‘सीमा रक्षा र राष्ट्रियताका लागि देशभक्त नेपालीहरु एक हुनुपर्छ’

‘सीमा रक्षा र राष्ट्रियताका लागि देशभक्त नेपालीहरु एक हुनुपर्छ’

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष एवम् नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले सिमा रक्षा र राष्ट्रिय स्वाधिनताको आन्दोलनका लागि देशभक्त नेपालीहरु एक हुनु पर्नेमा जोड दिएका छन् ।

पोखरामा दुई दिनसम्म चलेको नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ को वैठक तथा प्रशिक्षण र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ को वैठकमा बोल्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।

उनले त्यसका लागि पुस महिना भरी आन्दोलनको तयारी र ससाना आन्दोलन गर्ने र माघदेखि अलि ठूलो संघर्ष चलाउने बताए । त्यसका लागि आफ्नो पार्टीका कार्यकर्ताहरुलाई सोही अनुसार लाग्न निर्देशन समेत दिए ।

नेता गजुरेलले राष्ट्रिय स्वाधिनताको पक्ष र सीमा रक्षाको आन्दोलन अहिले उचाईमा पुगेकोले यसलाई देशभक्त शक्तिहरुले त्यसै सेलाउन दिन नहुनेमा पनि जोड दिए । उनले भने – सरकारले कमसेकम प्रधानमन्त्री स्तरमा सोझै वार्ता र छलफल गर्नु पर्ने हो तर त्यसो गर्न आँट गर्न सकेन । अब देशभक्त नेपालीहरु एक भएर आन्दोलनलाई अगाडि नलगे अहिले अतिक्रमण भएको भूमि फिर्ता गर्न गाह्रो छ ।

उनले सरकारले यो मुद्दा हल गर्न नसके अन्तराष्ट्रियकरण गर्नु पर्नेमा समेत जोड दिए ।

प्रशिक्षणमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम प्रदेश ४ का इन्चार्ज चन्द्रहरि सुवेदीले पनि प्रशिक्षण दिएका थिए ।

कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी गण्डकी प्रदेशका सेक्रेटरी केशबहादुर परियारको सञ्चालन तथा अध्यक्षतामा भएको थियो ।