विचार र राजनीतिमा क्रान्तिकारी माओवादी सबैभन्दा अगाडि भएको पुष्टि : क.गौरव

क्रान्तिकारी माओवादी भक्तपुरको सातौं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७६ कार्तिक २४

भक्तपुर । नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुरको जिल्ला सम्मेलन शनिबार भव्य रुपमा सम्पन्न भएको छ । ‘संसदीय व्यवस्थाको भ्रममा नपरी नयाँ जनवादी क्रान्तिको तयारी गरौं, नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुरको सातौ जिल्ला सम्मेलन सफल पारौं’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै सम्मेलनका प्रमुख अतिथि तथा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य एवम् मध्यब्यूरो इन्चार्ज सीपी गजुरेल‘गौरव’ले विचार र राजनीतिमा क्रान्तिकारी माओवादी सबैभन्दा अगाडि रहेको पुष्टि भएको दावी गर्नुभयो ।

नेपालको नक्साबाट कालापानी र लिपुपेक गायब पारिएको विषय क्रान्तिकारी माओवादीले धेरै अगाडिदेखि उठाउँदै आएको भन्दै नेता गौरवले भन्नुभयो, “अहिले बल्ल मिडियामा आयो र छायो ।” नेता गौरवले देशमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधान गर्न पनि नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको दाबी गर्नु भयो । वर्तमान दलाल पुँजीपति वर्गको सत्ताले यी समस्या समाधान गर्न नसक्ने भन्दै नेता गौरवले अब यो व्यवस्थाका विरुद्ध संघर्ष गर्न संगठित हुनुपर्ने विचार व्यक्त गर्नुभयो र भन्नुभयो, “दुई तिहाईको ओली सरकार जनाघाती र राष्ट्रघाती भएकोले यसलाई सकेसम्म चाँडो फाल्न सके मात्र देश र जनताको हित हुनेछ ।”

पार्टी पोलिटब्यूरो सदस्य सागर, प्रवेश लगायतका नेताहरुले पार्टीको आसन्न प्रदेश सम्मेलनको बारेमा चर्चा गर्नुभएको थियो भने केन्द्रीय सदस्यहरु क्षितिज, बसन्त, भाष्कर, केस तथा भक्तपुर इन्चार्ज जीवन लगायतले पनि बोल्नुभएको थियो ।

सम्मेलनले ४ जना सदस्य पछि थप्ने गरी २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । नवनिर्वाचित समितिले विवेकलाई सेक्रेटरीमा चयन गरेको छ । सम्मेलनले ५ सदस्यीय जिल्ला सल्लाहकार समिति पनि चयन गरेको छ । नवनिर्वाचित कमिटिको तर्फबाट सम्मेलनमा सेक्रेटरी विवेकले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो भने कमिटिलाई प्रमुख अतिथि गौरवले बधाइ ज्ञापन गर्नुभएको थियो ।