विप्लव नेकपाका जनसरकार प्रमुखसहित दर्जनौं नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

प्रकाशित मिति : २०७६ मंसिर २२


चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चितवन जिल्लाका युवा तथा मजदुर आन्दोलनका स्थापित नेता धर्मराज नहर्की र राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ सहित दुई दर्जन बढी नेता कार्यकर्ता मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् ।
यसरी पार्टी प्रवेश गर्ने अन्य कार्यकर्ताहरुमा मनु विक, मन्दीरा राई, जुना विक, सरिता गुरुङ, रविना श्रेष्ठ, आरती परियार, जंग बहादुर अधिकारी, सुनिता परियार, जेसिका गुरुङ, अरुण वानिया, इश्वर अधिकारी लगायत रहेका छन् । नव प्रवेशी नेता कार्यकर्तालाई क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकास र जिल्ला सेक्रेटरी हेमन्तले अविर लगाएर पार्टी प्रवेस गराएका थिए । नवप्रवेशी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै जिल्ला इन्चार्ज विकासले क्रान्तिकारीहरु विचको एकता र ध्र्रुवीकरणबाट मात्रै नयाँ जनवादी क्रान्तिको उद्देश्य पूरा हुने हुँदा देशभरि छरिएर रहेका सबै क्रान्तिकारीहरु बिस्तारै क्रान्तिकारी माओवादीमा ध्रुवीकरण हुन थालेकोले दलाल सत्ताको दिनगन्ति सुरु भएको बताए । उनले आफुहरु सबै देशभक्त र क्रान्तिकारीहरुसंग देश र जनताको मुक्तिको लागि सहकार्य गर्न तयार रहेको बताए ।


जिल्ला सेक्रेटरी हेमन्तले क्रान्तिको उर्वर भुमिको रुपमा चिनिएको चितवन जिल्लामा अब चाँडै नै वर्गसंघर्ष हाँक्न सक्षम र योग्य क्रान्तिकारी पार्टी निर्माण हुने बताउँदै क्रान्तिकारी ध्रुवीकरणमा आउने सबै क्रान्तिकारीहरुलाई उचित जिम्मेवारी सहित सहकार्य गर्ने बताए । प्रवेश कार्यक्रममा नवप्रवेशी कार्यकर्ताले आजको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) मात्रै देशको एकमात्र सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको व्यवहारिक रुपमै प्रमाणित भएको कारण आफुहरु ध्रुवीकरणमा सहभागी भएको बताए । विगत तीन महिना यता चितवन जिल्लामा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा ध्रुवीकरण हुने नेता कार्यकर्ताको संख्या पाँच दर्जनभन्दा माथि रहेको र यो प्रक्रिया आगामी दिनमा अझै तीब्रताका साथ अगाडि बढ्ने जिल्ला सेक्रेटरी हेमन्तले दाबी गरे ।