काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले भारत र पाकिस्तानलाई नजिक्याएको छ । पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढाउन नचाहेको भारतले एक्कासि कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यस क्षेत्रको साझा रणनीति बनाउन प्रस्ताव गरेको छ । भारतको यस प्रस्तावलाई पाकिस्तानले पनि सकारात्मक रुपमा लिएको जनाएको छ । र, आइतबार नै सार्क राष्ट्रका प्रमुखहरुका बीचमा इन्टरनेट भिडियो कन्फरेन्स हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ट्वीटमार्फत् गरेको यस्तो प्रस्तावले लामो समयदेखि निष्क्रिय सार्कले नयाँ जीवन पाउने आशा गरिएको छ । मोदीले ‘भिडियो कन्फ्रेन्स’ का लागि गरेको प्रस्तावमा नेपाल, श्रीलंका, भुटान र माल्दिभ्समात्र होइन, पाकिस्तान पनि तयार देखिएको छ । यस क्षेत्रको मुख्य शक्ति भारतका तर्फबाट भएको यस्तो पहल सार्कर्लाई ब्युँताउने एउटा अवसर हुन सक्ने विश्लेषण गरिएको छ ।

हार्दिक शुभकामना !

केही वर्षयता यस क्षेत्रमा पाकिस्तानलाई अलग्याउनकै लागि भारतले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) र बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन ‘बीबीआईएन’ लाई मात्रै अघि बढाउन भगिरथ प्रयत्न गरिरहेको थियो । तर अहिले आएर नयाँदिल्लीले पाकिस्तानलाई अलग्याएर यस क्षेत्रमा अघि बढ्न सम्भव नभएको अनुभूति गरेको र त्यसको अभिव्यक्ति कोरोना भाइरस विरुद्धको साझा रणनीति बनाउने बहानासँगै भएको कुटनीतिक वृतमा चर्चा छ । यसलाई भारतीय अडानमा आएको परिवर्तनका रूपमा पनि विश्लेषण गरिएको छ ।

अहिले पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यकलाई भारतीय नागरिकता दिने कानुनको भारतभित्र र बाहिर व्यापक विरोध भइरहँदा मोदीले थोरै हदसम्म आफ्नो ‘घृणाको राजनीति’ ले पु¥याएको क्षति नियन्त्रण गर्न सकियोस् भनेर पनि सार्कको नाम लिएका हुन् कि भन्नेको पनि कमी छैन ।


हाल सार्कको अध्यक्ष राष्ट्रको रुपमा नेपाल रहेको छ । २०७१ मंसिरमा काठमाडौंमा भएको सार्कको १८ औं सम्मेलनबाट अध्यक्ष बनेको नेपालले त्यसको दुई वर्षमै पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्नुपर्ने थियो । पोखरामा २०७२ फागुन ३० मा भएको सार्कको विदेशमन्त्री स्तरीय बैठकले १९औं सम्मेलन कात्तिक २०७३ मा इस्लामावादमा गर्ने निर्णय पनि गरेको थियो । तर, त्यही वर्ष भदौमा भारत, जम्मु–कश्मीरको उरीमा ‘पाकिस्तानी उग्रवादी’ को हमलामा १७ भारतीय सैनिक मारिएपछि भारत–पाकिस्तान सम्बन्ध त तनावपूर्ण बन्यो नै, सार्क सम्मेलन पनि स्थगित भयो । दुई–दुई वर्षमा हुनुपर्ने सम्मेलन पाँच वर्ष बितिसक्दा पनि अझै हुन सकेको छैन । यसबाट संगठनकै भविष्यमाथि प्रश्न उठ्न थालेको थियो ।

यसै अवसरमा कमजोर रूपमा रहेका सार्कका सचिवालय र संरचनाहरूलाई सबलीकरण गरेर यस्ता संकटहरूसँग जुध्न सक्ने बनाउनेबारे गृहकार्य थाल्न सकिन्छ । खास गरेर अहिले यस क्षेत्रका एकअर्का मुलुकले गर्न सक्ने भनेकै अनुभव आदानप्रदान हो । पुस दोस्रो साता चीनको वुहानबाट फैलिएर १ सय ३० भन्दा बढी देशमा पुगिसकेको कोरोना भाइरसको संक्रमण सार्क मुलुकमा पनि बढ्दो छ । भारतमा मात्रै ८२ जनामा संक्रमण पुष्टि भएको छ भने तीमध्ये दुईजनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा २८ जनामा संक्रमण देखिएको छ । अफगानिस्तान, बंगलादेश, माल्दिभ्समा, श्रीलंका, भुटान र नेपालमा पनि यसबाट संक्रमित भेटिएका छन् ।

झण्डै दुई महिनाअगाडि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) अहिले १२७ भन्दा धेरै देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पशुबाट मानवमा सर्ने कोरोना भाइरस सात प्रकारका छन् र यसले मुलतः मानव श्वासप्रश्वास प्रणालीमा संक्रमण पैदा गर्छ । यसमध्ये चार प्रकारका कोरोना भाइरस (229E, NL63, OC43 / HKUI  ) को असर रुघाखोकीजस्तो सामान्य हुन्छ भने (SARS -COV / MERS -COV ) को संक्रमणको असर अलि धेरै रहन्छ । हाल देखिएको कोरोना भाइरस भने सातौं प्रकारको कोरोना भाइरस हो ।

प्रारम्भिक अध्ययन अनुसन्धानले यो भाइरस केही वर्षअघि देखिएको सार्स र मार्सजस्तै पशुबाट मान्छेमा सरेको जुनोटिक प्रकृतिको रहेको साथै मानिसबाट पनि पशुमा सरेको पाइएको छ । यो भाइरसले संक्रमित मान्छेले खोक्दा, हाछ्यू गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट अर्को स्वस्थ मान्छेको हात, आँखा, मुख हुँदै शरीरभित्र छिरेर श्वासप्रश्वास प्रणालीमा संक्रमण पैदा गर्छ । यसको सामान्य लक्षण देखिन र पहिचान गर्न पनि २ देखि १४ दिनसम्म लाग्ने भएकाले तत्कालका लागि यसलाई फरक प्रकृतिको भाइरसको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर