काठमाडौं । सरकारले हालै ल्याएको सूचना प्रविधि विधेयकको विरुद्धमा पाँच पत्रकार संगठनले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
यसअघि संयुक्त पत्रकार संघर्ष समिति बनाएर आन्दाेलित हुँदै आएका पाँच पत्रकार संगठनले सूचना प्रविधि विधेयकविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेको हुन् ।

सोमबार काठमाडौंमा ५ पत्रकार संगठनको संयुक्त बैठक बसेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कदम योजनाबद्ध ढंगले अगाडि बढाएको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलनमा जानुपर्ने बताएका हुन् ।
बैठकपछि ५ पत्रकार संगठनले संयुक्त वक्तव्य जारी गर्दै सरकारले ल्याएको विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् ।
पत्रकार महांसघका अध्यक्ष इन्द्र राउत, जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, प्रेस नेपालका अध्यक्ष केशव अर्याल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा नागरिक स्वतन्त्रता विरोधी विधेयकको विरुद्धमा राजनीति दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी, कानुनी व्यवसायी, मानवअधिकारकर्मी सबैलाई एकजुट भएर आवाज उठाउन अनुरोध समेत गरिएको छ ।






























