कोरोनाले उत्पन्न गरेको मृत्युको भय र टर्कीकी हेलिन बोलेकले रोजेको मृत्यु

प्रकाशित मिति : २०७६ चैत्र २६

- उज्वल

आज कोरोना भाइरस (कोभिड–१९)को महामारीले विश्वभर मृत्युको भयले डंका पिटिरहेको छ । मृत्युबाट भाग्दाभाग्दै पनि करिब झण्डै लाखको संख्यामा मानिसलाई मृत्युले निलिसकेको छ । लाखौं अहिले पनि मृत्युशय्यामा छटपटाइरहेका छन् । संसारभरका अरबौं मानिस अहिले पनि बाँच्नका निम्ति आफ्नो सारा शक्ति कोरोना भाइरसको प्रतिरोधमा लगाइरहेका छन् । आर्थिक, सामरिक, बौद्धिक तथा अत्याधुनिक विज्ञान र प्रविधिले युक्त शक्तिशाली पुँजीवादी तथा साम्राज्यवादी मुलुकहरु पनि यो भाइरस विरुद्धको लडाइँमा हारिरहेका छन् । कोरोना भाइरस विरुद्धको यो लडाइँले विश्वकै नक्सा बदलिदिने विश्लेषण गर्न थालिएको छ । विश्वभर आर्थिक मन्दी विस्तारित हुँदै जाँदा थुप्रै देशमा सत्ता तथा व्यवस्था उलटपुलट हुने र विश्वको शक्तिकेन्द्रमा पनि पुरै फेरबदल आउने संकेतहरु प्रष्ट रुपमा देखिन थालेका छन् ।

जीवन बाँच्न र बँचाउन आज विश्वभरका अरबौं मानिसहरु सम्पूर्ण शक्तिका साथ लागिरहेको बेला टर्कीकी लोकप्रिय क्रान्तिकारी जनगायिका हेलिन बोलेकले भने गत शुक्रबार २८८ दिन लामो भोक हड्तालका कारण मृत्युवरण गरिन् । अर्को भाषामा भन्ने हो भने उनले आफ्नो अमूल्य जीवन बलिदान गरिन् । टर्कीका आम श्रमजीवी शोषित उत्पीडित मुक्तिकामी जनताका लागि र विश्वभरका श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायका निम्ति पनि ‘सहिद’ भइन् । कोरोना भाइरसका कारण मृत्यु भएका लाखौ मानिसहरुको मृत्युभन्दा हेलिन बोलेकको मृत्यु निकै वजनदार बन्यो । अरुको मृत्यु प्वाँखजस्तै हलुंगो तर बोलेकको मृत्यु पहाडजस्तै गह्रुंगो । फरक यत्ति हो अरु आफ्नो लागि बाँचे, बोलेक श्रमजीवी शोषित उत्पीडित वर्गको मुक्तिको लागि बाँचिन । अरु जिउँदै मृत्यु देखिरहेका थिए, बोलेक मृत्युपछि पनि जीवन देखिरहेकी थिइन् । कोरोना भाइरसबाट मृत्यु भएका लाखौं मानिसहरुले बाँचेकाहरुलाई जरुर दुःखी तुल्याएका छन् । उनीहरुको मृत्युबाट जरुर सम्बन्धित परिवार तथा समाज पनि प्रभावित बनेको होला । तर बोलेकको मृत्युले संसारभरका शोषित उत्पीडित श्रमजीवी वर्ग र समुदायलाई उर्जा प्रदान गरेको छ, उत्प्रेरणा सञ्चार गरेको छ । यसकारण कि उनले रोजेको मृत्यु सामन्तवाद र साम्राज्यवाद विरुद्धको एउटा विद्रोहको मशाल थियो । आम सर्वहारा वर्गको महान मुक्ति अभियानको एउटा अजेय संकल्प थियो । त्यसैकारण त संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुले उनको मृत्युलाई ‘ रेड स्यालुट’ गरे, विभिन्न माध्यमबाट ‘श्रद्धाञ्जली’ अर्पण गरे ।

प्रतिक्रियावादी दलाल फासिवादी सत्ता कति क्रूर र अमानवीय हुन्छन् भन्ने कुरा टर्कीका शासकहरुले हेलिन बोेलेक सम्बद्ध सांगीतिक समुहमाथि लगाएको प्रतिबन्ध र त्यससँग सम्बद्ध सदस्यहरुलाई गरेको गिरफ्तारी, यातना र दमनबाट बुझ्न सकिन्छ । हेलिन बोलेक टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड “गु्रप योरम’की सदस्य रहेकी थिइन् । उनी र ब्यान्डका अर्का सदस्य इब्राहिम गोसेक ब्यान्डमाथिको प्रतिबन्ध फुकुवा गर्ने मागसहित आमरण अनशनमा थिए । “सत्यबारे गाउन पाउने अधिकारका लागि” भन्दै भोकै बसेका उनीहरुको पाँच प्रष्ट माग थिए ः इदिल सांस्कृतिक केन्द्र र ग्रुप योरममा छापा मार्न छाड्नु पर्ने, ब्यान्डका सदस्यहरुलाई खोजीको सूचीबाट हटाइनु पर्ने, उनीहरुको ब्यान्ड र कार्यक्रममाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, ब्यान्डविरुद्धको मुद्दा फिर्ता लिइनु पर्ने, पक्राउ परेका ब्यान्डका सात जना सदस्यलाई रिहा गरिनु पर्ने ।

उक्त सांगीतिक ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु थिए । उनीहरुको प्रायः गीत स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा छन् । टर्कीमा चर्चित यस ब्यान्डका कन्सर्टहरुमा हजारौं लाखौं दर्शकहरुको उपस्थिति हुने गर्दथ्यो । जनताबीचमा लोकप्रियता बढ्दै गएपछि र गीत संगीतको माध्यमबाट जनतामा समाज रुपान्तरणका निम्ति तथा क्रान्तिकारी परिवर्तनका निम्ति जागरण पैदा गराउन थालेपछि टर्कीका शासकहरु अत्तालिन पुगे र यो सांगीतिक समुहको कार्यालयदेखि कार्यक्रम स्थलमा पटक पटक छापा मारियो, दमन र धरपकड गरियो । उनीहरुका सदस्यलाई विना कारण पक्राउ गर्ने र यातना दिने गरियो ।

जेलभित्रै भोक हडताल गरेकी बोलेकलाई नोभेम्बरमा रिहा गरिएको थियो । रिहा भएपछि पनि उनले आफ्नै घरबाट भोड हड्ताल जारी राखेकी थिइन् । बोलेक रिहाभएको तीन महिनापछि रिहा भएका इब्राहिमले पनि सँगै भोक हड्ताल जारी रखेका थिए । करिब तीन साताअघि भने भोक हड्तालमा रहेका बोलेक र गोसेक बसेको ठाउँमा टर्कीको सुरक्षा फौजले छापा मा¥यो । उनीहरुलाई जबरजस्ती खाना खुवाउने कोशिस गरियो र उपचारका लागि अस्पताल समेत लगिएको थियो । तर, उनीहरुले खाना खान अस्वीकार गरिदिए र उपचार गर्न पनि मानेनन् । ६ दिनको अस्पताल बसाइपछि उनीहरु पुनः अनशनस्थल फर्किएका थिए ।


२८ वर्षीया बोलेक र इब्राहिमले उनीहरुले बरु मृत्यु रोज्ने तर आफ्नो माग पूरा नभएसम्मका लागि अनशन नतोड्ने संकल्प गरेका थिए । यही क्रममा भोक हड्तालको २८८ औं दिन अर्थात् अप्रिल ३ मा टर्कीको ठूलो शहर स्तानबुलस्थित आफ्नै घरमा बोलेकको निधन भयो । इब्राहिमले भने भोकहड्ताल जारी राखेका छन् ।

योरुम सांगीतिक समूहले पुराना लोक भाकाहरुको संकलन गर्ने र प्रदर्शन गर्ने गरेको थियो । सन् २०१६ मा टर्कीमा एक प्रस्तुतिपछि समूहमाथि प्रतिबन्ध लगाउँदै केही सदस्यहरुलाई जेल हालिएको थियो ।

यो सांगीतिक समूहलाई त्यहाँको सरकारले टर्कीको प्रतिबन्धित क्रान्तिकारी पिपुल्स लिब्रेसन पार्टी फ्रन्ट वा डीएचेपीसँग सम्बन्धित रहेको भन्दै प्रतिबन्ध लगाएको थियो । उक्त पार्टीलाई टर्की, अमेरिका तथा युरोपियन युनियनले आतंककारी घोषणा गरेका छन् ।

यस तथ्यबाट पनि स्पष्ट हुन्छ कि बोलेकले रोजेको मृत्यु सर्वहारा श्रमजीवी वर्गका निम्ति थियो र यो टर्कीको दलाल फासिवादी सत्ता, अमेरिकी साम्राज्यवाद, युरोपियन युनियन, साम्राज्यवादी सैन्य गठबन्धन नाटोको विरुद्धको एक ऐतिहासिक विद्रोह नै थियो । बोलेकको मृत्युले कोरोना भाइरसबाट हायल कायल बन्दै गरेको पुँजीवादी साम्राज्यवादको सत्ता ध्वस्त पार्न विश्व सर्वहारा वर्गका निम्ति विद्रोहको आव्हान पनि हो ।

टर्कीका कम्युनिस्ट क्रान्तिकारी तथा माओवादी नेता इब्राहिम क्यापक्कायको बलिदानले उर्जाशील बनाएको टर्कीको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनले हजारौं हेलिन बोलेकहरु जन्माइरहने छ र विश्व कम्युनिस्ट आन्दोलन तथा सर्वहारावर्गीय क्रान्तिकारी आन्दोलनलाई पनि उर्जा भरिरहने छ । हार्दिक श्रद्धाञ्जली कमरेड हेलिन बोलेक । हार्दिक श्रद्धाञ्जली कमरेड इब्राहिम क्यापक्काय । टर्कीको कम्युनिस्ट क्रान्तिकारी आन्दोलन त्यहाँको प्रतिक्रियावादी सत्ता ध्वस्त पार्दै अगाडि बढोस् । हार्दिक शुभकामना !