काठमाडौं । संगठनका अध्यक्ष र उपाध्यक्षको विनाशर्त अविलम्ब रिहाईको माग राख्दै अखिल (क्रान्तिकारी)ले आजका लागि आव्हान गरेको आम शैक्षिक हड्ताल फिर्ता लिएको जनाएको छ । संगठनको तर्फबाट महासचिव पेशल दाहालले बिहीबार जारी गरेको वक्तव्यमा कोरोना भाइरसका कारण बार्षिक परीक्षा तालिका भन्दा अगावै चैत्र ५ गतेभित्र परीक्षा सक्ने गरी विद्यालयहरुले तयारी गरेको र कतिपय विद्यालयमा परीक्षा सुरु भएकोले परीक्षा प्रभावित हुने देखिएको र विद्यार्थी, अभिभावक र विद्यालयहरुको समेत अनुरोधलाई सम्बोधन गर्दै २३ गतेकोे लागि आव्हान गरेको आम शैक्षिक हड्ताल तत्कालका लागि फिर्ता लिइएको जनाइएको छ ।


वक्तव्यमा भनिएको छ, “विश्वव्यापी संकटको रुपमा अगाडि आएको नोबेला कोरोना भाइरसले हाम्रो देशमा पनि पैदा गरेको त्रासदीपूर्ण मनोविज्ञान, जसको आधारमा चैत्र ५ भित्र विद्यालयहरुले अनिवार्य रुपमा बार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने सरोकारवाला निकायको निर्णय, आम अभिभावकहरुको सुझावपूर्ण अनुरोध र विद्यार्थीहरुको बोर्ड परीक्षालाई समेत विशेष ध्यान दिंदै नेपाली विद्यार्थीहरुको प्रिय र एक जिम्मेवार विद्यार्थी संगठन हुनुको हैसियतले २०७६ फागुन २३ मा हाम्रो संगठनको तर्फबाट गर्ने भनिएको आम शैक्षिक हड्ताल हाललाई स्थगित गरिएको सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”
वक्तव्यमा नेताहरुको रिहाई नभएसम्म अन्य संघर्षका कार्यक्रमहरुलाई सशक्त रुपमा अगाडि बढाउने जनाइएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर