क्रान्तिकारी माओवादीले कोरोना भाइरस सङ्क्रमणबारे सचेतना तथा सतर्कता कार्यक्रम सञ्चालन गर्ने, चैत्र २४ को केन्द्रित जनसभा स्थगित, ‘लिम्पियाधुरा क्षेत्र जाऔ’ अभियान यथावत

क्रान्तिकारी माओवादीले कोरोना भाइरस सङ्क्रमणबारे सचेतना तथा सतर्कता कार्यक्रम सञ्चालन गर्ने, चैत्र २४ को केन्द्रित जनसभा स्थगित, ‘लिम्पियाधुरा क्षेत्र जाऔ’ अभियान यथावत


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को पालिटव्यूरो बैठकले कोरोना भाइरस सङ्क्रमणबारे पार्टीको पहलमा सचेतना तथा सतर्कता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको ६ गते सम्पन्न पोलिटब्यूरो बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा विश्वव्यापी रुपमा फैलदै गएको कोरोना सङ्क्रमण ९कोविड–१९० महामारी तथा त्यसबाट उत्पन्न हुन सक्ने खतरामाथि आवश्यक ध्यानदिंदै पार्टीद्वारा सञ्चालित राष्ट्रिय स्वाधीनता तथा सङ्गठन विस्तार अभियान अन्तर्गत यही चैत्र २४ गते केन्द्रीकृत जनसभाका रुपमा काठमाडौमा आयोजित समापन कार्यक्रम रोक्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

बैठकले उक्त अभियान अन्तर्गतकै २०७७ बैसाख महिनाको अन्तिम सातामा आयोजित “लिम्पियाधुरा क्षेत्रमा जाऔ” कार्यक्रम भने यथावतै राख्ने निर्णय लिएको जनाइएको छ ।

वक्तव्यमा पार्टीका आन्तरिक सङ्गठन व्यवस्थापन तथा जनपरिचालन सम्बन्धी काम सामान्यतः जारी राख्ने, राष्ट्रिय स्वाधीनताको रक्षासित सम्बन्धित लिम्पियाधुरा, कालापानी तथा लिपुलेक र एमसीसी लगायतका विषयबारे विरोध स्वरुप गरिने सामान्य प्रचारात्मक काम कायमै राख्ने र कोरोना भाइरस सङ्क्रमणबारे पार्टीको पहलमा सचेतना तथा सतर्कता कार्यक्रम सञ्चालनलाई व्यवस्थित तुल्याउनका लागि केन्द्रीय कार्यालयलाई आवश्यक सल्लाह–सुझाव दिन अमृतको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरिएको जनाइएको छ ।