‘महिलाहरु तुच्छ घरेलु दासको रुपमा रहेका छन्, मुक्तिका निम्ति राजनीतिक र सामाजिक काममा संलग्न हुुनुपर्छ’ : महासचिव किरण

प्रकाशित मिति : २०७६ फाल्गुन २५

- अनु निरौला

काठमाडौं । श्रम कार्यदिवस, श्रमको समान ज्याला, राजनीतिक मताधिकार, सबै प्रकारका भेदभावका विरुद्ध अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरेको प्रसंग कोट्याउँदै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले आजकल महिला दिवस मात्रै भनिन्छ ‘श्रमिक’को प्रयोग गर्न छाडिएको बताउनु भयो । सर्वहारावर्गका श्रमिक महिला अन्दोलनको उपलब्धिको रुपमा नै ८ मार्च मनाउन थालिएको बताउँदै महासचिव किरणले सबैले यो दिवस मनाउनु खुशीको कुरा भएपनि महिला दिवसमा ‘श्रमिक’ शब्द छुटाइनु दुःखको कुरा भएको बताए । “श्रमिक शब्द कता हरायो ?’ महासचिव किरणले प्रश्न गरे, “महिला मुक्ति श्रमिक महिला वर्गहरुलाई चाहिएको होइन र ?’ आदिम साम्यवादी समाजमा मातृसत्ता रहेको विभिन्न तथ्य प्रमाणले पुष्टि गरेको र त्यसबेला शोषण उत्पीडन नरहेको, शोषण उत्पीडनको स्रोत भनेको निजी सम्पत्ति, परिवार र राज्यसत्ता भएको भन्दै महासचिव किरणले त्यहींबाट पितृसत्ताको सुरुवात भएको बताउनु भयो । उहाँले भन्नुभयो, “पितृसत्ताले महिलामाथि उत्पीडन सुरु ग¥यो ।” दासयुग, सामन्तवादी युग, पुँजीवादी युग सबै पितृसत्तामा आधारित राज्यव्यवस्था भएको चर्चा गर्दै महासचिव किरणले वास्तविक अर्थमा श्रमिक महिला वर्गको मुक्ति वैज्ञानिक समाजवाद हुँदै साम्यवादी युगमा मात्र हुने स्पष्ट पार्नुभयो ।


महिलाहरु तुच्छ घरेलु दासको रुपमा रहँदै आएको भन्दै महासचिव किरणले त्यसका लागि महिलाहरु घरबाट बाहिर निस्केर सामाजिक र राजनीतिक काममा संलग्न हुनुपर्ने आवश्यकता औल्याउनु भयो । त्यसका लागि शिशु स्याहार केन्द्र, सामुहिक भान्साघर, बच्चाहरुको पढ्ने स्कूललगायतको स्थापना गर्ने काम राज्यले गर्नुपर्ने बताउँदै महासचिव किरणले यस्तो कार्य पुँजीवादी प्रतिक्रियावादी सत्ताले नगर्ने दावी गर्दै रुसमा लेनिनको नेतृत्वमा स्थापित भएको समाजवादी राज्यव्यवस्थाले त्यो काम गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।

विश्वमा महिला मुक्ति आन्दोलनमा संसदवादी, संशोधनवादी तथा अवसरवादी, नारीवादी र माक्र्सवादी गरी चारवटा धारा रहेको भन्दै क्रान्तिकारी श्रमिक महिलाहरुले संसदवादी, संशोधनवादी तथा अवसरवादी र नारीवादी धाराले फैलाएको भ्रमलाई चिर्दै आमूल परितर्वनकारी सिद्धान्त माक्र्सवादी धारामा आवद्ध भई वैज्ञानिक समाजवाद तथा साम्यवादका निम्ति लड्नुपर्ने कुरामा जोड दिनु भयो ।


उहाँले भन्नुभयो, “क्रान्तिकारी महिला र क्रान्तिकारी पुरुष एकढिक्का भएर पितृसत्ताका विरुद्ध लड्नु पर्छ ।” नेपालमा भएको जनयुद्धमा थुप्रै शोषित पीडित महिलाहरु जनयुद्धमा सामेल भएका थिए । र उनीहरुले बन्दुक बोके । आधारइलाका, अस्थायी सरकारमा लैङ्गिक विभेदहरु अन्त्य हुँदै गएको थियो । पछि नेतृत्वले जनयुद्धमाथि धोका र गद्दारी गरेपछि ती सबै उल्टिए । अहिले जे जति महिलाका अधिकारहरु संविधानमा उल्लेख गरिएका छन् ती पनि सबै जनयुद्धकै कारण प्राप्त भएका हुन् । तर स्थिति अहिले पुरानै दोहोरिएजस्तो भएको छ । हिजो एमाले र कांग्रेसले जनयुद्धको कालमा हामीमाथि जे गथ्र्यो, आजको यो सरकारले हामीमाथि त्यही गरिरहेको छ । कम्युनिस्ट महाराजहरुबाट महिला मुक्ति सम्भव छैन । नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्तिको प्रक्रिया फेरि अगाडि बढ्छ । सम्पूर्ण सच्चा क्रान्तिकारीहरु र उत्पीडित महिला, जनजाति, मधेसी, मुस्लिम, थारु लगायत सबै शोषित र उत्पीडित वर्गहरुलाई एकताबद्ध तुल्याउनु पर्दछ । अन्ततः जनताको जित निश्चित छ ।”


अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ललितपुरको कुपण्डोल कार्यालयमा आयोजना गरेको ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष हिरामणि दुःखी, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना लगायतका नेताहरुले महिला उत्पीडनका विरुद्ध श्रमिक महिलाहरु वर्गमुक्ति आन्दोलनसँग एकाकार भएर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो । महिला नेतृ शारदा महतले सञ्चालन गरेको कार्यक्रममा पार्टी पीवीएमहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, प्रवेश लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

यसैबीच, अनेसंघ (क्रान्तिकारी) रुपन्देही र बर्दिया जिल्लाको पनि आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । रुपन्देहीको कार्यक्रमलाई क्रान्तिकारी माओवादीका पीवीएम प्रेम सुवेदी र बर्दियाको कार्यक्रमलाई वैकल्पिक पीवीएम भूपेन्द्र न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।