काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुल्न आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका छन् । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । उनका अनुसार अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् । युवतीलाई संक्रमण देखिएपछि उनी पनि क्वारेन्टाइनमा बसेकी थिइन् ।

दुवै बेल्जियमबाट सँगै नेपाल आएका र यती एयरलाइन्सको विमानबाट पोखरा पुगेर एक दिन आफन्तकहाँ बसी उनीहरु दुबै जितमा बाग्लुङ पुगेको बताइएको छ । संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।

हार्दिक शुभकामना !

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएको बुझिएको छ । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया युवतीको पोजेटिभ रिपोर्ट आएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको जनाइएको छ । देवकोटाका अनुसार काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको छ ।

उनका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको एप्समा ४ हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र तीमध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर