सभामुखको लेठो र डबल नेकपाको ए..कता ?

प्रकाशित मिति : २०७६ माघ ६

- सी पी गजुरेल

सांसदहरु नै बेरोजगार ?

यतिखेर नेपालको संसदीय राजनीति सभामुखको चयन प्रकृयामा रुमलिएको छ । साँढे दुई महिनादेखि संसदमा सभामुख छैन । सभामुखबिनाको संसद कस्तो हुँदो रहेछ भन्ने अनुभव पनि नेपालमा राम्रैसँग गरिँदैछ । बेला बेलामा संसदको बैठक सूचना टाँस गरेर रद्द हुने गरेको छ । एकजना अनुभवी पूर्व सभामुखको भनाई छ– बिना कारणको सूचना टाँस गरेर संसद बैठक रोक्न मिल्दैन । “विशेष कारण” मात्र भनेर पुग्दैन । तर अहिले सम्म निरन्तर संसदको बैठक रद्द हुनाको कारण “विशेष कारण” नै भन्ने गरिएको छ ।

सत्ताधारी पार्टीमा सभामुख कस्लाई बनाउने भन्ने विषयमा भएको खिचातानी, स्वार्थको टक्कर, गूट स्वार्थ, खिचलो आदि नै संसदको बैठक रद्द हुनाका कारण हुन् र त्यो कारण देखाउन नमिल्ने भएकोले “विशेष कारण” भनिएको हो भन्ने कुरा सबैलाई थाहा छ ।

संसदीय प्रतिपक्षी दलका नेता सत्ताधारी दलभित्र सभामुख कस्लाई बनाउने भन्ने टुंगो लगाउन नसकेको कारण संसद बन्धक भएको विलौना गरिरहेका छन् । सभासद्हरु रोई कराई गरिरहेका छन्, “हामीले बिजनेस् पाएनौं”, “हामी बेरोजगार भयौं” । निरीह संसदीय प्रतिपक्षको काम सरकारलाई तह लगाउने नभएर विलौनागर्ने, रुने मात्र भैरहको छ । ओली र प्रचण्डको भागवण्डा कहिले मिल्ला र संसदमा हाजिर हुन पाइएला भनेर सांसदहरु आतुर भएर प्रतिक्षा गरिरहेका छन् । यी हरफ लेखिँदा सम्म यसको निकास आइ हाल्छ भन्ने प्रष्ट भै सकेको छैन ।

सभामुखको लेठो
नेपालमा दश वर्ष संचालित जन युद्धमा जब यसको शिर्ष नेतृत्वनै प्रतिकृयावादीहरुसँग आत्मसमर्पण गर्ने अवस्थामा पुग्यो, आफैंले लिएको नीति र तय गरेको बाटोप्रति विश्वासघात गर्न पुग्यो, त्यसले माओवादी आन्दोलनलाई मात्र होइन, समग्र नेपाली समाजमा नै एक प्रकारको विकृतिलाई जन्मायो । क्रान्तिलाई फलदायी निष्कर्षमा पु¥याउनका लागि होइनकि आफ्नो आत्मसमर्पणलाई पुष्टि गर्नका लागि रचिएको “शान्तिवार्ता”मा प्रवेश गरे पछिका दिनहरुमा प्रचण्ड लगायतका नेताहरुले निरन्तर व्यक्तिगत रुपमा लाभ मात्रै हासिल गर्ने काम गरे, राष्ट्र र जनतालाई भने धोका दिए । त्यसप्रकार निजी फाइदा उठाउन सफल एकजना पात्र कृष्णबहादुर महरा पनि हुन् । यस बिचमा उनले इच्छा गरेका सबै पद हात लगाउन सफल भएका थिए– संचार मन्त्री, परराष्ट्र मन्त्री, गृहमन्त्री, अर्थ मन्त्री इत्यादि । राम्रो भनेर कहलाइएका सबै विभाग उनले हात पारेका थिए । संवैधानिक अंगको समेत प्रमुख मानिने सभामुख पनि पछिल्लो चरणमा उनकै पोल्टामा प¥यो । यसप्रकार समृद्धिको सिखरमा पुग्न बिना रोकटोक अघि बढेका उनलाई यस पटकको दशैंको बेलामा भने एउटा ठुलो धक्का लाग्यो । उनकै कार्यालयमा कार्यरत एकजना महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा उनलाई अदालतले थुनामा खाख्ने निर्णय ग¥यो । यसप्रकारको अभियोग लागेको हुनाले सभामुखबाट राजीनामा दिन उनको पार्टी डबल नेकपा का डबल अध्यक्षहरुले निर्देशन दिएपछि उनले त्यो पदबाट पनि हात धुनु प¥यो । त्यतिखेर चर्चामा आए अनुसार अध्यक्षद्वयको निर्देशन सांसद पदबाट समेत राजिनामा गर्नु भन्ने थियो, तर सांसद पद चाहिँ उनले छाडेनन् । उनी त्यस पदमा अहिले सम्म कायमै रहेको बुझिन्छ । हुन त उनका एकजना “सहयोद्धा कमरेड”ले हालसालै “त्यस प्रकारका केसमा पर्ने धेरै जना छौं, अरुलाई चाहिँ केही नहुने, महराजीलाई मात्र यत्रो सजाय ! यसमा षड्यन्त्र भएको छ । ” भन्ने आशय व्यक्त गरेर शान्त्वना पनि दिने प्रयास गरेको पाइएको छ । तर, यतिखेर आएर दिइएको यो सान्त्वनाले त्यति काम गरेको देखिँदैन ।

जेहोस्, यतिखेर नेपालको लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थाको संसदको सभामुखको लामो समयको रिक्तताले विशेषतः सत्ता पक्ष र संसदीय प्रतिपक्षलाई पिरलेको छ । संसदको सभामुख र उप सभामुख एउटै पार्टीको हुनु नहुने र दुईवटा पदमध्ये एउटामा पुरुष र अर्कोमा महिला हुनुपर्ने भन्ने संवैधानिक व्यवस्थाले गर्दा पनि उनीहरुलाई पिरलो पारेको हो । पार्टी एकता हुनुभन्दा पहिले नै यो पदको बाँडफाँड भैसकेको हुनाले दुबै पद माथि डबल ने क पा कै वर्चस्व कायम भएको थियो । अब भने उनीहरुले एउटामा मात्र दावी गर्न पाउने अवस्थाले गर्दा नेकपा स्वभाविक रुपमा सभामुख पद मै दावी गर्नेमा पुगेको छ, पदमा बहाल भएकी उपसभामुखलाई आफ्नो पदबाट राजीनामा गराएर ।

यतिखेरसम्म अन्य पार्टीबाट यो संवैधानिक पदमा कसैले उमेदवारी दिएका छैनन् । तर, सत्ताधारी दलकै तीन जना हस्तीको इसारामा तीन जना उमेदवार देखापरेका छन् । राष्ट्रपतिकी उमेदवार वर्तमान संसदकी उपसभामुख शिवमाया तुम्बाहम्फे, प्रधानमन्त्रीका उमेदवार पूर्व सभामुख सुवास नेम्वाङ, भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अग्नि सापकोटा चर्चामा छन् । गाँठो कहाँ परेको छ भने उप सभामुख रहेकी तुम्बाहम्फेले राजीनामा नदिइकन सत्ताधारी पार्टीले सभामुखको उमेदवारी दर्ता गराउन मिल्दैन र उनी आफुलाई सभामुख बनाउने सुनिश्चितता नभैकन सभामुखको उमेदवारीको बाटो खोल्ने पक्षमा देखिएकी छैनन् । त्यो पार्टीको सचिवालयले उनले राजीनामा गर्र्नु पर्छ भन्ने निर्णय सुनाउँदा पनि त्यसलाई उनले ठाडै अस्वीकार गरिन् । सत्ताधारी पार्टीभित्रको यो गाईजात्राले गर्दा संसदमा समेत गाईजात्रा चलिरहेको छ । यो सँग सरोकार नहुनेहरु यो बिना टिकटको तमासा आनन्द सँग हेरिरहेका छन् ।

बाँदरको पुच्छर लौरो न हतियार
यतिखेर डबल नेकपाको नेतृत्वमा झण्डै दुई तिहाई बहुमतको सररकार छ । यो व्यवस्थामा दुई तिहाई भए पछि जे गरे पनि हुन्छ भन्ने मान्यता अनुसार पार्टी र सरकारले समाजमा मनपरी गरिरहेका छन् । यस्तो अवस्थामा पनि एउटा जाबो सभामुख बनाउन किन उनीहरुलाई यत्रो महाभारत भै रहेको छ ? यो दुईतिहाई बहुमत पनि ‘बाँदरको पुच्छर लौरो न हतियार’ किन भैरहेको छ ? मानिसहरु चकित परेका छन् ।

पद एउटा छ, तीनैथरी हस्तीलाई नभै भएको छैन । सायद यो पार्टीको आन्तरिक विषय भएको भए ‘बोइंग चलाउनका लागि’ सभामुख पनि तीनवटै हुन बेर लाग्ने थिएन । यी हरफहरु लेखिँदा सम्म तीनै थरीको दावी कायम छ । उनीहरुका तर्कहरु पनि सार्वजनिक भएका छन् । राष्ट्रपतिजीको भनाई छ, आखिर एउटी पढेलेखेकी महिला, जनजाति पृष्ठभूमि भएकी, विद्यमान उप सभामुखको पदमा रहेर योग्यता प्रमाणित गरिसकेकी शिवमायाँले सभामुख हुन किन नपाउने ? तर्क त जायजै देखिन्छ । प्रधानमन्त्रीजीको दावी पनि कम छैन । उनलाई सररकार चलाउन दिए पछि त सरकार संचालन गर्नका लागि जो हुँदा सजिलो हुन्छ भन्ने उनलाई लागेको छ उसैलाई सभामुख बनाउन पाउनु पर्ने हो भन्ने उनको दावी छ । उता प्रचण्डको दावी छ राष्ट्रपति पूर्व एमालेले राख्यो, प्रधानमन्त्री पनि उसैको । बाँकी रहेको सभामुखको पद पनि एमालेले नै राख्ने ? के ुपूर्व माओवादी केन्द्रको भूमिका चाहिँ खाली डोली बोक्ने डोले र भारी बोक्ने भरिया जस्तो मात्रै ? हामीलाई चाहिँ खाली अरिँगाल मात्रै बनाउने ? के यहि हो एकताको अर्थ ? के यहि तरिकाले एकताको भाव झल्कन्छ त ? भनाई त उनको पनि कम मार्मिक छैन ।

यो रैंदालो कती दिन सम्म चल्ने हो थाहा छैन । यस सँग लिनु दिनु केही नभएकाहरुले यसमा टाउको दुखाउनु पो किन परेको छ र ? कमसेकम यो तमासा हेर्न कुनै कर त तिर्नु परेको छैन । यो टिकट नलाग्ने फि सो भएको हुनाले जति सकिन्छ यसबाट मनोरंजनको फाइदा उठाउनै राम्रो होला ।

घिउ बेचा र तरबार बेचाको कथा
सगरमाथा टिवीमा मेरो अन्तर्वार्ता थियो । अन्तर्वार्ताकार मित्रले मलाई प्रश्न गर्नु भयो ः“पार्टी एकता भएर यत्रो पार्टी बन्यो, नपाल कम्युनिष्ट पार्टी(नेकपा) । त्यही पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ । एउटा सभामुख जस्तो पदका लागि किन यत्रो मारामार ? तपाईंलाई के लाग्दछ, यसको कारण ?” मैले भनें, “त्यो एकता दुईवटा कम्युनिष्ट पार्टीको एकता नै थिएन । त्यो एकता नेपालमा समाजवाद ल्याउन, समृद्धी ल्याउनका लागि भएको एकता पनि थिएन । त्यो त फगत चुनाव जितेर आफ्ना स्वार्थ सिद्ध गर्नका लागि गरिएको मित्रता थियो । त्यो त घिउ बेच्ने र तरबार बेच्ने ठग व्यापारीका बीचमा भएको एकता थियो । त्यसैले अहिले आएर बाँडेर खानका लागि झगडा भै रहेको छ ।” वहाँले अर्को जिज्ञासा पनि राख्नु भयो ः “त्यसो भए यो एकता कायम रहँदैन त ? पार्टी फुट्छ त ?” मैले भनेको थिएँ ः “पार्टी नफुट्न पनि सक्छ । किनभने तरबार व्यापारी र घिउ व्यापारी दुवैले एक अर्कालाई चिनेरै मित्रता गरेका हुन्छन् । मित्रले ठगेको थाहा पाएपछि ‘पख्लास् अर्को पटक मैले जानेको छ’ भनेर ठाउँ त खोज्छन् मित्रता नै चाहिँ तोडिहाल्दैनन् उनीहरुले । डबल नेकपामा पनि त्यही हुन्छ होला भन्ने मलाई लागेको छ ।” हेरौं के हुँदो रहेछ ?
२०७६ । १० । १