क्रान्तिकारी ट्रेड युनियन महासंघले दुई महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने

क्रान्तिकारी ट्रेड युनियन महासंघले दुई महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने


ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मई दिवसलाई लक्षित गरि दुईमहिने अभियान सञ्चालन गर्ने भएकाे छ । महासंघको सम्पन्न केन्द्रीय सचिवालयको विस्तारित बैठकले यस्ताे निर्णय गरेकाे हाे । महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षता र पुर्व अध्यक्ष दिनेश शर्माको आतिथ्यमा सम्पन्न बैठकले  सङ्गठन र संघर्षको क्षेत्रमा महत्त्वपूर्ण निर्णय गर्दै मजदुर दिवश(मे १)लाई लक्षित गरि २ महिने श्रमिक जागरण तथा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हाे ।


निर्णय अनुसार अभियान केन्द्रीय र प्रदेश गरि दुई तहमा संचालित हुनेछ । यसै गरि बैठकले अभियान सम्बन्धी विशेष निर्देशिका जारी गर्दै नियमित टिम, मुख्य टिम र सहायक टिमको अवधारणा सहित कार्य विन्यास समेत गरेको छ, जस अन्तरगत सङ्गठनका अध्यक्ष महासचिव सहित अर्जुनलाल श्रेष्ठ, कुमार घताने, दिनेश बर्तौला र बालकृष्ण सिटौलाको नियमित टिम, सङ्गठनका केन्द्रीय घटकका अध्यक्ष/संयोजक र केन्द्रीय समिति सदस्य समेतको मुख्य टिम र घटकका पदाधिकारी रहेको सहायक टिम बनाईएको छ ।


महासंघका महासचिव वसन्त बोगटीले सञ्चालन गरेकाे
बैठकमा महासंघका पुर्व अध्यक्ष शर्माले प्रशिक्षण मन्तव्य राख्दै  सिङ्गो महासंघलाई आजको स्थितबाट माथी उठाई आम उत्पीडित श्रमिक वर्गको भरोसा योग्य सङ्गठनको रुपमा विकास गर्न आव्हान गर्नु भयो । “क्रान्तिकारी पार्टी र सङ्गठन भित्र अन्तरविरोधहरु देखा पर्नु कुनै नौलो  विषय होइन । यो क्रान्तिको नियमित प्रक्रिया अन्तरग हुने कुरा हो ।” उहाँले भन्नुभयाे, “यसलाई हामीले मैत्रीपुर्ण रुपमा एकता, संघर्ष र रुपान्तरणको विधिमार्फत हल गर्नु पर्दछ ।” उहाँले आजको वस्तुगत आवश्यकताको जगमा हाम्रो आत्मगत र आन्तरिक पक्षलाई सुदृढ, मजबुत र व्यवस्थित गर्न जोड गर्नुभयो । त्यसैगरी महासंघका अध्यक्ष तिमिल्सिनाले अभियानको मुल उद्देश्य माथि जोड दिदै श्रमिक वर्गका विभिन्न पेशागत हक अधिकारलाई ध्यान दिई आगामी मजदुर दिवशलाई विशेष उत्सवको रुपमा सम्पन्न गर्ने दिशातिर सिङ्गो महासंघलाई सक्रिय र गतिशील बनाउन महासंघले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।