भारतले कालापानी, लिपुलेक अतिक्रमणको अर्थराजनीति

प्रकाशित मिति : २०७६ कार्तिक २७

- सीताराम तामाङ


१) भूमिका 

  •  देशभक्त नेपालीहरुले नेपालको भूभाग हो भनी दावी गर्दै आएका लिम्पियाघुरा उद्धम भएको कालीनदी पूर्वका कुटी, नाभी, गुञ्जी, टिङ्कर र लिपुलेक भञ्ज्याङ नेपालको सरकारी नक्सा भन्दा बाहिर पर्छन् ।
  •  सन् १९६२ देखि कालापानी क्षेत्रमा भारतीय फौजी क्याम्पहरु रहिआएका छन् ।
  • सन् २०१५ मे १५ (वि.सं. २०७२ जेष्ठ १) मा भारतीय प्रधान मन्त्री र चिनियाँ प्रधान मन्त्रीबाट जारी संयुक्त वक्तव्यमा लिपुलेक (चियाङ्ला) भञ्ज्याङलाई पनि दुई देशको व्यापारी नाका बनाउन दुबै पक्ष सहमत भएको भनिएकोछ ।

 हालै भारतले प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेख पुनः उसैको भूभागमा पारेकोछ जसको विषयमा नेपालमा तीब्र आलोचना भइरहेको छ ।
उक्त पृष्ठभूमिका महाकाली नदी नेपाल – भारत वीचको सीमा नदी होकि होइन र चीन – भारत – नेपालको त्रिदेशीय सीमा ९त्चष्वगलअतष्यल० कहाँ पर्दछ तथा यो क्षेत्रको अर्थराजनीतिक महत्व के छ ? भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ ।

२) के हो महाकाली नदी ?

  1.  भनिन्छ नेपालको सीमाना पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदी हुन । पश्चिम सीमाना भई बग्ने महाकाली नेपालको उत्तर–पश्चिम सीमानामा रहेको ब्यास हिमश्रिंखलाको खोचबाट निस्केको नदी हो । लिम्पियाघुरा यसको खास उद्गमस्थल हो । यो नदी उद्गमदेखि तराई – प्रवेशसम्म सीमा नदीको रुपमा बग्दछ र तराईमा प्रवेश गरेपछि अनेक भंगलामा छरिने र समय समयमा बाटो बदल्ने पनि गर्दै आएको छ । यो नदीको पूर्वपट्टी नेपालको दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला पर्दछन् । यो नदीको पश्चिमपट्टी भारतको पिथौरागढ र नैनिताल जिल्ला पर्दछन् । यो नदीको उद्धगमलाई भारत, चीन र नेपालको त्रिदेशीय सीमा विन्दु पनि मानिन्छ ।
  2. सन् १८१६ मा भएको ईष्ट–इण्डिया कम्पनिसँगको असमान सुगौली सन्धिले (धारा–५) “नेपालका राजा, उनका बंशज तथा उत्तराधिकारीहरुले काली नदी भन्दा पारि रहेका मुलुकहरुको दावी तथा सम्बन्ध त्याग्नु प¥यो ।” त्यसपछि सन् १८६० मा नयाँ मुलुक फिर्ता गर्ने प्रत्यावर्तन सन्धि द्धारा ईष्ट –इण्डिया र नेपालको पश्चिमी सीमाना कायम भएको तथा उक्त दुवै सन्धिबाट कालीनदीलाई नै सीमा नदीको हैंसियत प्रदान गरिएको छ ।
    ३) महाकाली नदीको मुहान यकिन गरिएको छैन ।
    सन् १८१६को सुगौली सन्धि र सन् १८६०को नयाँ मुलुक फर्काउने सन्धिबाट काली नदीले सीमा नदीको हैसियत प्राप्त गरे पनि नेपाल, भारत र चीनको समेत त्रिदेशीय–सीमा–विन्दु पर्ने कालीको मुहान ऐतिहासिक र बैज्ञानिक आधारमा यकिन गर्ने काम हुन नसकेकोले कालीको मुहान क्षेत्रमा पर्ने नेपाली भूभागमाथि इष्ट–इण्डिया र वर्तमान भारतले समेत पटक पटक सीमा मिच्ने काम गर्दै आएको देखिन्छ ।
  3.  सन् १९६२ मा चीन–भारत युद्धको बेलादेखि कालापाली क्षेत्रमा भारतको फौजी क्याम्प राख्ने गतिविधिलाई अनदेखा गर्ने कथित पञ्चायती राष्ट्रबादीहरु र राजा महेन्द्रले भारतले एकतर्फी प्रकाशित गरेका नेपालको सन् १८७९ र त्यस पछिका नक्साहरुले निर्धारण गरेका सीमालाई मानेको देखिन्छ ।
  4.  सन् १९६३मा नेपाल –चीन सीमा सम्झौता गर्दा ऐतिहासिक र बैज्ञानिक आधारमा त्रि–देशीय सीमा–विन्दु नछुट्याएको भएता पनि लिम्पियाधुरातर्फ इंङ्गित गर्दै “काली र पंखाखोलाको पानी ढलो, कर्णालीका सहायक नदीहरुको पानी ढलो र पंखाखोलाको पानी ढलो मिसिएको स्थानलाई नेपाल–चीनको सीमा विन्दु” भनिएको थियो । तर भारतले त्यसलाई मान्यता दिएन । त्यसबाट भारततर्फ नेपालको १६,१०० हे. पर्न जान्छ । सो लगायत थप ३५०० हे. जमिन समेत जम्मा १६,६०० हे. नेपाली भूमि दवाउने उदेश्यले कालापानीमा अतिक्रमण गरेको देखिन्छ ।
  5.  सन् १९९० पछि नेपालमा राजा समेतको संसदीय प्रजातन्त्र र सन् २००६ देखि राजाविनाको गणतन्त्रात्मक संसदीय प्रजातन्त्र आयो । तर भारतीय विस्तारवादको दलाल बनेका नेपालका सरकार चलाएका राजनीतिक पार्टीहरुले महाकाली नदीको मुहान कुन हो, र चिन, भारत र नेपालको त्रिदेशीय सीमा–विन्दु कुन हो भन्ने विषयमा ऐतिहासिक र बैज्ञानिक आधारमा छुट्याउन कुनै चासो लिएको देखिएको छैन ।

 उपरोक्त पृष्ठभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको अवसरमा (सन् २०१५) चिनियाँ समकक्षीसँग जारी गरिएको संयुक्त बक्तब्यमा नेपाली भूमि लिपुलेक (चियाङ्ला) नाकालाई समेत चीन–भारतको ब्यापार बढाउन प्रयोग गर्न सहमत गरिएकोछ । (संयुक्त बक्तब्यको “अन्तरसीमा सहयोग उप–शिर्षक अन्तरगत २८ नं.बुदाँ)। नेपालका वर्तमान शासकहरुको दब्बुपनाको फाइदा भारत र चीनले उठाउने काम गरेकाछन् ।

४) महाकाली नदीको मुहान कुटीयाङ्दी भएका आधारहरु

१) जलश्रोत विज्ञानको आधार ः
जसरी गंगा बेसिनको जलाधार क्षेत्रबाट बगी आउने यमुना, भागरथी, अलकन्दा, मन्दाकिनी, रामगंगा, कर्णाली र गण्डकीका साथै सप्तकोशीका सबै सहायक नदीहरु गंगा बेसिनका नदी प्रणालीमा रहदाँ रहँदै पनि ती मध्ये नदीको लम्बाई, आ–आफ्नो जलाधार क्षेत्र तथा मुहानबाट आउने पानीको परिमाणको आधारमा गंगोत्रीबाट निस्कने भागीरथीलाई नै गंगाको मूल मुहान मानिन्छ र यसबारेमा कुनै विवाद पाइदैन । त्यसरी नै काली नदी बेसिनको जलाधार क्षेत्रबाट बगी आउने रंगुन, चल्थी, सरयु, चौलानी, गौरीगंगा, धौलीगंगा, अपि, टिकर र लिपु जस्ता थुप्रै नदीहरुमध्ये नदीको लम्बाई, जलधार क्षेत्र तथा मुहानबाट आउने पानीको परिणामको आधारमा लिम्पियाधुराबाट बगी आउने कुटियाङ्दी (कुटी=कालो+याङ्दी=नदी) लाई नै काली नदीको मूल मुहान मान्नु पर्ने तथ्यलाई नकार्न जलश्रोत विज्ञानको हिसाबले कुनै प्रमाणहरुको बलियो आधार पाइदैन ।

२) सर्वे नक्साको आधार ः
क) ब्रिटिश सर्भेयर जे.वी. टासिनले सन् १८३७मा कलकत्ताबाट प्रकाशमा ल्याएको नक्सामा नेपालको पश्चिमोत्तर सीमाको भौगोलिक आधार हेर्दा काली कुटीयाङदीको प्रबाह लिम्पियाधुरातर्फबाटै आएको देखाएको छ । त्यसैगरी १८५६ को सर्भे अफ इण्डियाको नक्सामा पनि लिम्पियाधुरातर्फबाट आउने कुटीयाङ्दीलाई नै मूल काली नदी भनी देखाईएको पाइन्छ ।
ख) अमेरिकाद्धारा तयार पारिएको हवाई उडानहरुलाई निर्देशित गर्ने नक्सामा समेत नेपाल, भारत र चीनको त्रिबन्ध सीमा क्षेत्रलाई “सीमा विवाद रहेको क्षेत्र” भनी देखाइएको पाइन्छ ।
ग) २०४५ सालमा महाकाली अञ्चल प्रशासनको पहलमा मालपोत र नापी शाखा समेत संलग्न रहेको टोलीको कालापानी क्षेत्रको स्थलगत भ्रमणपछि स्केच गरिएको नक्सामा समेत लिम्पियाधुराबाट आएको कुटी नदीलाई नै काली नदी भनि देखाएको पाइन्छ ।
घ) उपग्रहबाट खिचिएको तस्वीरमा पनि काली नदीको प्राकृतिक प्रवाह र पानी ढलो लिम्पियाधुरा तर्फबाटै आएको प्रष्ट देख्न सकिन्छ ।
५) महाकालीको मुहान क्षेत्रमा भारतीय अतिक्रमण हुनुका अर्थराजनीतिक कारणहरु ः
१) सैनिक गतिविधि संचालन गर्न र आपूर्ति मार्ग निर्माण गर्ने जस्ता सामरिक महत्वका काम गर्न भारतलाई सजिलो पर्ने भारतीय फौजी निष्कर्ष ।
२) लिपु भञ्ज्याङ्ग हुदै तिब्बतको ताक्लाकोटबाट शुरु भई मानसरोबर र कैलाश पर्वत जस्ता प्रसिद्ध पर्यटकीय स्थलहरुको सुगम प्रवेश विन्दुको रुपमा सो क्षेत्र रहनु ।
३) अफगानिस्तान, कजाकिस्तान र तुर्किमिनिया हुदै क्यास्पियन सागरसम्म र त्यसमा जोडिएका बाकु बन्दरगाह माफत युरोपसँग पनि व्यापारिक सम्पर्क मार्गको प्रवेशविन्दु रहेको सो क्षेत्रलाई भारतीय स्वामित्वमा राख्ने प्रयत्न गर्नु ।
४) नेपाललाई पहिले देखि नै विभिन्न असमान सन्धिहरु मार्फत बन्धनमा राखी जलश्रोत हात पारे झै महाकालीको पूरै मुहान क्षेत्रमा कब्जा बढी जलाधार क्षेत्र र बढी पानीको दावी गर्ने भरतको प्रभूत्ववादी मनसाय रहनु ।
५) “भारतको सुरक्षा सीमा भनेको हिमालय हो” भन्ने नेहरुको दृष्टिकोणलाई भारतीय शासकवर्गले अध्यावधि कायम राख्नु ।
६) स्फटिक (पारदर्शी ढुंगा) जस्ता बहुमूल्य खनिज पदार्थका साथै बहुमूल्य हिमाली जडिबुटीहरुको प्रचुर भण्डारलाई दोहन गर्ने भारतीय नियत ।
७) नेपालको राणा जहानीय एवं पञ्चे शासकहरुका साथै बहुदल प्राप्तिपछि पनि राजनीतिक पार्टीहरुको नेतृत्वलाई विभिन्न सन्धिमार्फत आफ्नो दवावमा पार्न सफल विदेशी शक्ति केन्द्रहरुलाई खुसी पार्ने होडमा संलग्न रहेका नेपालका राजनीतिक पार्टीहरु र सरकारमा समेत समर्पणवादी र दासत्ववादी मनोवृत्ति रहनु ।
६) नेपाल सरकारको दायित्व के हुनु पर्दछ ?
१. सर्वप्रथम कालापानी लगायत महाकालीको मुहान क्षेत्रमा रहेका भारतीय फौजहरु अविलम्ब हटाउन सरकारले पहल गर्नुपर्दछ ।
२. ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा नेपाल, भारत र चीनबीचको सीमाविन्दुको निर्धारण गर्न महाकालीको नदीको मुहान निक्यौंल गर्न आवश्यक भएकोले सो काममा नेपाल–भारत चीन त्रिपक्षीय सहमतिका लागि तीनवटै सरकारलाई एकै टेबुलमा राखी वार्ताद्धारा सीमाना निक्यौंल गर्ने गराउने पहल नेपाल सरकारले गर्नु पर्दछ । साथै महाकालीको मुहानदेखि दोभानसम्म सम्पूर्ण पश्चिमी सीमाको वैज्ञानिक सीमांकन अविलम्ब गराउनु पर्दछ ।
३) नेपाल सरकारले सुगौली सन्धि सम्बन्धी ऐतिहासिक दस्तावेज, नक्सा एवं चिठी पत्रहरु अबिलम्ब सार्बजनिक गर्नुपर्दछ ।
४) दार्चुलाको गोकुलेदेखि खलंगा–छाङरु हुदै कालापानी तथा टिकरसम्मको मोटरबाटो निर्माण गर्ने र कालापानी एवं टिंकर क्षेत्रमा नेपाली सेनाको व्यारेक राख्ने तथा सीमा पुलिस र प्रहरी चौकीको स्थायी व्यवस्था गर्ने नेपाल सरकारले पहिलो प्राथामिकतामा राख्नुपर्दछ ।
५) उक्त क्षेत्रका जनतालाई चामल, नुन–तेल र अन्य खाद्यन्नका साथै दैनिक उपभोग्य वस्तुहरुको सस्तो र सुलभ आपूर्ति सरकारी निकायबाटै गरिनु पर्दछ ।
६) त्यस क्षेत्रका जनताको शिक्षा, रोजगारी तथा पशुस्वाथ्य सेवाको व्यवस्था गरी पशुपालन कार्यलाई प्रोत्साहन गर्ने र बहुमूल्य जडीबुटीहरुको संकलन र प्रशोधन गर्ने काममा जोड दिइनु पर्दछ ।
७) दार्चुला जिल्लाबाट मानसरोवर तथा कैलास पर्वत यात्रा गर्ने प्रवेश मार्गलाई आन्तरिक र वाह्य पर्यटकहरुका लागि खुल्ला गरी सो जिल्लालाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्दछ ।

७) उपसंहार
विज्ञहरुको भनाई छ २००७ साल अघिसम्म नेपालका उत्तरी नाकाहरुमा भारतीय सेना बस्थ्यो । राणाशासनको अन्त्य पछि नेपालले उनीहरुलाई सीमाबाट हटायो तर कालापानीबाट भने हटाएन । चीनसँगको युद्ध भए पछि भारतले त्यहाँ आफ्नो सेना उतारेको थियो । राजा महेन्द्रले चीन र भारत वीचको युद्ध सकिएपछि कुरा उठाउने बचन दिए पनि उनले कालापानीबारे भारतसँग कहिल्यै केही बोलेन (डा. भेषबहादुर, कान्तिपुर, २०७६।०७।२२)। त्यसपछिको लामोसमयसम्म नेपालका शासकहरुले भारतसमक्ष मुख खोलेका छैनन् । यो लामो अवधिमा उसले त्यहाँबाट नहट्ने खालका कागजपत्र तैयार गरिसकेको हुन सक्छ । भारतको खुफिया विभागबाट संचालीत यहाँका नेता र कर्मचारीहरुबाट उसलाई बाधा पार्ने कागजात नेपालबाटै गायब गराईसकेको हुन सक्ने विज्ञहरुको तर्क कम्जोर छैन । यस बखत संसदका ऐलेको देखावटी पक्ष प्रतिपक्षको विरोधले भारत त्यहाँबाट “हट्नेवाला”छैन । नेपाली जनताको सशक्त प्रतिरोधबाट मात्र भारतीय विस्तारवादलाई पछि हटाउन सकिन्छ । ने.क.पा. (क्रान्तिकारी माओवादी) सँधै अग्रपंत्तीमा रहन्छ ।