अखिल (क्रान्तिकारी)को आयोजनामा निःशुल्क एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिम सुरु

अखिल (क्रान्तिकारी)को आयोजनामा निःशुल्क एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिम सुरु

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को ३ नं. प्रदेशको आयोजनामा एक हप्ते निःशुल्क आधारभूत पत्रकारिता तालिमको आयोजना गरिएको छ । त्रिचन्द्र बहुमुखी कलेजमा आयोजना गरिएको एक हप्ते तालिमको बुधबार एक कार्यक्रमका बिच सुरु गरिएको छ ।


अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपानेको अध्यक्षतामा भएको पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा बरिष्ठ पत्रकार तथा साहित्यकार एवम् इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, पत्रकार सरोज कोइरालाले पत्रकारितामा क्षेत्रमा आफूले सँगालेका अनुभवहरु प्रस्तुत गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आयोजक संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जाडो तथा क्याम्पसको हिउँदे विदालाई लक्षित गरी एक हप्ते पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरिएको हुँदा यो अवसरलाई सक्दो सदुपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।


कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरका सचिव श्याम केसी, संगठनका महासचिव पेशल दाहाल, क्रान्तिकारी पत्रकार महासंघका ३ नं. प्रदेश संयोजक रनसुर महतरा, बरिष्ठ फोटो पत्रकार जय दाहाल लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।


बिहीबारदेखि विषयगत तालिम सुरु हुने जनाइएको छ । तालिम विहान ११ बजेदेखि डेढ घण्टासम्म एक हप्ता चल्ने जनाइएको छ । तालिममा सहभागि हुन त्रिचन्द्र कलेजका स्नातक तहमा अध्ययनरत १ सय २० जना विद्यार्थीहरुले नाम टिपाएको विद्यार्थी नेतृ न्यौपानेले जानकारी दिइन् । टेलिभिजन, रेडियो, पत्रिका तथा अनलाइन मिडियामा कार्यरत बरिष्ठ तथा अनुभवी प्रशिक्षकहरुले पत्रकारितासम्बन्धी विषयगत प्रशिक्षण दिने आयोजक संगठन जनाएको छ ।