सीमा रक्षाका लागि जिल्ला प्रशासन कार्यालयमार्फत् क्रान्तिकारी माओवादी र देजमो, नेपालको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कञ्चनपुर, दार्चुला, बैतडी, डोटी, कैलाली, रसुवा र रामेछापका जिल्ला प्रशासन कार्यालयमा बुझाइयो ज्ञापन पत्र

प्रकाशित मिति : २०७६ मंसिर १७

- धनञ्जय अवस्थी


कञ्चनपुर । सीमा रक्षाका लागि नेकपा (क्रान्तिकारी माओवादी) र सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी माओवादीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दार्चुला, बैतडी, कैलाली, डोटी जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको क्रान्तिकारी माओवादीका प्रदेश इन्चार्ज अनुकूलले जानकारी दिए । बाँकी जिल्लाहरुमा पनि ज्ञापन पत्र बुझाउने तयारी रहेको छ ।
राष्ट्रिय स्वाधीनता र सिमा रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन पार्टीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको नेता अनुकूलले बताए ।
नेता अनुकूलले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफ्नो पार्टी विगतदेखि आन्दोलन गर्दै आएको र आवश्यक परे जस्तोसुकै आन्दोलन र वलिदानी संघर्ष गर्न पनि तयार रहेको बताउँदै सरकारलाई अविलम्ब ठोस कदम चाली भारतीय विस्तारवादले हडपेको भूमि फिर्ता गराउन आग्रह गरे ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) तथा सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा भारतीय विस्तारवादद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै रसुवामा ज्ञापनपत्र बुझाइएको छ । राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगाएतका विषयमा चरणबद्ध संघर्ष गर्दै आईरहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल रसुवाका संयोजक टेकबहादुर विकको नेतृत्वमा गएको एक टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापन पत्रमा ३८५ वर्ग कि.मि. क्षेत्रमा फैलिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि भारतीय विस्तारवादले अतिक्रमण गरेका सम्पूर्ण नेपाली भूमि फिर्ता गराउन तत्काल कुटनीतिक पहल थाल्न माग गर्दै त्यसो नगरिए जनताका साथ लिएर सशक्त संघर्षमा उत्रने चेतावानी दिइएको छ ।
०७२ सालमा भुकम्पबाट ग्रसित नेपाली जनतालाई भारतले दिएको उपहार (नाकाबन्दी) भुलिनसक्दै लिम्पियाधुरादेखि लिपुलेक लगायतका भुमि भारतले नयाँ नक्सामा गाभेर नक्सा जारी गरेपछि नेपालमा निकै ठूलो प्रतिरोध आन्दोलन भइरहेकोे छ ।
त्यसैगरी देजमो, नेपालकै आयोजनामा रामेछाप जिल्लामा पनि ज्ञापन पत्र बुझाइएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का केस गगनको नेतृत्वमा गएको एक टोलीले प्रमुख जिल्ला कार्यालय रामेछपमा ज्ञापन पत्र बुझाइएको नेता गगनले जानकारी दिए ।
यसअघि देजमो, नेपाल ३ नं. प्रदेशका अन्य जिल्लाहरुमा एकैसाथ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।