क्रान्तिको कार्यभार युवाहरुको काँधमा आएको छ, युवाहरुले गम्भीर अध्ययन गर्नुपर्छ : महासचिव किरण

प्रकाशित मिति : २०७६ चैत्र ५

- अनु निरौला


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार युवाहरुको काँधमा आएको बताउनु भएको छ । क्रान्तिका लागि युवाहरुले गम्भीर रुपमा अध्ययनलाई बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो । महासचिव किरणले २२ औं साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । अखिल नेपाल जनसाँस्कृतिक महासंघ र इच्छुक साँस्कृतकि प्रतिष्ठानको संयुक्त आयोजनामा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले क्रान्तिका लागि वस्तुगत र आत्मगत दुवै हिसाबले कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा पनि जोड दिनु भयो ।

विद्यमान संसदीय राज्यव्यवस्थाको समूल नष्ट गरी नेपालमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने उद्देश्यसहित जनयुद्ध गरिएको चर्चा गर्दै महासचिव किरणले नेतृत्वमा आएको विचलनका कारण चुनुवाङबाटै माओवादी आन्दोलन चिप्लिएको ठहर गर्नुभयो । दशवर्षको जनयुद्धमा जनयोद्धाहरुले त्याग, तपस्या र बलिदानको अद्वितीय कीर्तिमान कायम गरेको भन्दै उहाँले महान सहिदहरुको बलिदान खेर नजाने र बलिदानको जगमा क्रान्तिको अर्को प्रक्रिया नयाँ ढंगले अगाडि बढाइने बताउनु भयो ।
क्रान्तिका सामु अहिले राजनीतिक, आर्थिक, साँस्कृतिक सबैखाले संकट रहेको चर्चा गर्दै उहाँले संकटको समाधान गरेर अगाडि बढ्नका निम्ति छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।


प्रा.डा जगदीशचन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मित्रलाल पंज्ञानीले गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता दिनेश शर्मा, प्रा.डा. ताराकान्त पाण्डेयले बोल्नु भएको थियो । कार्यक्रममा पार्टी पीवीएम पवनमान श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको बीचमा कवि वलराम तिमिल्सिनाले कविता प्रस्तुत गरेका थिए भने सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।