‘देश र जनताको निम्ति अविचल रहनु नै भक्तबहादुर श्रेष्ठको आदर्श हो’

प्रकाशित मिति : २०७६ पुस २७

- अनु निरौला/लक्ष्मी दंगाल


काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित तथा अग्रज नेता भक्तबहादुर श्रेष्ठको आठौं स्मृति दिवस मनाइएको छ । भक्तबहादुर स्मृति प्रतिष्ठानले आइतबार इच्छुक प्रतिष्ठानमा एक कार्यक्रम गरी स्मृति दिवस मनाएको हो ।


स्मृति दिवसलाई नेकपा (क्रान्तिकारी माओवादी)का महासविच मोहन वैद्य‘करिण’ले सम्बोधन गर्दै भक्तबहादुर श्रेष्ठले नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा प¥याएको योगदानको विषयमा चर्चा प्रस्तुत गर्दै भक्तबहादुर श्रेष्ठको आदर्श भनेको देश र जनताको मुक्तिका निम्ति अविचल रहनु हो भन्नुभयो ।
कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी लाइन बनाउन र त्यसलाई स्थापित गर्न अन्तरसंघर्ष र वर्गसंघर्ष दुवै हिसाबले महत्वपूर्ण भूमिका खेल्नुभएको चर्चा गर्दै भक्तबहादुर श्रेष्ठ त्याग, समर्पण र निरन्तर क्रान्तिको एउटा आदर्श भएको बताउनु भयो ।


भक्तबहादुर श्रेष्ठले क्रान्तिका लागि जिन्दभीभर दुःख पाएको र आफू नाङ्गै भएर पनि क्रान्तिकारी विचार र आदर्शबाट कहिल्यै विचलित नभएको चर्चा गर्दै उहाँको जीवन र कर्मबाट बाँचेको पुस्ताले धेरै सिक्नुपर्ने कुरा औल्याउनु भयो ।


प्रतिष्ठानका अध्यक्ष सीपी गजुरेलको अध्यक्षतामा सम्पन्न भएको स्मृति दिवसमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, नेकपा (माके)का शुशिल, इच्छुक प्रतिष्ठानको तर्फबाट प्रा.डा. जगदीश चन्द्र भण्डारी र भक्तबहादुर श्रेष्ठकी छोरी प्रभा श्रेष्ठले उहाँको बारेमा विस्तृतमा चर्चा गरेका थिए ।


कार्यक्रम हरिकृष्ण गजुरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।