पोखरामा देजमोको वृहत् अन्तरक्रिया सम्पन्न, राष्ट्रिय स्वाधीनताको निम्ति सम्पूर्ण देशभक्तहरु एकजुट हुनुपर्ने वक्ताहरुको भनाइ

प्रकाशित मिति : २०७६ मंसिर २१


पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गण्डकी प्रदेशले आयोजना गरेको ‘नेपालको राष्ट्रिय स्वाधीनता’ विषयक वृहत् अन्तक्र्रिया कार्यक्रम शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले ‘नेपालको राष्ट्रिय स्वाधीनता’ शीर्षकको कार्यपत्र पेश गर्नुभएको थियो । अध्यक्ष गजुरेलको कार्यपत्रमाथि प्रा.डा. कृष्ण केसी, बरिष्ठ अधिवक्ता तिलक पराजुली, प्राध्यापक भवानी पाण्डे, वामपन्थी बुद्धिजीवी एवम् डबल नेकपाका नेता झलकपाणी तिवारी, वामपन्थी बुद्धिजीवी एवम् इतिहासकार रामराज रेग्मी, नागरिक अभियन्ता एवम् उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, वामबुद्धिजीवी शेषमणि आचार्यलगायतका व्यक्तित्वहरुले टिप्पणी गर्नुभएको थियो ।

टिप्पणीकारहरुले कार्यपत्रमा नेपालको राष्ट्रिय स्वाधीनताको विषयमा महत्व विषयहरु प्रस्तुत भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलगत स्वार्थभन्दा माथि उठेर सबै सच्चा देशभक्त नेपालीहरु एकताबद्ध भएर भारतीय हस्तक्षेपका विरुद्ध आन्दोलित हुनुपर्ने विचारहरु प्रस्तुत गर्नुभएको थियो ।

अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष गजुरेलले टिप्पणीकारहरुले आफ्नो विचार प्रस्तुत गरिसकेपछि सुझाव तथा टिप्पणीका लागि विशेष धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय स्वाधीनताका लागि सबै सच्चा देशभक्त नेपालीहरु एकताबद्ध भएर आन्दोलित हुनुको विकल्प नरहेको चर्चा गर्दै वृहत् राष्ट्रिय स्वाधीनता आन्दोलनको आवश्यकता औल्याउनु भयो र समाजका सबै पक्षलाई राष्ट्रिय स्वाधीनताको आन्दोलनमा आउन आव्हान समेत गर्नुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गण्डकी प्रदेशका अध्यक्ष केशबहादुर परियारको अध्यक्षमा सम्पन्न भएको अन्तक्र्रिया कार्यक्रमको सञ्चालन युवा नेता नारायण अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा गण्डकी प्रदेश इन्चार्ज चन्द्रहरि सुवेदी, उल्लेखित टिप्पणीकर्ताहरु लगायत बरिष्ठ मानवअधिकारकर्मी तथा वाम बुद्धिजीवी टेकनाथ बराल, वाम बुद्धिजीवी पूर्ण ढुंगाना, नागरिक अभियन्ता विश्व सिग्देल, सहकारी अभियन्ता संगीत गौतम, बरिष्ठ साहित्यकार नारायण परिश्रमी, प्राध्यापक यादवराज उपाध्याय, समाजवादी पार्टीका नेता किरण थापा, संघीय लोकतान्त्रिक लिम्बुवान परिषद् अन्तर्गत तमुवान राष्ट्रिय मञ्च, नेपालका नेता गजेन्द्र लिम्बु, वाम बुद्धिजीवी भक्त रसाइली, प्राध्यापक परशुराम कोइराला, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु रामजी थापा, निलबहादुर पुन, बाबुराम सुवेदी लगायतका व्यक्तित्वहरु अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
विहान साढे ११ बजे सुरु भएको अन्तक्र्रिया कार्यक्रम साढे ४ बजे सम्पन्न भएको थियो । पोखराको रामबजार स्थित लक्ष्मी पार्टी प्यालेसमा भएको कार्यक्रममा स्थानीय जनसमुदायको समेत बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको ब्यानरमा ‘राष्ट्रिय स्वाधीनताका रक्षा गरौं, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर, लिम्पियाधुरा हाम्रो हो, लिपुलेक हाम्रो हो, सम्पूर्ण देशभक्तहरु एकजुट होऔं’ भन्ने नाराहरु लेखिएका थिए ।