क्रान्तिकारी माओवादी र देजमो सुदूरपश्चिम प्रदेशको सम्मेलन धनगढीमा

क्रान्तिकारी माओवादी र देजमो सुदूरपश्चिम प्रदेशको सम्मेलन धनगढीमा

धनगढी, मंसिर २ । नेकपा (क्रान्तिकारी माओवादी) र पार्टीको क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको सुदूरपश्चिम प्रदेशको सम्मेलन धनगढीमा हुँदैछ । मंगलबार (भोलि) भव्य कार्यक्रमका बीच प्रदेश सम्मेलनको उद्घाटन गरिने क्रान्तिकारी माओवादीका प्रदेश सेक्रेटरी अनुकूलले जानकारी दिनुभयो । सेक्रेटरी अनुकूलका अनुसार प्रदेश सम्मेलनको सबै तयारी पूरा भएको छ ।
सोही सुदूरपश्चिम प्रदेशमा पार्टीको शक्ति प्रदर्शनको तयारी समेत गरेको बुझिएको छ । मंगलबार १२ बजे ¥यालीसहित बजार परिक्रमा गरी धनगढीमा सीमा अतिक्रमणका विरुद्ध खुला सभा गर्ने कार्यक्रम रहेको छ । विरोधसभाकै बीच मोर्चाको सम्मेलनको उद्घाटन गरिने जनाइएको छ ।
मोर्चाको सम्मेलन सम्पन्न भएलगत्तै पार्टी सम्मेलनको उद्घाटन गरिने जनाइएको छ । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरु आउने क्रम जारी रहेको बताइएको छ । सम्मेलनको उद्घाटन पार्टीका स्थायी समिति सदस्य राजवीरले गर्नुहुनेछ ।
सुदूरपश्चिम प्रदेशले सामन्त जमिन्दारहरुको जग्गा कब्जा गर्नेदेखि कालापानी क्षेत्र तथा भारतसँग सीमा जोडिएका जिल्लामा भएको सीमा अतिक्रमणका विरुद्ध निरन्तर विरोध प्रदर्शन तथा राष्ट्रिय स्वाधीनतासम्बन्धी जनजागरण अभियान चलाउँदै आएको छ । हालै भारतीय विस्तारवादले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा गाभेपछि निरन्तर प्रतिरोध आन्दोलन चलाउँदै आएको छ । यसबीचमा कञ्चनपुर, कैलाली, दार्चुला लगायतमा जिल्लामा सीमा अतिक्रमणका विरुद्ध विरोध प्रदर्शन तथा मोदीको पुत्ला दहन लगायतका कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।