सिन्धुपाल्चोक । चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएसँगै चीनसँगको नाका नेपालले खुल्ला गरेको छ । कोरोना संक्रमण भित्रने जोखिम बढेपछि माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको छ ।
नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको बताइएको छ । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच भएको छलफलपछि तीनबुँदे निर्णयसहित सुरक्षित रूपमा नाका खोलिएको बताइएको छ । तत्कालका लागि खाद्यान्न र मेडिकल सामान मात्रै यो नाकाबाट भित्र्याउने बताइएको छ ।
नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको छ । मितेरी पुलपारि चीनतर्फ पनि विशेष स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको छ । चालकको स्वास्थ्यदेखि सवारीसाधन र तिनमा ल्याइएका सामग्रीसम्मको सुरक्षा जाँच हुने बताइएको छ ।
एकअर्का देशमा कोरोना संक्रमण भित्रन नदिन नाकाका चिनियाँ प्रहरी अधिकारीले पनि कडा निगरानी गरिरहेको र चीनबाट भित्रिएका मास्क र सेनिटाइजर नाकामा कीटनाशक औषधि छर्केर मात्र काठमाडौं पठाउने प्रबन्ध मिलाइएको छ ।

नाका खुलेपछि स्थानीयले भने सुरक्षा सतर्कतालाई विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर