कोरोना भाइरसबाट बचौं र बचाऔं भन्दै नेवाः मोर्चाले सरकारलाई दियो यस्तो चेतावनी

प्रकाशित मिति : २०७६ चैत्र १५


काठमाडौं । कारोना भाइरस (कोभिड–१९)को भाइरसको बढ्दो संक्रमणबाट बचौं र बचाऔं भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले सरकारलाई चेतावनी दिएको छ । संक्रमण रोक्न लक डाउन मात्र अपर्याप्त भएको भन्दै मोर्चाले विदेशबाट आएका संक्रमितहरुबाट फैलिएको संक्रमणको ट्रेसिङ र भारतबाट आएकाहरुको खोजी सरकारले तीव्र रुपमा गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाले लड डाउनको समयावधि लम्बिदै जाँदा दैनिक ज्यालादारी मजदुर, गरिब, सुकुम्बासी, घाइते, अपाङ्गहरुमा भोकमरीको समस्या देखिन थालेको भन्दै न्यून आय भएका जनसमुदायमा राहतको व्यवस्था गर्न पनि माग गरेको छ । र, महामारीकै बीच स्थानीय नेवाः समुदायको हित प्रतिकूलको गुठी विधेयक संसदबाट पास गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनता झुक्याएर जनविरोधी कार्य गरे सरकारको पतन निश्चित भएको चेतावनी दिएको छ ।
मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले १३ चैत्रमा जारी गरेको वक्तव्यमा भनिएको छ, “कोरोना भाइरस ऋइख्क्ष्म् ज्ञढ विश्वव्यापी महामारी रुपमा फैलिसकेको छ । प्राणघातक यस भाइरसले गर्दा आजसम्म २१ हजारभन्दा बढि मानिसहरुको मृत्यु भइसकेको छ भने करिब ४.६ लाखको हाराहारीमा यसबाट संक्रमित भइसकेका छन् । यसबाट दैनिक हजारभन्दा बढीको मृत्यु र हजारौं संख्यामा संक्रिमित भइरहेका छन् । हाम्रै देशमा विदेशबाट फर्केका तिन जनालाई संक्रमण भएको पुष्टि भइसकेको छ । विदेशमा थुप्रै नेपालीहरु ऋइख्क्ष्म् ज्ञढ बाट संक्रमित भएका छन् । यसबाट अमेरिका र बेलायतमा गरी संक्रमित दुई जना नेपालीहरुको मृत्यु भइसकेको छ ।
चीनको बुहानबाट शुरु भएको मानिएको यस भाइरसबाट हुने निमोनिया रोगको औषधी अहिलेसम्म बन्न सकेको छैन । यस भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिमा सजिलै संक्रमण हुने र संक्रमित व्यक्तिले छोएको वा सारेको वस्तुमा कोरोना भाइरस लामो समय बाँच्ने हुँदा यसको संक्रमण डढेलो जस्तै फैलिरहेको छ । चीनमा झण्डै ८० हजार जनालाई संक्रमण र ३२०० जनाको मृत्यु भइसकेपछि भण्डै ३ महिनामा ऋइख्क्ष्म् ज्ञढ लाई नियन्त्रणमा ल्याउन चीन सफल भएको छ । चीनले जसरी अत्यन्त सतर्कतासहित बुहानलाई सिल्ड गरेर सरकारले यस भाइरसलाई नियन्त्रण गर्न तदारुकता र पहलकदमी देखायो, यसकै परिणामले गर्दा ऋइख्क्ष्म् ज्ञढ नियन्त्रण भएको देखिन्छ । तर इटाली, स्पेन, अमेरिका लगायत सम्पन्न देशहरुले यसलाई गंभीरतापूर्वक नलिदा यस भाइरसको संक्रमण नियन्त्रणभन्दा बाहिर गएको जस्तो देखिएको छ । भारतमा पनि कोरोना भाइरस फैलिँदै छ ।
फ्रान्सबाट यहि चैत्र ४ गते नेपाल फर्केकी युवतीमा कोरोना पोजिटिभ देखिएपछि सरकारले चैत्र ११ गतेदेखि नेपालमा लक डाउन गरेको छ । लक डाउन गर्ने कदम मानिसको भिडभाड हुन नदिन र कोरना फैलिन नदिन ठिक हो तर नेपाल जस्तो देशमा लक डाउन गरेर मात्र सरकार मुक्त हुन सक्दैन । यस बीचमा भारतीय नाका हुँदै नेपालमा लाखौं नेपालीहरु नेपाल भित्रिसकेका छन् । तिनका अवस्था अज्ञात छ । यस बीचमा थुप्रै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित देशहरुबाट हवाइ जहाजमार्फत नेपाल फर्केका छन् । यी मध्यकै तीन जना संक्रमित नेपालीहरु रहेको पुष्टि भइसकेको छ । उनीहरुको सम्पर्कमा रहेकाहरुको स्थिति अझै अज्ञात छ । यति मात्रै होइन, विदेशबाट १४ दिन अगाडिसम्म आएका नेपालीहरुको अवस्था कस्तो छ, यस कुरा पनि अज्ञात छ । सरकार यस कुरा पत्ता लगाउन तदारुकतासाथ लाग्न, उपचारका लागि आवस्यक किट तथा अन्य सामाग्री तुरुन्त व्यवस्था गर्न, क्वारेन्टाइन तथा आइशोलनमा कोरोनाका शंकास्पद विरामीलाई राख्ने व्यवस्था मिलाउन र कोरोनाका विरामीहरुलाई उपचार गर्न अस्थायी रुपमा भए पनि छुट्टै हस्पिटल खोल्नका साथै उपचारका लागि आवस्यक जनशक्तिको तुरुन्त व्यवस्था गर्न ध्यानाकर्षणसहित नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः सरकारसँग जोडदार माग गर्दछ ।
देशलाई लक डाउन गरी सकेपछि दिनहुँ काम गरी खानु पर्ने श्रमिक मजदुर तथा अन्य विपन्न वर्गका जनता भोकभोकै मरी अर्को महामारी फैलिन सक्छ । यसको लागि सरकारले तुरुन्त गाँस, बास र कपासका राहतका कार्यक्रम संचालनमा ल्याउन तथा स्वदेशमा उद्यमव्यवसाय गरी बसेका नेपालीहरुलाई कोरोनाका कारणले उनीहरुको व्यवसायमा गंभीर असर परेको हुँदा राहतका कार्यक्रम ल्याउन र सँगै लक डाउनका वेला दैनिक उपभोग्य वस्तुहरु र औषधीको सरल र सहज आपुर्तिको व्यवस्था गर्न नेवाः मोर्चा सरकारसँग जोडदार माग गर्दछ ।
देश लक डाउनमा रहेको अवस्थामा सरकारकै एउटा निकाय भूमिसुधार मन्त्रालयले गुठी विधेयक बारे सुझाव लिन भनी यही चैत्र १० गते समिति गठन गरेको छ । काम कुरा एकातिर कुम्लो बोकी थिमितिर भन्ने उखान चरितार्थ गर्नका लागि हो वा यस्तो संकटको वेला जनताको ध्यान अन्यत्र गएको वेला संधै र सबै प्रतिक्रियावादी सत्ताहरुले जनतालाई उल्लु बनाउने हर्कत गरे जस्तै यो ओली सरकारले पनि हतार हतार गुथि विधेयकको काम भित्रभित्रै सक्दैछ, यो गंभीर र शंकास्पद विषय बनेको छ । यदि ओली सरकार देशको यस्तो संवेदनशील अवस्थामा जनतालाई झुक्याउँदै जनता र देशलाई ठग्ने काम गर्दछ भने उसको आयु पनि छोटै हुने निश्चित छ । हाम्रो मोर्चा ओली सरकारलाई नेवाः जाति र समग्र जनता विरोधी हर्कत नगर्न गंभीर चेतावनी दिन चाहन्छ र नेवाः लगायत सम्पूर्ण जनतामा ओली सरकार प्रति सचेत रहन पनि आग्रह गर्दछ ।
पाहाँचह्रेसँगै नेवाः जातिका विभिन्न जात्रा र चाडपर्वहरुको आगमन हुन्छ । यस्ता जात्रा तथा चाडपर्वहरुमा मानिसको भिडभाड हुने हुँदा कोरोना जस्तो प्राणघातक भाइरस संक्रमणलाई ध्यानमा राखी कोरोनाको संक्रमणको अन्त्य नहुँदासम्म यस्ता भिडभाड हुने जात्रा, चाडपर्व नमनाउन र मनाउनै परेको अवस्थामा भिडभाड नहुने तरीकाले मनाउन नेवाः समुदायमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः हार्दिक अपील गर्दछ ।
अन्त्यमा यसै वक्तव्यमार्फत कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔँ भन्दै नेवाः मोर्चा आम जनसमुदायमा हार्दिक अपील गर्दछ । यसका साथै कोरोनाका विरुद्धको संघर्षमा नेवाः मोर्चा, आफ्नो बलबुता र क्षमताले भ्याएसम्म लागि पर्ने कुराको सबैमा जानकारी गराउँदछ ।”