कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव

परराष्ट्रमन्त्री भन्छन्ःटोलीभन्दा पनि स्वास्थ्य उपकरण आवश्यक

प्रकाशित मिति : २०७६ चैत्र १८

१७ चैत, काठमाडौं ।
भारतले कोरोना (कोभिड–१९)रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्र्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
बेनर्र्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारर्त रयापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ ।’
छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने उनले उल्लेख गरेका छन् । परराष्ट्रमन्त्रालयबाट प्राप्त जानकारी अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरेका छन् ।
तर, नेपाललाई अहिले आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको परराष्ट्रमन्त्रालयको स्रोतले बताएको छ । स्रोतले भनेको छ ‘सहयोग प्रस्ताव आएको छ र हामी कुरा गर्दैछौं । हामीले स्वास्थ्य सामग्रीमा जोड दिएका छौं ।’
अहिले नेपालमा संक्रमितहरुको स्क्रिनिङ गर्ने क्रममै रहेकाले उपचारको टिमभन्दा पनि अत्यावश्यक सुरक्षा सामाग्री र उपकरणहरु आवश्यक रहेको सरकारले बताएको छ । त्यसका लागि १४गते नै नेपाल वायु सेवा निगमको एउटा विमान चीन गएर केही सामानहरु लिएर फर्केको पनि छ ।
विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार नेपाली सेनाका एक उच्च अधिकृतले पनि अहिले नेपालको स्थिति नियन्त्रणमै रहेको बताउँदै भारतबाट टोली आवश्यक नभएको बताएका छन् । उनले भनेका छन् ‘अहिलेको स्थितिलाई नियन्त्रणमा लिन हामी आफैं तयार छौं, आवश्यक सबै पूर्वतयारीहरु गरिएका छन् ।’