो समय नेपाली कांग्रेस जस्तो पार्टी पनि यो बहसमा सहभागी भएको छ । सापेक्षित यो सकारात्मक कुरा भए पनि उसको विगतले यसलाई हास्यास्पद बनाएको छ । हामीले जनतालाई कुन कुरा प्रष्ट भन्दिनु पर्छ भने नेपाली कांग्रेस नेपालको राजनीतिक उथलपुथलको ७० वर्षको ईतिहासमा देशमा सबै भन्दा बढी शासन गर्ने राजनीतिक पार्टी हो । उसले आफ्नो शासनकालमा राष्ट्रघात, जनघात र भ्रष्टाचारका डरलाग्दा कीर्तिमानहरु कायम गरेको छ । र अहिले पनि ठुला ठुला राष्ट्रघात र भ्रस्टाचारमा ओलि सरकारको सारथी बनेर उभिएको छ । तसर्थ यो बुझ्न जरुरी भएको छ की अबको बहसलाई कुनै नेता विशेष वा पार्टी विशेषको विकल्पमा मात्रै सिमित गरिनु हुँदैन । हाम्रो मत र अहिलेको वास्तविक यथार्थ पनि के हो भने यसलाई व्यापक गरिनु पर्छ र आवस्यकतामा अहिलेको व्यवस्थाको विकल्पको चरणसम्म खुल्ला राखिनु पर्दछ । अन्यथा सोल्पाको खाङसाङ, खाङसाङको सोल्पा, काट पैसाको काट पैसा भन्ने नेपाली उखानलाई चरितार्थ गर्नु बाहेक यसको थप औचित्य र सार्थकता हुँदैन ।


आज भ्रष्टाचार राष्ट्रिय रोग बनेको छ । यसलाई कहाँ- कहाँ खोज्ने ? लुटतन्त्र, कमिसनतन्त्र वा अनियमिततालाई कहाँ-कहाँ खोज्ने ? कहाँ-कहाँ रोक्ने ? यो उत्तर अलि असजिलो पनि छ । तर यो सजिलो पनि छ कि आज भ्रष्टाचार अनियमितता यत्रतत्र सर्वत्र छ । यो व्यवस्था संग जोडिएका प्रत्येक ईकाई देखी वालुवाटार सम्म यो व्यप्त छ । के आज एउटा व्यक्ति भ्रष्ट छ ? हो एउटा व्यक्ति पनि भ्रष्ट छ तर मुख्य कुरा यो प्रणाली नै भ्रष्ट छ, यो व्यवस्था नै भ्रष्ट छ । के भ्रष्ट हरुको कुनै वर्ग, पद वा जिम्मेवारी हुन्छ ? हुँदैन । के उनीहरुको देश हुन्छ ? त्यो पनि प्रष्ट छ हुँदैन । के उनीहरुको ईज्जत हुन्छ ? त्यो पनि, हुँदैन । भ्रष्टहरुको कुनै सामाजिक वर्ग, पद, जिम्मेवारी वा दायित्व केहि पनि हुँदैन । उनीहरु संग कुनै दीर्घकालीन सोच वा योजना पनि हुँदैन । त्यसैले त आज पनि उनिहरु देशको संकटपुर्ण अवस्थाको फाईदा उठाउदै टेस्ट किट, पिपिई लगायतका स्वास्थ्य सामाग्रीको खरिदमा अकुत भ्रष्टाचार गरि रहेछन । तथ्यहरुको आधारमा हामी प्रष्ट भन्न सक्छौ की यो पुजीवादी विश्व व्यवस्थाले पैदा गरेको विल्कुल एक प्रकारको रोगि चिन्तन हो । नेपालको सन्दर्भमा प्रतिक्रियावादी संसदीय व्यवस्था मार्फत दलाल पुजिवादले यसलाई निरन्तर मलजल र संरक्षण गरिरहेको छ ।

आज देशमा दलाल पुजीवादी हरुको बोलबाला रहेको प्रतिक्रियावादी संसदीय व्यवस्था विद्यमान छ जुन फासिवाद उन्मुख देखिन्छ । दलाल पुजिवाद हाम्रो जस्तो मुलुकका लागी कोरोना भन्दा पनि शक्तिशाली virus हो जो निकै नै मन्द गतिमा आउछ र राज्यको सामाजिक आर्थिक राजनीतिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न कोशिस गर्छ । यसको विशेषता भनेको अधिकतम उपयोग र नाफा हो । यो संगै राष्ट्रिय पुजि वा अर्थतन्त्रलाई तहसनहस गर्नु, राष्ट्रिय पुजिपतिहरुलाई निरन्तर कमजोर बनाउनु, अन्ततः ध्वस्त गर्नु र देशलाई कंगाल बनाउनु यसको अर्को विशेषता हो । यसले आफ्नो स्वार्थानुकुल हरेकलाई उपयोग गर्ने कोशिष गर्दछ । उपयोगको चरणमा यसले प्रत्येकलाई नायक जस्तो बनाई दिन्छ मानौ उसले अब कहिल्यै पछाडी फर्कनु पर्ने छैन । तर जब उसको उपादेयता सकिदै जान थाल्छ एक निमेषमा उसको नायकत्व खरानी खरानी हुन्छ । आज सम्मको उसको परिचय वा अस्तित्व पुनः कहिल्यै जीवित भएर फर्कन सक्दैन । पछिल्लो समयमा नेपालका संसदवादी पार्टी हरु शृङ्खलाबद्व रुपमा दलाल पुजिवादको सिकार बन्दै गएको देखिन्छ । दुई तिहाईको भनिने अहिलेको सरकार दलाल पुजिवादका अगाडि बाघका लागी मृगको सिकार जतिको पनि होईन ।
आज नेपालमा दलाल पुजिवाद हावी मात्रै भएको छैन अपितु राज्य र राज्य सञ्चालनका हरेक तहमा निर्णायक देखिएको छ । यो कुनै एउटा पात्र वा घटना विशेषको कारण मात्रै सम्भव हुन सक्दैन । यस्को मुख्य कारण भनेको हाम्रो राजनीतिक प्रणाली हो । हाम्रो राजनीतिक व्यवस्था हो । तसर्थ बहसका हाम्रा परम्परागत सिमाहरु तोडौ । विश्वभर अलोकप्रीय र प्रायः असफल बन्दै गएको दलाल संसदीय व्यवस्थाको विकल्प खोजौ । यो नेपालका श्रमिक किसानहरु, युवा विद्यार्थीहरु, पत्रकारहरु, कर्मचारीहरु अर्थात यो देशलाई माया गर्ने सम्पुर्ण देशभक्त नेपालीहरु सचेततापुर्वक अगाडि बढ्ने समयको हो । आउ प्रीय युवाहरू उठौ, बोलौ र खबरदारी गरौ, आवश्यकता पर्‍यो भने, समाजले माग्यो भने, देशले माग्यो भने र युगले माग्यो भने अर्को विद्रोहको र वलिदानको ईतिहास रचौं । यो व्यवस्था ध्वस्त गर्न सम्भव छ र सम्भव छ नयाँ जनवादी क्रान्ती ! वैज्ञानिक समाजवाद नै अबको हाम्रो विकल्प र गन्तव्य हो !