भक्तपुरमा देजमोको बहिस्कारसभा भव्यरुपमा सम्पन्न, ‘जनताले यो बद्नाम, अलोकप्रिय र असफल संसदीय व्यवस्थाको विकल्प खोजेका छन्’ : सीपी गजुरेल

प्रकाशित मिति : २०७६ मंसिर ६

- वसन्त बाेगटी

भक्तपुर । “प्रतिक्रियावादी सत्ताद्वारा आयोजित उप-निर्वाचन बहिष्कार गरौं ! नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौ !! ” भन्ने मुल उद्घोषका साथ नेकपा (क्रान्तिकारी माओवादी ) समर्थित संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल ३ नम्बर प्रदेशको आयोजनामा शुक्रबार भक्तपुरको दत्तात्रयमा उप-निर्वाचन बहिस्कार सभा भव्य रुपमा सम्पन्न भएको छ ।

मंसिर १४ गते भक्तपुर १(क)मा हुन लागेको उप-निर्वाचनलाई लक्षित गरि मोर्चाको निर्वाचन बहिष्कार सम्बन्धी धारणा सार्वजनिक गर्न उक्त बहिष्कार सभा आयोजना गरिएको हो ।

बहिष्कार सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रिय अध्यक्ष सिपि गजुरेल गौरवले दलाल संसदीय व्यवस्था जनताको बिचमा बद्नाम र अलोकप्रिय मात्रै नभई असफल समेत भएकोले जनताले यो व्यवस्थाको विकल्प खोज्न सुरु गरेको र जनचाहना अनुसार नै पार्टी र मोर्चाले उप-निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउनुभयो । सरकार गठनको २१ महिना नपुग्दै वर्तमान ओली सरकारले ५७ वटा जनघात र राष्ट्रघात गरेको दृष्टान्त पेश गर्दै अध्यक्ष गजुरेलले जनतालाई सरकारले दिने झुटा नारा र भ्रममा बिश्वास नगर्न अपिल समेत गर्नु भयो । दलाल, भ्रष्ट, तस्कर र कामचोर ठेकेदारहरुको हालिमुहाली र पैसाको खोलो बगाएर हुने यस प्रकारको चुनावी प्रतिस्पर्धाले राम्रो र सापेक्षित इमानदार नेतृत्व निर्वाचित हुन नसक्ने जिकिर गर्दै जनता सचेत र चनाखो हुने समय आएको बताउनु भयो ।

त्यसैगरी, नेपालको राष्ट्रियता इतिहास कै कमजोर अवस्थामा पुगेको र हरेक स्वाभिमानी देशभक्त नेपालीले यसलाई गम्भीरतापुर्वक लिनु पर्ने र बृहत राष्ट्रिय एकता कायम गर्न विलम्ब गर्न नहुने धारणा राख्नु भयो । उहाँले यदि देशै नरहे हाम्रो अस्तित्व पनि नरहने भन्दै नेपाली सेना प्रहरीलाई पनि राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सहभागी हुन अपिल गर्नु भयो । भारतले सुगौली सन्धिमा भएको हस्ताक्षर र सहमतिलाई मान्न तयार हुनुपर्छ, यदि उनीहरु त्यो सहमतिको विरुद्धमा जान्छन भने हामीले पनि आगामी विकल्पका बारेमा सोच्ने भन्दै हाम्रो गुमेको सम्पुर्ण भुभाग फिर्ता गर्ने तागत नेपाली जनतामा भएको र यसलाई नजर अन्दाज नगर्न भारतीय शासकलाई सचेत गराउनु भयो ।


कार्यक्रममा पार्टी निकट सल्लाहकार समिति सदस्य ज्ञानेन्द्रमान श्रेष्ठ, देजमो नेपालका केन्द्रीय सदस्य श्रीकृष्ण शुलु सहितले आफ्नो धारणा राख्नु भएको थियो । देजमो नेपाल ३ नम्बर प्रदेश अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको उद्घोषण भरत बुर्जाले गर्नु भएको थियो ।

फोटो : अमीट योञ्जन