भारतको छत्तिसगढमा माओवादी छापामार र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त, मारिए १७ जना सुरक्षाकर्मी, १५ को अवस्था गम्भीर

प्रकाशित मिति : २०७६ चैत्र १०


न्यूज एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार र भारतीय सुरक्षाकर्मी बीच भएको दोहोरो भिडन्तमा १७ जना भारतीय सुरक्षाकर्मी मारिएका छन् भने १५को अवस्था गम्भीर रहेको समाचार एजेन्सीहरुले दावी गरेका छन् ।

प्राप्त समाचार अनुसार भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको कोराजगुडा पहाडमा २१ मार्चका दिन दिउँसो २.३० बजे भएको दोहेरो भिडन्तमा १७ जना सुरक्षाकर्मी मारिएका हुन् । सोही भिडन्तमा घाइतेभएकामध्ये १५ जनाको अवस्था गम्भिर रहेको छ ।

न्यूज एजेन्सीहरुका अनुसार माओवादीका विरुद्ध अपरेसनमा निस्किएको जिल्ला रिजर्भ गार्ड, स्पेसल टास्क फोर्स, कोब्रा बटालिएनसहितको संयुक्त कारबाही टोली माओवादी छापामारहरुको एम्बुसमा परेको थियो । १५० जनाभन्दा बढी रहेको सरकारी फोर्स एम्बुसमा परेपछि दोहोरो भिडन्त भएको थियो । घटनास्थलका घाइते सुरक्षाकर्मीलाई उपचारको लागि हेलिकप्टरबाट रायपुर लगिएको कुरा पनि भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतीय प्रहरी अधिकारीहरूले उक्त आक्रमणमा हिँडमाको कमान्डमा ३०० माओवादी संलग्न भएको दावी गरेको समाचारमा बताइएको छ ।

छत्तिसगढ राज्यको सुक्मा माओवादी पार्टीको बलियो जनाधार भएको क्षेत्र मानिन्छ र सन् २०१४ मा पनि त्यहाँ माओवादी सेनासितको भिडन्तमा १३ जना सरकारी फौजको मृत्यु भएको थियो ।