सम्पादकीय : श्रमिक महिला दिवस मनाउनुको अर्थ

प्रकाशित मिति : २०७६ फाल्गुन २५


८ मार्च अर्थात् २५ गते २०७६ मा विश्वभरका श्रमजीवि शोषित उत्पीडित महिलाहरुले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । विभिन्न कार्यक्रम गरी नेपालका शोषित उत्पीडित महिलाहरुले पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाए । अन्तर्राष्ट्रिय महिला दिवसलाई श्रमजीवि शोषित उत्पीडित महिलाहरुले आफूहरुमाथि राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा लादिएको विभेद, शोषण, दमन र उत्पीडनका विरुद्ध विद्रोह गर्ने तथा मूलतः राजनीतिक अधिकार प्राप्तिको आन्दोलनको संकल्पसहित मनाउने गर्दछन् । यसपटक पनि खासगरी श्रमजीवि शोषित उत्पीडित क्रान्तिकारी महिलाहरुले महिला मुक्ति आन्दोलनको संकल्प गर्दै यो दिवस मनाएका छन् ।

नेपालमा श्रमजीवि शोषित उत्पीडित महिलाहरुले आफ्नो मुक्तिका निम्ति विभिन्न कालखण्डमा विभिन्न आन्दोलन गर्दै आएका छन् । हरेक राजनीतिक आन्दोलन, संघर्ष, युद्ध वा क्रान्तिमा महिलाहरुले महत्वपूर्ण त्याग र बलिदानको कीर्तिमान पनि कायम गर्दैै आएका छन् । दशवर्षे जनयुद्धमा महिलाहरुको करिब ४० प्रतिशत भन्दा बढी सहभागिता रहेको थियो । हजारौं महिलाहरुले जनयुद्धमा बलिदान गरे । युद्धमोर्चाको अग्रमोर्चामा रहेर लड्ने देखि प्रतिक्रियावादी जेल ब्रेक गरेका गौरवशाली इतिहास जनयुद्धको क्रममा नेपाली महिलाहरुले रचे । तर महिलाहरुले अपेक्षित अधिकार प्राप्त गर्न सकेनन् । खासगरी दशवर्षे जनयुद्धमाथि धोका र गद्दारी भएसँगै हावी हुन पुगेको पुरानै वर्गसत्ताका कारण श्रमिक वर्गीय महिलामाथिको उत्पीडन अझ बढेर गएको छ ।

दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन तथा आदिवासी जनजाति आन्दोलनको उपलब्धिको रुपमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाले संविधानको मौलिक हकअन्तर्गत धारा ३८ को महिलाको हकमा प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरूद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भए कानुनबमोजिम दण्डनीय हुने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ ।

तर विभिन्न प्रकारका घरेलुहिंसा, यौनहिंसा, बलात्कार गर्भमै लिंग पहिचान गरी गरिने भ्रुणहत्या, बोक्सीको आरोपमा गाउँ निकाला, दाइजो प्रथाका नकारात्मक असरले उकासेको सामाजिक विकृति र महिला उत्पीड़न, छाउगोठभित्र मृत अवस्थामा भेटिएका झुमाहरू, बालविवाह, प्रेमप्रस्ताव अस्वीकारका निहुँमा पटक–पटक एसिड आक्रमण आदि अकल्पनीय र हृदयविदारक घटना थुप्रै संख्यामा दिनानुदिन भइरहनुले महिलाले प्राप्त गरेका हकÞ र अधिकारका विषय केबल कागजमा सीमित हुन पुगेका छन् । पैत्रिक सम्पत्तिमा छोरासरहको हक, समान कामको समान ज्याला, राज्यका सबै निकायमा सहभागिताको व्यवस्था, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुने व्यवस्था गरिएको भएपनि त्यसको पितृसत्तावादी सोच तथा मानसिकताले गर्दा कार्यान्वयन भएको छैन । र, कानुनका हरेक दफा र धारा हिन्दु धर्मशास्त्रबाट प्रभावित रहेका कारण पनि त्यो हुने पनि देखिन्न ।

वर्गीय समाजमा हरेक कुरा वर्गीय हुन्छ भनेझैं अहिलेको सत्ताको वर्गचरित्र नै महिलामाथि हुने सबै प्रकारका भेदभाव, शोषण र उत्पीडनको कारक तत्वको रुपमा रहेको छ । यो व्यवस्था भनेको दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तवर्गको हितरक्षामा आधारित रहेको छ । वर्तमान राज्यव्यवस्था तथा संविधान भित्रबाट महिलाहरुको वास्तविक मुक्ति सम्भव छैन । राज्यका सबै स्रोतसाधनको समानुपातिक रुपमा वितरण गर्ने राज्यप्रणालीको स्थापना नभएसम्म महिलामाथि हुँदै आएको विभेद र उत्पीडनका अन्त्य सम्भव छैन । विशेष अधिकारसहित महिलाहरुलाई राज्यका सबै निकायमा पहुँच स्थापित गर्दै राजनीतिक, आर्थिक, सामाजिक अधिकारहरुको प्रत्याभूतिको ग्यारेण्टी भनेको नयाँ जनवादी तथा समाजवादी राज्यव्यवस्थामा मात्र सम्भव हुन्छ । वर्गमुक्तिविना लैङ्गिक मुक्ति सम्भव छैन । जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन प्रस्ताव गरेनुसार सन् १९११ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय महिला दिवसको सारतत्व भनेको यही हो । यसको गहिरो अर्थ, महत्व र आवश्यकताको बोधसहित महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर अगाडि बढाउने संकल्प गर्नु नै शोषित उत्पीडित श्रमजीवि महिलाहरुको आजको प्रमुख र ऐतिहासिक कार्यभार हो ।