अहिले भ्रष्टाचार अर्बौंमा भइरहेको छ, ओलीको पालामा जस्तो भ्रष्टाचार कहिल्यै भएको थिएन : सीपी गजुरेल

‘राज्यको सार्वजनिक सम्पत्ति कब्जा गर्ने ‘यति समूह’ पनि ओलीको व्यापारिक पार्टनर रहेको खुलासा’

प्रकाशित मिति : २०७६ पुस २५


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेपालमा बढिरहेको भ्रष्टाचारबारे कडा टिप्पणी गरेका छन् । ठूलो मात्रामा राज्यको सार्वजनिक सम्पत्ति कब्जा गर्ने यति समूह समेत प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापारिक पार्टनर रहेको खुलासा भएको बताएका छन् । अध्यक्ष गजुरेलले अहिले नेपाल भ्रष्टाचार र अनियमितताको रुपमा अन्तर्राष्ट्रिय रुपमै बद्नाम हुन पुगेको चर्चा गर्दै ओलीको पालामा अहिले अर्बौंमा भ्रष्टाचार हुने गरेको फेहरिस्त प्रस्तुत गरे । उनले भने, “नेपालमा अहिले भ्रष्टाचार अर्बौंमा हुन थालेको छ । ओलीको पालामा जस्तो यति धेरै र खुलम्मखुला भ्रष्टार कहिल्यै भएको थिएन ।”

पैसा नखुवाई कुनै पनि सरकारी काम नहुने गरेको बताउँदै अध्यक्ष गजुरेलले सामान्य खरदारदेखि सरकारका मन्त्री, प्रधानमन्त्री समेतले जनताको काम गरेवापत पैसा खाने गरेको बताए । वाइडबढीमा ४ अर्ब ३६ करोड, एनसेलमा १७ अर्ब, टेलिकममा १२ अर्ब लगायत ओली सरकारले अर्बौंमा भ्रष्टाचार गरेर नेपालकै बद्नाम गरेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष गजुरेलले समाजवाद उन्मुख संविधान र व्यवस्थाको हल्ला गरेर पुँजीवादी मुलुकहरुले समेत नगरेको शिक्षा क्षेत्रलाई समेत निजीकरण र माफियाकरण गरेको बताए ।

अहिले मुलुकमा दलाल पुँजीपतिको शासन चलिरहेको चर्चा गर्दै नेता गजुरेलले भने, “भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्री ओलीले आफ्नै निवास (बालुवाटार) देखि नेपाल ट्रष्ट, गोकर्ण रिसोर्टलगायतको अर्बौ खर्बौंको सार्वजनिक सरकारी सम्पत्तिमा माफियाले कब्जा गर्दा पनि किन चुपचाप बसिरहेका छन् भन्दा त ऐन नै संशोधन गरेर दुई हजार नौ सय रोपनी क्षेत्रफल भएको गोकर्ण रिसोर्ट सुम्पिएको ‘यति समूह’ पनि उनकै व्यापारिक पार्टनर पो रहेछ ।”

क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले चलाएको एक हप्ते तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् । उनले आफू ५१ वर्षअघि त्रिचन्द्र कलेजबाटै राजनीति सुरु गरेको स्मरण गर्दै आफू कसरी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लागेँ र विद्यार्थीहरुले किन प्रतिक्रियावादी राज्यव्यवस्थाका विरुद्ध सही र क्रान्तिकारी राजनीति गर्न आवश्यक छ भन्ने कुराको बारेमा चर्चा समेत गरेका थिए । नेपालको परिवर्तनको आन्दोलनमा विद्यार्थीहरुले खेलेको भूमिका अग्रणी, ऐतिहासिक र गौरवशाली रहेको चर्चा गर्दै वर्तमान पुस्ताले इतिहासबाट सिक्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि औल्याएका थिए ।