एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्नु राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कुकृत्य : क्रान्तिकारी माओवादी

सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माण गर्ने अमेरिकी साम्राज्यवादी योजना एमसीसीका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन देशभक्त जनसमुदायमा हार्दिक आव्हान

प्रकाशित मिति : २०७६ माघ ४


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले अमेरिकी साम्राज्यवादी योजना एमसीसीको कडा विरोध गरेको छ । एमसीसी नेपालमा सैन्य अखण्डा निर्माण गरी छिमेकी चीनलाई घेरा हाल्ने योजना अन्तर्गत लागू गर्न खोजिएको भन्दै एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्नु राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कुकृत्यको संज्ञा दिंदै कडा विरोध एवम् भत्र्सना गरेको छ ।

पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले शनिकार (४ माघ)मा जारी गरेका वक्तव्यमा एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदायसहित सम्पूर्ण देशभक्तहरुमा जोडदार आह्वान गरेको छ ।

वक्तव्यमा भनिएको छ, “यतिबेला नेपालको राजनीति एमसीसी (मिलेनियम च्यालेञ्ज कम्प्याक्ट)को वरिपरि केन्द्रित भएको छ । पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द–प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ । फेरि अर्कोतिर, नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुवैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोडदिइराखेका छन् । यस प्रकारको स्थितिको गंभीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माण गर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ र त्यो योजनालाई सफल पार्नका लागि एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्ने दलालहरुको राष्ट्रघाती कुकृत्यको तीव्र भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदायसहित सम्पूर्ण देशभक्तहरुलाई जोडदार आह्वान गर्दछ ।”