नेपालका कम्युनिस्टहरुले बिर्सेका जोसेफ स्तालिन

प्रकाशित मिति : २०७६ पुस ५

- भरत पोखरेल

जोसेफ भिसारियोनोभिक स्तालिन दिसम्बर १८, १८७८ मा रुसको गोरीमा जन्मेका थिए । उनी १९२२ देखि १९५३ सम्म लेनिन पछि सोभियत सँघ कम्युनिस्ट पार्टीको महासचिव रहे । स्तालिनले सन १९२० को दसकमा रुसमा पञ्चवर्षिय योजनाको सुरुवात गरेर कृषिमा आधारित रुसलाई औद्योगिक सोभियत सँघमा परिवर्तन मात्र गरेनन् सोभियत सँघलाई विश्वको महाशक्ति नै बनाए । दोस्रो विश्व युद्धको बेला दिसेम्बर १९४३ मा नाजी सेना मस्को पुगेको थियो र स्तालिनलाई आत्मसमर्पण गर्ने आदेश दिँदा स्तालिनले मस्कोमा आफ्ना सेनालाई एक कदम पनि पछि हट्ने होइन भनेर ठूलो बलिदान गर्दै नाजी फौजलाई लखेटेर बर्लिन पुर्याइ दिए । स्तालिनका छोरा याकोबलाई हिटलरका सेनाले बर्लिनमा नाजी यातना गृहमा आत्मसमर्पण गरे छाड्ने भनेका थिए तर स्तालिन मानेनन् र याकोबलाई नाजीहरूले मारे ।

दोस्रो विश्वयुद्धमा हिटलरलाई हराउन बेलायत, अमेरिका र रुसको संयुक्त गठबन्धन बनेको थियो । यसको नेतृत्व स्तालिन, चर्चिल र रुजबेल्टले गरेका थिए र यो गठबन्धनले दोस्रो विश्वयुद्ध जितेको थियो । स्तालिनको मृत्यु मार्च ५, १९५३ मा भयो । वर्तमान समयमा स्तालिनको महत्व रुसमा झन बढेको रुसीहरू भनिरहेका छन् । रुसीहरूले स्तालिनको शालिकहरू थपिरहेका छन् । यही गएको मार्चमा रुसको सर्वा्धिक विश्वसनीय सर्भे सेन्टर लेभादाले स्तालिन बारे एउटा अनुसन्धान गरेको थियो । रुसका १८ वर्ष माथिका मानिसहरूमा १३७ सहरमा सर्वेक्षण गरिएको थियो जसमा ५१ प्रतिशतले स्तालिनलाई रुसको नायक मानेका छन् ।

नेपालमा केही वर्ष अघिसम्म नेपालका धेरै कम्युनिस्टहरूले स्तालिन दिवस मनाउने गरेका थिए तर केही अपवाद बाहेक तीनै कम्युनिस्टहरू आज लेनिन र स्तालिनको विरासत विराएर ख्रुश्चेभ, ब्रेजनेभ र गोर्भाचोभको बाटोमा बरालिएका छन् । नेपालका कम्युनिस्टहरूले बेलाबेला माक्र्स, एंगेल्स, लेनिन, स्तालिन र माओको फोटो टाँगेर कर्मकाण्ड त गर्न खोज्छन् तर स्तालिनलाई बिर्संदै गएका छन् । दोस्रो विश्वयुद्ध गठबन्धनमा रहेका चर्चिल र रुजबेल्ट नायक बनाइए तर स्तालिनलाई खलनायक बनाउने दुष्प्रयास भइरह्यो । जनताको बहुदलीय जनवाद, एक्काइसौं सताब्दीको समाजवाद र जनताको जनवाद जस्ता संशोधनवादी नाराले नेपाली जनताहरूलाई गुमराह पारिँदै छ । नेपालको कम्युनिस्ट आन्दोलन गुटैगुटको उँट भएको छ । केही कमिकमजोरी भएपनि स्तालिनबाट नेपाली कम्युनिस्ट आन्दोलनले सिक्ने कुरा धेरै छन् ।