काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष एवम् नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सिपी गजुरेल गौरवले एमसीसी कुनै पनि हालतमा खारेज गर्नु पर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंको रत्नपार्क शान्ति वाटिकामा भएको नौं दलको विरोध सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले एमसीसी पुरै खारेज गर्नु पर्नेमा जोड दिंदैं सत्ताधारी दलहरुले भनेझैं त्यसलाई सच्याएर ल्याउनु पनि गलत हुने बताउनुभयो ।
नेता गजुरेलले अमेरिका कुनै पनि तरिकाले एमसीसीको नाममा नेपालमा सेना सहित प्रवेश गर्न खोजेकोले एमसीसी खारेज गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले एमसीसीलाई सच्चाएर ल्याइए पनि आफ्नो पार्टी एमसीसीको पक्षमा नरहने स्पष्ट पार्नुभयो ।
त्यसैगरी उहाँले भारतीय पक्षबाट भएको सीमा अतिक्रमण विरुद्धको मुद्दालाई ओझेलमा पार्न एमसीसीलाई अगाडि ल्याएको पनि दावी गर्नुभयो ।
उहाँले भन्नुभयो – सीमा अतिक्रमणको विरुद्ध देशव्यापी रुपमा आवाज उठिरहेको बेला यो विषयलाई ओझेलमा पार्न एमसीसी अगाडि सारिएको छ ।
कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य दिनेश शर्मा लगायतले एमसीसीको विरोधमा आवाज उठाउनु भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता हुने भन्दै त्यसको विरोध गर्नुभएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर