उपत्यका बाहिर पनि भेटिए कोरोना संक्रमित, धनगढीमा उपचार हुँदै

प्रकाशित मिति : २०७६ चैत्र १४

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमित उपत्यकाबाहिर पनि भेटिएका छन् । नेपालमा चौथो चौथो संक्रमित कैलालीको धनगढीमा भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कोरोना भाइरसको चौथो संक्रमितको बारेमा जानकारी दिएका छन् । देवकोटाका अनुसार संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन् । बैदेशिक रोजगारीमा रहेका उनी दुबईबाट फर्किएका थिए । ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

संक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए । प्रवक्ता देवकोटाले अरु पनि संक्रमित व्यक्ति हुन सक्ने बताउँदै क्वारेन्टाइनमा बस्न अनुरोध गरका छन् ।

उपत्यकाबाहिर देखिएको यो पहिलो संक्रमण हो । जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८०२ जनाको नमुना परीक्षण भइसकेको छ । जसमध्ये ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा संक्रमण पुष्टि भएको छ । देशैभर गरेर १३ जनालाई संक्रमणका आशंकामा अस्पताल भर्ना गरेर उपचार भइरहेको बताइएको छ । कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन् ।

भारतमा ह्वात्तै बढ्यो संक्रमण
यसैबीच, भारतमा गएको २४ घण्टामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् । भारतमा एकैदिन ७५ जना कोरोना संक्रमित बढेको भारतीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । यो संख्या कोरोनाको संक्रमित भारतमा भेटिएयता राखिएको दैनिक तथ्यांकको सबैभन्दा बढी संख्या हो ।
यससँगै भारतमा हालसम्म ७ सय ५३ कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ २० जनाको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमण बढ्न नदिन भारतमा गत मंगलबारदेखि २१ दिनसम्म लकडाउन गरिएको छ ।