नयाँ जनवादी क्रान्तिकाे तीव्र र घनिभूत तयारी भइरहेकाे छ : गाैरव

प्रकाशित मिति : २०७६ मंसिर १९

- रामकुमार श्रेष्ठ

पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा मध्यब्युराे इन्चार्ज सीपी गजुरेल गाैरवले पार्टीले नयाँ जनवादी क्रान्तिकाे तीव्र र घनिभूत तयारी भइरहेकाे बताएका छन् ।
पार्टीको ४ नम्बर प्रदेशको बुधबारदेखि पोखरामा शुरु भएको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता गजुरेलले पार्टीभित्र क्रान्तिको तयारी भइरहेको बताए । क्रान्ति भनेको आजको आजै हुदैन, गजुरेलले भने, दश वर्षे जनयुद्ध शुरु गर्नु भन्दाअघि दश वर्ष तयारीमा लागेको थियो । त्यसैको तयारीमा हामी लगिरहेका छौं ।

क्रान्तिपछि प्रतिक्रान्ति भएकै बेलामा फेरि क्रान्ति शुरु गरिहाल्न नसकिने स्पष्ट गर्दै नेता गजुरेलले अहिले तीब्र र घनिभूत रुपमा तयारी गरिरहेको बताए । विगतमा निर्माण भएका सेना तथा सत्ता प्रचण्डले एउटै सहमतिले विघटन गरेको उल्लेख गर्दै गजुरेलले उनीहरुसँग विचारसमेत नभएको आरोप लगाए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका नेता गजुरेलले राष्ट्रियताको मुद्दामा आफनो पार्टी तथा मोर्चा एक कदम अगाडि रहेको पनि दाबी गरे ।
भारतले बनाएको नक्कली नक्सा आफ्नो संगठनको अगुवाईमा एक वर्षअघि नै सरकारी कार्यालयबाट हटाउन लगाएको उनले बताए । भारतले नेपाली भूमि समेटेर नक्सा तयार गरेको विरोधमा आफनो पार्टीले मेची महाकाली अभियान नै संचालन गरेको पनि गजुरेलले स्पष्ट गरे ।
आफूहरुले अभियान चलाएको एक वर्षपछि जनताले भारतीय रबैयाको बारेमा बुझेको भन्दै उनले खुशी ब्यक्त गरे ।
यसैबीच,  राष्ट्रिय मधेस समाजवादी पार्टी नवलपुरका अध्यक्ष दुर्गा अधिकारी क्रान्तिकारी माअाेवादीमा प्रवेश गरेका छन्।
अधिकारी र समाजवादी पार्टी नवलपुरका सदस्य राम सुनार सहित दर्जन कार्यकर्ताहरू क्रान्तिकारी माअाेवादीमा प्रवेश गरेकाे नेकपा क्रान्तिकारी माओवादी नवलपुरकाे सेक्रेटरी उत्तम थापाले बताए। उनीहरूलाई मंगलबार पार्टी प्रवेश गराएका हुन् ।