कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै पत्रकारको स्वास्थ्यका लागि विशेष व्यवस्था गर्न क्रान्तिकारी पत्रकार महासंघको जोडदार माग

प्रकाशित मिति : २०७६ चैत्र ७

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै समाचारका लागि फिल्डमा खटिने पत्रकारहरुको स्वास्थ्यका लागि विशेष व्यवस्था गर्न जोडदार माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शुक्रबार एक वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “कोरोना भाइरस (कोभिड–१९) विश्वका १८२ देशमा फैलिसकेको छ । यो भाइरसले आजसम्म १० हजार ४९ जनाको ज्यान लिइसकेको छ भने शुक्रबारसम्म २ लाख ४६ हजार २० जना संक्रमित बनेका छन् । तीव्र गतिमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नेपाल उच्च जोखिममा रहेको छ । भारतका २० वटा राज्यमा फैलिएको कोरोना भाइरस नेपालसँगको खुला सिमाना र ठूलो संख्यामा नेपाली कामदार भारतबाट नेपाल फर्किरहेको सन्दर्भमा नेपालमा संक्रमितहरुको संख्या भित्रभित्रै बढिरहेको हुनसक्ने अनुमान गर्न थालिएको छ । संभावित जोखिमको मध्येनजर गर्दै सरकारले जति तीव्रताका साथ यसको पूर्वतयारी गर्नुपर्ने हो त्यो गर्न सकिरहेको छैन । संक्रमणको जोखिमबाट नागरिकहरुको स्वास्थ्य रक्षा गर्नु सरकारको दायित्व हो । माहामारीबाट बच्न जनताहरु स्वयम्ले पनि उच्च सतर्कता देखाउनुपर्ने देखिएको छ ।
यस अवस्थामा दिनरात प्रत्यक्ष रिपोर्टिङमा खटिने र संक्रमित तथा घटनास्थलमा पुगेर स्थलगत रिपोर्टिङ गर्नुपर्ने हुँदा पत्रकार तथा सञ्चारकर्मीहरुको स्वास्थ्य स्वभाविक रुपमा थप जोखिममा रहेको छ । तसर्थ, पत्रकारहरुको लागि जोखिमयुक्त स्थानमा रिपोर्टिङमा जाँदा प्रयोग गरिनुपर्ने आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन र पत्रकारहरुको स्वास्थ्य रक्षाका लागि विशेष कोषको स्थापना गर्न आम श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संगठन क्रान्तिकारी पत्रकार महासंघ सरकारसित जोडदार रुपमा माग गर्दछ । र, त्यसका लागि पहल गर्न र अग्रसरता देखाउन सञ्चार सम्बद्ध संस्था, मिडिया हाउसलगायत सम्बन्धित सबैसँग हार्दिक आग्रह समेत गर्दछ । साथै, समाचार संकलनका लागि फिल्डमा खटिने सबै श्रमजीवी पत्रकारहरुलाई पनि उच्च सतर्कता अपनाउन विशेष रुपमा अपील गर्दछ ।”