झटारो : शुभलाभका लागि नाङ्गै दौडिनेहरु !

प्रकाशित मिति : २०७६ मंसिर २४

- गाउँले माइलो


शुभलाभको लागि नाङ्गै दौडिए तिनीहरु । नाङ्गै भन्नाले सोझो अर्थमा कपडै नलगाएर सर्वाङ्ग भएको भन्न खोजेको भने होइन । भनिन्छ– विचारविहीनहरु पशु समान हुन्छन् । मानिसहरु वैचारिक प्राणि हुन् । राजनीति उनीहरुको चारित्रिक विशेषता नै हो । राजनीति त नेपालीहरुको जन्मजात विशेषता नै हो । नेपालमा राजनीति नगर्ने को छ र ? घर घरबाट सुरु हुन्छ राजनीति यहाँ । अनि समाज हुँदै सिंगो देश विदेशमा फैलिन्छ राजनीति ।

विचारविनाको राजनीति हुँदैन । राजनीतिलाई विचार र सिद्धान्तले नेतृत्व गरेको हुन्छ । मार्गदर्शन गरेको हुन्छ । विचार, सिद्धान्त, राजनीतिकको आफ्नै मूल्य हुन्छ, मान्यता हुन्छ, आदर्श हुन्छ, नियम हुन्छ, अनुशासन हुन्छ । त्यहाँ त्याग हुन्छ, तपस्या हुन्छ, समर्पण हुन्छ, एउटा उदात्त चेतना र भावनाले मानिस साँच्चै मानिस भएको हुन्छ । जब मान्छेले आफूले अँगालेको विचार, सिद्धान्त, राजनीति, मूल्य मान्यता, आदर्श, त्याग, तमस्या, अनुशासन, समर्पण सबै छाड्छ र केवल निहीत तुच्छ स्वार्थका लागि दौडिएको हुन्छ । त्यस अर्थमा उसलाई नाङ्गै दौडिएको भन्ने अर्थ लगाउनु पर्ने हुन्छ ।

राजनीतिक भाषामा विचारविहीन मानिसहरु जीउँदा लाश सरह हुन् । यस अर्थमा शुभलाभका लागि हुल बाँधेर लाशहरु दौडिरहेका छन् । केवल फाइदाका लागि, केवल पैसाका लागि । तिनीहरु एक समय निकै ठुलो विचार, सिद्धान्त, राजनीतिक, आदर्श, मूल्य मान्यताको कुरा गर्दथे । धेरैले तिनीहरुलाई नै आदर्श मानेर बलिदानीपूर्ण संघर्षमा पनि हाम्फालेका थिए । यिनीहरु शुभलाभका लागि यसरी रातारात छेपाराले झैं रंग फेर्छन् भन्ने थाहा पाएको भए सायद आमाका ती महान सन्ततीहरुले किन आफ्नो अमूल्य जीवनको बलिदान गर्थे होलान् । बिडम्बना त के छ भने एउटा महान आदर्शका लागि बलिदान गर्ने तिनै महान सहिदहरुलाई समेत भजाइ खान बाँकी राखेका छैनन् तिनीहरुले ।

आज तिनीहरु ‘सहिद’, ‘गरिब’, ‘कम्युनिस्ट’, ‘वामपन्थी’, ‘सर्वहारा’ आदि आदि नाम भजाएर आफू मालामाल बनिरहेका छन् र हिजोको आफैले महान भनेर लडेको त्यो मुक्तिकामी युद्ध र बलिदानलाई कुरुप र घिनलाग्दो देखिरहेका छन् । र, त्यो युद्ध, संघर्ष, विद्रोहका गौरवशाली दिनमा आफूले खर्चेको समयलाई धिक्कारिरहेका छन् र पश्चाताप मान्न पुगेका छन् । साँच्चै ती आज सर्वहारा श्रमजीवी जनताका वर्गदुश्मन कित्तामा पुगेका छन् । उनीहरुको सोच, चिन्तन, प्रवृत्ति, आचार, व्यवहार, संस्कार, संस्कृति सामन्तवाद र साम्राज्यवादको अवैद्य सन्तानको रुपमा जन्मिएको दलाल खच्चडको जस्तो बनेको छ । उनीहरुमा विचौलिया प्रवृत्ति यति धेरै हावी भएर गएको छ कि शुभलाभ हुने भए आफूलाई जन्मदिने आमालाई बेच्न पनि पछाडि नपर्ने भएका छन् । तिनीहरुको विचौलिया प्रवृत्ति आज सिंहदरबारदेखि गाउँ गाउँमा विस्तारित हुन पुगेको छ । र, यसले महामारीको रुप लिएको छ ।

यो प्रवृत्ति यति निकृष्ट, अमानवीय र संवेदनाहीन बनेको छ कि पैसाविना केही पनि नगर्ने, पैसालाई बाहेक मान्छेलाई नचिन्ने भएको छ । पैसाका अगाडि तिनीहरुका लागि मान्छेको कुनै मूल्य छैन । यो समाजको विषाक्त प्रवृत्तिका विरुद्ध फेरि एउटा महान सामाजिक अभियान, राजनीतिक अभियान, वैचारिक–साँस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्न जरुरी छ । यो प्रवृत्तिलाई घोक्रेठ्याँक लगाउनलाई, यी जिउँदा लाशहरुलाई ठेगान लगाउनलाई, यिनीहरुलाई लगाम लगाउनलाई र यिनलाई मानवीय मूल्यको गतिलो पाठ सिकाउनलाई फेरि एउटा साँचो अर्थमा जनवादी महान अभियानको सञ्चालन गर्नु परेको छ । सबै श्रमजीवी सर्वहारा वर्ग र समुदायको सुदृढ एकतामा आधारित भएर उठाउनु छ– माक्र्सवाद–लेनिनवाद–माओवादीको रातो झण्डा । बाल्नु छ– आम जनविद्रोहको मशाल ।