
बुटवल । कञ्चनपुरको महेन्द्रनगरबाट सुरु गरेको पश्चिमको केन्द्रीय अभियान टोलीले भव्य रुपमा जनयुद्ध दिवस मनाएको छ । विहान रुपन्देहीको हरैया चोकमा कोणसभा सम्पन्न गरेको यो अभियान टोलीले दिउसो बुटवलको पुष्पलाल चोकमा नाराजलुससहित जनयुद्ध समारोह भव्य रुपमा मनाएको हो ।
हरैया चोकको कोणसभाको सञ्चालन केजी कुमारले गरेका थिए भने कोणसभालाई पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस र केस तेजविक्रम शाहीले सम्बोधन गरेका थिए । त्यसपछि अभियान टोली बुटबल बजारको पुष्पलाल चोकमा आयोजित २५ औं जनयुद्ध दिवस समारोहमा सहभागि भयो ।
बुटवलको ट्राफिक चोकबाट सुरु भएको जुलुस पुष्पलाल चोकमा पुगेर सभामा परिणत भएको भएको थियो ।
रुपन्देही जिल्लाका सेक्रेटरी विनोद मरासिनीको अध्यक्षतामा सम्पन्न जनयुद्ध दिवस समारोहलाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएम धनेश्वर पोखरेल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य पिताम्बर आचार्य, अखिल नेपाल आदिवासी जनजाति महासंघका तर्फबाट दलबहादुर छन्त्याल, मुस्लिम राष्ट्रिय मुक्ति मोर्चाका तर्फबाट मोजिव अली र सम्पूर्ण जबसको तर्फबाट अखिल (क्रान्तिकारी)का सचिव महेश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख वक्ता श्रीस लगायत सबै वक्ताहरुले जनयुद्ध जुन उद्देश्यको लागि सुरु गरिएको थियो, त्यो उद्देश्य पुरा नभएको भन्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न सशस्त्र जनविद्रोह अपरिहार्य रहेको कुरामा जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य छवि खरेलले राखेका थिए । जनयुद्ध दिवस समारोहमा पार्टीका पीवीएम तथा ५ नं. प्रदेशका इन्चार्ज प्रेम सुवेदी, क्रान्तिकारी युवा लिगका महासविच दिलबहादुर कठायत लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने स्थानीय जनताहरुको समेत सहभागिता रहेको थियो ।
माघ १५ गतेबाट यो अभियान टोलीले सात नम्बर प्रदेश, ६ नं. प्रदेश र ५ नं. प्रदेशका जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तारको अभियान सञ्चालन गरिरहेको छ । यतिखेर क्रान्तिकारी माओवादी चैत्र २४ सम्म देशव्यापी अभियानमा निस्किएको छ ।