क्रान्तिकारी माओवादी ३ नं. प्रदेशको सम्मेलन सम्पन्न, प्रवेशको नेतृत्वमा ६६ सदस्यीय प्रदेश कमिटि निर्वाचित

४ गते रत्नपार्कमा विस्तारवादी अतिक्रमणका विरुद्ध विशाल विरोध प्रदर्शन तथा सभा गर्ने, ६ गते भक्तपुरमा उपनिर्वाचन बहिस्कारसभा गर्ने

प्रकाशित मिति : २०७६ मंसिर १

- अनु निरौला


काठमाडौं । तीन दिनदेखि जारी नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको सम्मेलन आइतबार सम्पन्न भएको छ । ललितपुरको चाङ्गाथलीमा सम्पन्न सम्मेलनले पार्टीका पीवीएम प्रवेशको नेतृत्वमा ४९ पूर्ण, १७ वैकल्पिक गरी ६६ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ ।

निर्वाचित कमिटिको पहिलो बैठकले प्रदेश कमिटिको सेक्रेटरीमा प्रवेशलाई चयन गरेको छ । कमिटिका जेष्ठ सदस्य मीको अध्यक्षतामा बसेको बैठकले भारतीय विस्तारवादी अतिक्रमणको विरोधमा काठमाडौंको रत्नपार्क शान्तिबाटिका मंसिर ४ गते व्यापक विशाल विरोध प्रदर्शन तथा सभा गर्ने निर्णय गरेको छ भने प्रतिक्रियावादी व्यवस्था अन्तर्गत गरिएको मंसिर १४ को उपनिर्वाचन बहिस्कार गर्न जनतालाई आव्हान गर्दै भक्तपुरमा मंसिर ६ गते प्रदेशस्तरीय बहिस्कारसभा गर्ने निर्णय गरेको छ ।

खुल्ला सत्र र बन्द सत्र गरी सम्मेलन पार्टीका स्थायी समिति सदस्य तथा मध्यब्यूरो इन्चार्ज गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन विभिन्न ९ वटा समूहमा विभाजन गरी प्रतिनिधिहरुबीच छलफल चलाइएको थियो । छलफलबाट प्राप्त सुझाबसहित प्रतिवेदन एकमतले पारित भएको थियो ।

सम्मेलनमा पार्टीका पीवीएम तथा प्रदेश इन्चार्ज सागर, पीवीएम प्रभाकिरण लगायतका नेताहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित कमिटिलाई प्रमुख अतिथि गौरव र सागरले बधाई दिनुभएको थियो ।